मुम्बइ। २८ वर्षदेखि नेपालमा ब्यवसाय सञ्चालन गरिरहेको स्टेट बैंक अफ इण्डिया (एसबीआइ) आज २१३ वर्ष पूरा भएको छ। १९९२ जुलाइमा भारतीय बैंकले यहाँ नेपाल एसबीआइ बैंक भनेर ब्यवसाय सञ्चालन गरिरहेको छ।
एसबीआइ भारतको नाम पहिले अर्कै थियो। सन् १९५५ जुलाइ १ मा इम्मेरियल बैंकलाई एसबीआइ नामाकरण गरिएको थियो। त्यहाँदेखि एसबीआइले आफ्नो शाखा रहेको देश तथा विदेशमा स्थापना दिवस मनाउँछ। तर एसबीआइको इतिहास भने अझै परको छ।
१८०६ मा कोलकातामा बैंक अफ कलकत्ता स्थापना भएको थियो। जसलाई पछाडि बैंक अफ बंगालमा रुपान्तरण गरियो। १९२१ मा बैंक अफ बम्बे र बैंक अफ मद्रासलाई बंगालमा विलय गराएपछि नाम इम्पेरियल बैंक अफ इण्डिया राखिएको थियो।
त्यसबेला दुई अरु बैंक थिए। १८४० मा बैंक अफ बम्बे र १८४३ मा बैंक अफ मद्रास। यी तीन वटै बैंकमा पुँजी निजी क्षेत्रको थियो, तर यो इस्ट इन्डिया कम्पनीका लागि खोलिएका बैंक थिए। विलयपछि इम्पेरियल बनेको थियो। यो बैंकमा सुरुवातमा युरोपेली निजी क्षेत्रको लगानी बढी थियो। पछि भने सरकारले बैंकलाई अधिग्रहण गर्यो।
१८६१ मा 'पेपर करेन्सी एक्ट' लागू भयो। त्यसबेला यी तीनवटै बैंकले कागजको नोट छाप्थे। भारत स्वतन्त्र भएपछि त्यहाँको संसदले नोट छाप्ने अधिकार यी बैंकहरुबाट खोस्यो। नोट छाप्ने जिम्मा रिजर्भ बैंक अफ इण्डियालाई दिइयो। एसबीआइका लागि छुट्टै ऐन कार्यान्वयनमा ल्याइयो।
एसबीआइको सहयोगी बैंकका रूपमा स्टेट बैंक अफ हैदराबाद थियो। स्टेट बैंक बिकानेर, स्टेट बैंक इन्दौर, स्टेट बैंक अफ जयपुर, स्टेट बैंक अफ सौराष्ट्र, स्टेट बैंक फ मसुर, पटियाला, त्रावणकोर, भारतीय महिला बैंक पनि सहयोगी बैंक थिए। यी सबैलाई २०१७ अप्रिल १ मा एसबीआइले गाभ्यो। अहिले एसबीआइ भारतकै सबैभन्दा ठूलो बैंक बनेको छ।