बिहेको सिजनमै सारी र दौरा सुरुवाल पनि नबिकेको ब्यापारीको गुनासो, ग्राहक कुर्दै बित्छ दिन

सरला सुवेदी/बिजमाण्डू
२०७७ असार १७ गते ११:३४ | Jul 1, 2020

Tata
GBIME
Nepal Life

काठमाडौं । लकडाउन खुकुलो भएपछि काठमाडौंको मुख्य बजार न्यूरोडमा पसलहरु धमाधम खुले। तर कतिपय पसलहरुमा १० दिनदेखि बोहनी समेत भएको छैन। न्यूरोडमा ४० वर्षदेखि ब्यापार गर्दै आएका विजय शर्मा यतिबेला तनावमा छन्। 'सबैतिर पसल खुल्यो। म पनि खोल्न थालेँ। तर एक सुकाको ब्यापार नहुँदा झन तनाव बढ्यो,' उनले ब्यापारमा ४० वर्षको अवधिमा अहिलेसम्म पनि यस्तो अवस्था नभोगेको सुनाए।

उपत्यकामा बसोबास गर्ने अधिकांश सर्वसाधारणको किनमेल गर्ने थलो भनेर न्यूरोड तथा असन र इन्द्रचोक क्षेत्रलाई मानिन्छ । ती क्षेत्रमा पसल खुले पनि ग्राहक नआएपछि  व्यवसायी अझ चिन्तित हुन थालेका छन्।

'पसल खोल्दा बत्तीको बिल, इन्टरनेटको बिल अनि खाना-खाजा खर्च पनि बढ्छ। ब्यापार केही छैन। भाडा तिर्नै पर्छ भनेर पसल खोल्न आइयो तर ग्राहक आउँदैनन्,' विजयले पसल खुलेपछिका २ दिनमा जम्मा ३३ सयको सामान बेचेको बताए ।

विशालबजारका अर्का व्यवसायी पनि एक सातादेखि ब्यापार नभएको बताउँछन्।  कतिपय नियमित ग्राहकहरु सामान अर्डर गरेर सवारीसाधन पाएनौं भन्दै लिन नआएको व्यवसायी महादेव प्रसादले बताए । उनले सामान नबिक्ने तर भाडामा छुट नपाउने भएकाले आफूहरु समस्यामा परेको दुखेसो पोखे।

बिशालबजारले हालसम्म सटरभाडा छुट दिने निर्णय नगरेको व्यवसायीहरु बताउँछन्। 'लोन लिएर कतिन्जेल भाडा तिर्ने ? व्यापार नहुँदा लोन कहाबाट तिर्ने ?,' महादेवप्रसादले भने।

विशालबजारका केही व्यवसायीले सटर धमाधम छाड्न थालेको छन् । स्टकमा भएका सामान सस्तोमा बेचेर पनि कतिपय व्यवसायीहरुले पसल छाडिसकेको उनले बताए।

'अवस्था यस्तै लम्बिँदै गयो भने मैले पनि पसल छोड्नुपर्छ,' उनले भने। गत सोमबार विशालबजार व्यवस्थापन समितिले भाडामा लाग्ने जरिवाना नलिने तर अन्य कुनै पनि छुट नभएको भन्दै सूचना जारी गरिसकेको छ।

न्युरोडमा रहेको रन्जना ट्रेड मलले पनि भाडा सम्बन्धी विषयमा कुरा नगरेको रिजाल इम्पेक्सका संचालक टीएल रिजालले बताए ।
रन्जना गल्लीमा ग्राहक नहुँदा त्यहाँका व्यवसायीहरु फुर्सदिला देखिन्छन् । अर्डर गरेका सामान केरुङमा अलपत्र परिरहेको र पुराना स्टक लिएर बसे पनि ग्राहक नआएको त्यहाँका व्यवसायीहरुको भनाइ छ।

खिचापोखरीमा रहेको पिपुल्स प्लाजाको पनि उस्तै हालत छ। फाटफुट्ट ग्राहक आए पनि सामान बिक्री नभएको चेन्ज फेसन इन्टरनेशनलका कर्मचारीले बताए। 'लकडाउनपछि पसल खोल्दा हरेक दिन बोहनी नभइ जाने गरेको छ। पसल कुर्ने काम मात्र भएको छ,' उनले भने।

पुरानो स्टकलाई छुट दिएर बेच्न थालेको राबिया सेन्टर जुत्ता व्यवसायी रोमित रन्जित बताउँछन्।  कोरोनाका कारण ग्राहक नहुँदा छुटको व्यवस्थाले पनि फाइदा नभएको उनको अनुभव छ। उनी पसल भाडामा छुट दिन घरबेटीसँग कुरा गरिरहेको बताउँछन्।
जमलमा रहेको ओम त्रिवेणी क्लोथिङका संचालक राम थापा पनि ग्राहक कुर्नुको विकल्प नभएको बताउँछन्।  ऋण लिएर नै सटर भाडा तिरेको उनले गुनासो गरे ।

थापाले उक्त सटरवापत घरबेटीलाई मासिक ७० हजार रुपैयाँ भाडा बुझाउँछन्।  उनको पसलमा लकडाउनअघि  दैनिक ३५ देखि ४० हजारको व्यापार हुने गरेको थियो । तर आजकल पसल खोल्नु र  सामान मिलाउनु मात्र दिनचर्या बनेको उनको भनाइ छ। उनले भने 'कुनै दिन मुस्किलले ५ हजारको बिक्री हुन्छ।' घरबेटीले भाडा छुट नदिएकोमा उनी थप चिन्तित छन्।

बैशाख, जेठ र असार महिनामा जुरेका बिहेका लगनका लागि पनि आवश्यक पोशाक बिक्री हुन नसकेको पुरानो राष्ट्रिय दौरा सुरुवाल टेलर्सका संस्थापक शिवकुमार धितालले बताए । 'महामारीमा  बिहे गर्दा जन्ती थोरै लानु पर्ने नियम भयो। तयारी दौरा-सुरुवालसमेत पहिले धेरै बिक्री हुन्थ्यो। यसपाली न तयारी दौरा-सुरुवाल बिक्री भयो न सुट-पाइन्टको अर्डर आयो। यस्तो अवस्थामा अब ५ महिनापछि हाम्रो व्यापार के हुन्छ भन्न सकिँदैन,' उनले  भने।

असारपछि बिहेको सिजन भनेको असोज र मंसिर नै हो। धिताल मंसिरमा केही व्यापार होला की भन्ने आशामा छन्।

गुरुकृपा सारी कलेक्सनका संचालक एसके गान्धी कपडा मिलाएर बस्नु परेको बताउँछन्। बिहेको सिजनमा सारीहरु समेत बिक्री नभएको उनको भनाइ छ। पुरानो स्टकले नै गोदाम भरिएको र बिक्दै नबिकेपछि नयाँ सामानको अर्डर नै उनले क्यान्सिल गरेको उनले बताए।
'बिहेको लगन सकिने बेला भयो । अझै पनि राम्रो ब्यापार भएको छैन। आएका ग्राहक पनि सामान हेरेर मात्रै जान्छन्। कति दिन त बोहनी नै भएन,' उनले भने।

इन्द्रचोकका कतिपय होलसेल सारी पसलहरुमै लामो समयदेखि ग्राहक नआएको उनको भनाइ छ। ब्यापारमा मन्दी छाएपछि त्यहाँका व्यवसायीहरुले पसल छाड्ने क्रम बढिरहेको उनले बताए।