अवरोधले घरभित्रको क्लिंकर आउन दिइएन, लकडाउनकै बीच एक अर्बको आयात

बिजमाण्डू
२०७७ असार १५ गते १२:५१ | Jun 29, 2020
अवरोधले घरभित्रको क्लिंकर आउन दिइएन, लकडाउनकै बीच एक अर्बको आयात



काठमाडौं। लकडाउनका बेला स्थानीय तहले चुनढुंगा खानीसम्म ढुवानीका साधन चल्न दिएनन्। 

Tata
GBIME
Nepal Life

कोरोना संक्रमण फैलिने भन्दै ट्रक जान नदिएपछि क्लिंकर उत्पादन गर्दै आएका सिमेन्ट उद्योगको स्टक पनि रित्तिए। ती उद्योगले मुलुकभित्र संचालित ग्राइन्डिङ युनिटलाई क्लिंकर दिन सकेनन्।

तीन तहको सरकारबीच समन्वय नहुँदा मुलुकभित्रको खानी चल्न सकेन, तर भारतबाट भने निर्वाध रूपमा क्लिंकर भित्रिए। सिमेन्टमा आत्मनिर्भर भइसकेको र क्लिंकरमा समेत करिब करिब आत्मनिर्भर बनेको मुलुक फेरि आयातको चक्करमा फस्न पुगेको छ।

सरकारी तथ्यांकलाई नै आधार मान्ने हो भने पनि चैतदेखि जेठसम्म ९८ करोड ३५ लाख ७० हजार रुपैयाँ मूल्य बराबरको क्लिंकर आयात भएको छ। यो भनेको १२ करोड ३८ लाख १५ हजार २० किलो सिमेन्ट हो। 

जबकी साउनदेखि चैतसम्म (आठ महिनामा) जम्मा २ अर्ब ३९ करोड ५१ लाख ४७ हजार रुपैयाँ बराबरको ३४ करोड ३६ लाख २५ हजार ५ सय ५ किलो क्लिंकर आयात भएको थियो। 

कोरोना संक्रमणको कठिन अवस्थामा स्वदेश भित्रको कच्चा पदार्थको प्रयोग गर्न नदिँदा विदेशी मुद्रासँगै भारतीय क्लिंकर उद्योगीसमेत सलबलाउन थालेका छन्। 

अहिले अधिकांश ग्राइन्डिङ युनिटले भारतीय क्लिंकर प्रयोग गरिरहेका छन्। क्लिंकरसहितका सिमेन्ट उद्योगले आफ्ना लागि मात्रै जोगाएर राखेका छन्। अर्घाखाँची सिमेन्टका संचालक पशुपति मुरारकाले लकडाउनको बेलामा स्थानीय तहले खानीसम्म ट्रक जान नदिएकाले क्लिंकर अभाव भएको बताए। 

‘चैतमा खानीबाट क्लिंकर ल्याउनै पाइएन्। कोरोना संक्रमण फैलिने भन्दै कतिपय ट्रकलाई स्थानीयले कब्जामा लिए,’ उनले बिजमाण्डूसँग भने, ‘धेरैजसो उद्योगको स्टक रित्तिएको थियो। खानीबाट चुनढुंगा ल्याउन नपाएपछि भारतबाट धमाधम आयात हुन थाल्यो।’ 

उनका अनुसार, केन्द्र र स्थानीय तहको समन्वय अभावका कारण केही किलोमिटरको खानी टाढा तर कोसौं टाढा रहेको भारतबाट भने सहज रूपमा क्लिंकर आयो। 

‘हामीले यस्तो संकटका बेलामा पनि देशभित्रै रहेको स्रोत चलाउन नसक्ने र विदेशको भर पर्नुपर्ने अवस्था आयो,’ मुरारकाले भने, ‘अहिले क्लिंकर उत्पादन गर्ने धेरै उद्योगले बाहिर बेच्न सकेका छैनन्।’ 

चैतदेखि जेठसम्म चुनढुंगा ल्याउन नदिएपछि त्यसको असर लगभग भदौसम्म पर्ने देखिएको छ। ‘बर्खा लागेपछि खानीसम्मको बाटो सबै काम नलाग्ने हुन्छन्। ती ठाउँबाट चुनढुंगा ल्याउन सकिँदैन,’ उनले भने, ‘समन्वय नहुँदा आत्मनिर्भर बनिसकेको क्लिंकर आयातमा भर पर्नुपर्ने अवस्था सिर्जना भएको छ।’

अम्बे समूहका अध्यक्ष एवं रिद्धिसिद्धि सिमेन्टका संचालक हरि न्यौपानेले स्वदेशी क्लिंकरले पुग्ने अवस्था आइरहेको बेला फेरि भारतबाट आयात गर्ने अवस्था आउनु दुर्भाग्य भएको बताए। 

‘अर्बौ लगानीमा खुलेको उद्योग खाली बसेर भारतबाट क्लिंकर आयात गर्नुपर्ने विषय राम्रो होइन। हामीले कुनैपनि संकट आउनुभन्दा अघि योजना बनाउन नसक्दा पश्चगमनतर्फ जाने गरेका छौं,’ उनले भने, ‘क्लिंकर आयात बन्द हुने अवस्था पुगेको बेला फेरि पुनर्जीवन पाउने अवस्थाले देशलाई हित गर्दैन।’

ग्राइन्डिङ युनिटलाई थप मार
स्वदेशी क्लिंकरका कारण प्रतिस्पर्धा गरिरहेका ग्राइन्डिङ युनिटलाई लकडाउनले थप संकटमा पारेको छ। 

स्वदेशी उद्योगले क्लिंकर बेच्न नसकेपछि अधिकांश ग्राइन्डिङ युनिटले आयातित प्रयोग गर्न थालेका छन्। भारतीय क्लिंकर स्वदेशीभन्दा महँगो पनि छ। 

भारतबाट आएको क्लिंकर टनको साढे १० हजार रुपैयाँको हाराहारीमा पर्छ। नेपाली उद्योगले अहिले पनि टनको साढे ९ हजार रुपैयाँमा बिक्री गर्दै आएका छन्। होङसी, पाल्पा सिमेन्टले क्लिंकर उत्पादन थालेपछि मूल्य साढे ७ हजार रुपैयाँसम्म आएको थियो।