लकडाउन खुकुलो भएपछि ‘जारको पानी’ को बजार फर्कियो, पानी ट्यांकरको माग भने घट्दै

सरला सुवेदी/बिजमाण्डू
२०७७ असार १५ गते १३:५० | Jun 29, 2020


काठमाडौं । काठमाडौं उपत्यकामा लकडाउन केही खुकुलो हुँदा अत्यावश्यक पिउने पानीको जार र बोटलको पानीको माग बढ्न थालेको छ।
केही दिनयता जारको पानीको माग २० प्रतिशतले बढेको नेपाल बोटल वाटर संघका अध्यक्ष सुवास भण्डारीले बताए । यतिबेला बजारमा जार मात्र नभइ बोटलको पानीको खपत समेत बढिरहेको उनले जानकारी दिए।  

Tata
GBIME
Nepal Life

लकडाउनको अवधिमा उपत्यकामा बस्ने उपभोक्ताहरु धेरै बाहिर गएपछि पानीको दैनिक खपत न्यून भएको थियो।  तर लकडाउनको तीन महिनामा जारको पानीको खपतमा ७० प्रतिशतले गिरावट आएको अध्यक्ष भण्डारीले बताए। उनका अनुसार असार १ गतेदेखि फेरि बजारमा पानीको माग बढ्न थालेको हो।

लकडाउन अघि दैनिक १ लाख ५० हजार जार बजारमा खपत हुने गरेको थियो । हाल दैनिक ७५ हजारदेखि ८० हजार जार बिक्री हुने गरेको पनि अध्यक्ष भण्डारीले बताए ।

संघको काठमाडौं उपत्यकाभित्र मात्रै ७ वटा क्षेत्रमा कार्यालय रहेको छ । संघले उपभोक्ताको सहजताका लागि जार तथा बोटलको पानी अर्डर अनुसार होम डेलिभरी दिने गरेको बताएको छ।

अन्य समयमा बोटलको पानी दैनिक २५ हजार कार्टुन बिक्री हुने गरेकोमा लकडाउनको अवधिमा बोटलको पानि दैनिक १ हजारदेखि १ हजार बोटलमात्र बिक्री हुने गरेको थियो । हाल यो बढेर दैनिक ७ हजार बोटलसम्म बिक्री हुने गरेको संघले बताएको छ ।

संघका अनुसार जार र बोटलको पानी गरेर दैनिक करिव ५० लाख लिटर पानी खपत हुने गरेको छ।   

जारको पानीको माग बढेपनि ट्यांकरको पानीको खपतमा भने गिरावट आएको ट्यांकर संघका अध्यक्ष सुमन पाठकले बताए । होटलहरु बन्द भएकोले ट्यांकरको पानीको अर्डर खासै नआएको उनले जानकारी दिए।

'बजार खुकुलो भएपनि ट्यांकरको पानीको  कारोबार ७५ प्रतिशत घटेको छ । पहिले उपत्यकामा दैनिक २ देखि तीन करोड लिटर ट्यांकरको पानी खपत हुने गरेको थियो । अहिले त शून्य जस्तै अवस्थामा छ,' उनले भने। लकडाउनको समयमा हस्पिटलमा वितरण गर्ने पानीको माग पनि घटेको उनले बताए।

यतिबेला वर्षायाम भएकाले इनारमा पानी पलाउने हुनाले ट्यांकरको पानी खपत गर्ने कम हुन्छन् । कतिपय मानिसले  आकाशको पानी समेत संकलन गरी प्रयोग गर्छन्।

यसै पनि असार साउनमा पानी उद्योगहरुको कारोबार कम हुने गरेकोमा लकडाउनपछि पानी ट्यांकरको व्यवसायमा नराम्रो धक्का पुगेको अध्यक्ष पाठकको भनाई छ।