अपूरणीय क्षति पुगेको भन्दै टेस्लाका दुई इलेक्ट्रिक कार छाड्न भन्सारलाई अदालतको आदेश

बिजमाण्डू
२०७७ असार १२ गते १०:३८ | Jun 26, 2020
अपूरणीय क्षति पुगेको भन्दै टेस्लाका दुई इलेक्ट्रिक कार छाड्न भन्सारलाई अदालतको आदेश


काठमाडौं। भन्सारले ६ महिनादेखि रोकिराखेको टेस्लाका दुई गाडी तत्काल छाड्न सर्वोच्च अदालतले आदेश दिएको छ। 

Tata
GBIME
Nepal Life

श्रीमा डिष्ट्रिब्युसन नेपाल प्रालिले टेस्ला मोडेलको दुई विद्युतीय गाडी मगाएको थियो। आधिकारिक एजेन्सी नलिइ कम्पनीले गाडी आयात गरेको भन्दै भन्सारले जाँचपास गरेर धादिङको बेनिघाट पुगेपछि फिर्ता ल्याएको थियो।

लामो समयदेखि गाडी नछुटेपछि कम्पनीले सर्वोच्चमा रिट हालेको थियो। अदालतले भन्सार कार्यालयलाई गाडी फिर्ता दिनु भन्दै श्रीमाको पक्षमा फैसला गरेको थियो।

सर्वोच्चले दिएको अन्तरिम आदेश पुनरावलोकनका लागि भन्सार कार्यालय फेरि 'भ्याकेट' मा गएको थियो। त्यो भ्याकेटलाई सर्वोच्चले बिहीबार खारेज गरिदिएको हो।

आयात गरी ल्याएको विद्युतीय गाडीहरु लामो समयसम्म चार्ज नगरी नचलाई राख्दा ब्याट्री लगायतका सबै कम्प्युटरजडित पार्टपूर्जा उपकरण बिग्रने श्रीमाले तर्क राखेको थियो।

'गाडी नै काम नलाग्ने हुन जाने सम्भावना भई निवेदकलाई अपूरणीय क्षति पुग्न जाने देखिँदा सुविधा सन्तुलनका लागि जाँचपास भइसकेका ती गाडीहरुमा पुनःपरीक्षण गरी केही थप दस्तुर आदि लाग्न गए ती सबै पछि थप जाँचबुझ गर्दा असुल गर्न सकिन्छ,' अन्तरिम आदेशमा भनिएको छ।

मुद्दाको अन्तिम टुंगो लाग्दा ठहरे बमोजिम हुने गरी हाल पुनः जाँचका लागि मगाइएका ती दुई विद्युतीय गाडीहरुको आवश्यक लगत तथा विवरणहरु विपक्षी कार्यालय (भन्सार) ले राखी निवेदक (श्रीमा) लाई फिर्ता दिनु भनेर सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको थियो।

यो आदेशविरुद्ध भन्सार कार्यालय भ्याकेटमा गएको थियो। न्यायाधीशहरु सपना प्रधान मल्ल र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले सरकारी भ्याकेट खारेज गरिदिएको हो।

श्रीमाले आजै भन्सार क्लियरेन्सको प्रक्रिया थाल्ने जनाएको छ। टेस्ला कार अहिले वीरगञ्ज भन्सार कार्यालयमा छ।