कोरोनाका कारण संकटमा हेलिकोप्टर कम्पनी, रेस्क्यु फ्लाइटमा कम्पनीबीच मूल्यमा मारामार

वसन्तराज उप्रेती/बिजमाण्डू
२०७७ असार १८ गते १२:४५ | Jul 2, 2020
कोरोनाका कारण संकटमा हेलिकोप्टर कम्पनी,  रेस्क्यु फ्लाइटमा कम्पनीबीच मूल्यमा मारामार


Tata
GBIME
Nepal Life

काठमाडौं। कोरोना संक्रमणसँगै संकटमा परेका हेलिकोप्टर कम्पनीबीच रेस्क्यु फ्लाइटको भाडादरमा घटाघटको प्रतिस्पर्धा सुरु भएको छ।

अस्वस्थ प्रतिष्पर्धाका कारण धेरैको मासिक संचालन खर्च आधा पनि उठेको छैन। निजी हेलिकोप्टर कम्पनी सिम्रिक एयरले यतिखेर १२ सय डलरमा उद्धार उडान सेवा दिँदै आएको जनाएको छ। 'बन्दै गर्न नसकेर यतिखेर कम भाडादरमा सेवा दिँदै आएका छौं। लक्जरियस र मनोरञ्जनबाट आम्दानी हुँदै आएको थियो। नेपालीभन्दा पनि विदेशी यात्रुमार्फत व्यवसायले गति लिइरहेको थियो। तर अहिले विदेशी पर्यटक आउन वा फिल्म सुटिङ हुन सम्भव छैन। अन्योलमा छौं,' सिम्रिकका महाप्रबन्धक प्रेम थापाले भने। हाल साताको करिब चारवटा उद्धार उडान गर्दै आएको उनले बताए।

यसैगरी एयर डाइनेष्टीले एक लाख ७० हजार रुपैयाँमा काठमाडौं-पोखरा तर्फको उद्धार उडान सेवा दिँदै आएको अपरेशन म्यानेजर वालकृष्ण पण्डितले जानकारी दिए। लक डाउन अगाडी दुई लाख रुपैयाँमा सेवा दिँदै आएको यो गन्तब्यमा यतिखेर प्राइसवारका कारण तीस हजार रुपैयाँ घटेर व्यवसाय गर्नुपरेको उनले जानकारी दिए। उनका अनुसार कम्पनीले एक सातामा चारवटा उडान गर्दै आएको छ।     

ब्रेक इभनमा आउनकै लागि भएपनि यतिखेर  २० प्रतिशत छुटमा उद्धार उडान गर्दै आएको कैलाश हेलिकोप्टरका संचालक प्रतापजंग पाण्डेले जानकारी दिए। अपरेशन, मेन्टिनेन्स खर्च धान्नका लागि कम्पनीले यतिखेर काठमाडौं-लुक्ला दुई हजार डलरमा सेवा दिँदै आएको उनले बताए। लकडाउन अघि यो गन्तव्यको भाडादर दुई हजार चार सय डलर रहेको उनले बताए। उनका  अनुसार कैलाशले साताको  छवटा सम्म उद्धार उडान सेवा दिँदै आएको छ।

'वेर एण्ड टियरमा सम्वद्ध व्यवसाय हो यो। इन्जिन कम्पोनेन्टको लाइफ साइकल हुन्छ। मर्मत संभार त गर्नै पर्‍यो। यसैलाई मध्यनजर गर्दै धेरै कम शुल्कमा सेवा दिने अवस्था छैन।' उनले भने।

व्यवसायमा परेको प्रभाव र समस्या समाधानका लागि सरकारबाट कुनै सम्बोधन नभएको कारण कम्पनी विक्री गर्नु नै उचित रहेको एक हेलिकोप्टर व्यवसायीले बताएका छन्। 'यो अवस्थामा सरकारलाई बुझाउपर्ने कर, बैंङ्कको व्याज, विमानस्थल शुल्क बुझाउन सक्ने सम्भावना नै छैन। बरु कम्पनी खरिद गर्न कोहि आइदिए भारी छुटका साथ विक्री गरिन्थ्यो।' ती व्यवसायीले बिजमाण्डूसँग भने।

लकडाउनका कारण यतिखेर व्यवसायमा  ९० प्रतिशतले गिरावट आएको मनाङ एयरले जनाएको छ। उद्धार उडान नै कम भएपछि कम्पनीले व्यवसाय टिकाउनका लागि ५० प्रतिशत छुटमा सेवा दिँदै बएको  कम्पनीका एक कर्मचारीले जानकारी दिए।'अहिलेको अवस्थानै तनाव ग्रस्त छ। व्यवसाय नै नभएपछि हामीले यतिखर ५० प्रतिशत छुटमा उद्धार उडान सेवा दिँदै आएका छौँ।' ती कर्मचारीले बिजमाण्डूसँग भने।   

स्रोतका अनुसार यतिखेर अल्टिच्युड, फिसटेल, हेलि एभरेष्ट लगायत हेलिकोप्टर कम्पनीले सेवा बन्द गरेका छन्।