बजार खुलेपछि नेप्सेका प्रमुख कार्यकारी: अब कहिले बन्द हुँदैन, ‘अवस्था हेरेर एक घण्टा बारे निर्णय’

बिजमाण्डू
२०७७ असार १५ गते १६:०२ | Jun 29, 2020


काठमाडौं। लकडाउनलाई कारण देखाएर बजार बन्द गरेको नेपाल स्टक एक्सचेञ्जले अबका दिनमा कहिले पनि किनबेच बन्द नहुने जनाएको छ।

Tata
GBIME
Nepal Life

नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले दोस्रो बजार अब कुनैपनि अवस्थामा बन्द नहुने बताएका हुन्। दोस्रो बजारमा प्लेटफर्म उपलब्ध नभएर बजार बन्द हुने अवस्था नआउने उनले तर्क गरे।

लकडाउनपछि सेयर बजार दुई दिन मात्र खुलेको थियो। उच्च दरले बजार घटेपछि नेपाल धितोपत्र बोर्ड र नेप्सेले बजार बन्द गर्ने निर्णय गरेका थिए।

चौतर्फी दबाबपछि सोमबारबाट कारोबार सुरु भएको हो। साउदले नेपाल स्टक एक्सचेन्जले प्लेटफर्म उपलब्ध गराउने र लगानीकर्ताले शेयर कारोबार पछिको रकम अनलाइन मार्फत सजिलै बैंक खातामा भुक्तानी पाउने व्यवस्था भएकाले समस्या नहुने बताए।

उनले लकडाउन भन्दा पहिले परीक्षणको रुपमा राखिएको एक घण्टाको समयलाई हटाएर बिहान ११ बजेदेखि दिउसो ३ बजेसम्म बजार खुला गरिएको बताए। 

लकडाउन अघि परीक्षणको रुपमा एक घण्टा थप गरि दिउसो ४ बजेसम्म बजार सञ्चालन गरिएको थियो। 

साउदले सार्वजनिक सवारी सधान नचलेको, बैंक पनि विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म चलेको र निजी सवारी साधन जोर बिजोर प्रणालीबाट चलाउँदा आवागमनमा पर्ने समस्यालाई ध्यान दिएर परीक्षणको रुपमा राखिएको एकघण्टा हटाइएको बताए। 

'महामारीको स्थिति र कारोबार कसरी अगाडि बढ्छ भन्ने कुरालाई हेरेर मात्रै परीक्षणको रुपमा राखिएको थप एक घण्टा समयलाई जारी गर्ने या नगर्ने निर्णय हुन्छ,' उनले भने।