विदेशी च्यानलसँगै इन्टरनेट कन्टेन्टमा पनि क्लिन फिड लागू गर्न माग, ‘मासिक अर्बौं बाहिरिँदै छ’

बिजमाण्डू
२०७७ असार ७ गते १४:४४ | Jun 21, 2020


काठमाडौं। नेपालमा सरकारलाई कुनै पनि शुल्क तथा कर नतिरी मासिक अर्बौं रुपैयाँ लैजाने गरेका ओटीटी (ओभर दी टप) एपहरुलाई पनि क्लिन फीड (विज्ञापनरहित सामग्री) लागू गर्नुपर्ने केबल अपरेटरहरुले माग गरेका छन् ।

Tata
GBIME
Nepal Life

विदेशी च्यानलहरु प्रसारणमा क्लिन फीड लागू हुने चर्चा लामो समयदेखि चल्दै आएको भए पनि अहिलेसम्म कार्यान्वयनमा आउन सकेको छैन । सरकारले यही साउन १ गतेपछि क्लिन फीड पूर्ण रूपमा लागू गर्ने तयारी गरिरहेको छ । त्यसैअनुसार केबल अपरेटरहरुलाई लकडाउन खुलेको १५ दिनभित्र विदेशी च्यानलको सम्पूर्ण विवरण मन्त्रालयमा पेश गर्न सरकारले पत्राचार गरिसकेको छ।

यसैबीच, विभिन्न किसिमका भिडियो कन्टेन्ड देखाउने ओटीटी एपमा समेत क्लिन फीड कार्यान्वयन गर्नुपर्ने आवश्यकता केबल व्यवसायीहरुले पहिलोपटक औंल्याएका हुन् ।

ओटीटी एपले स्याटेलाइट वा केबल जस्ता भिडियो सामग्री वितरणका परम्परागत माध्यमको साटो इन्टरनेटमार्फत मोबाइल फोन, ट्याबलेट स्मार्ट टिभी लगायतमा भिडियो हेर्ने सुविधा दिन्छ ।

कोभिड–१९ नियन्त्रणका लागि तीन महिनादेखि जारी लकडाउनको समयमा सेटअप बक्सको माग गर्ने ग्राहक बढ्ने अनुमान केबल अपरेटरहरुलाई थियो । तर उनीहरुको अपेक्षाअनुरूप सेटअप बक्स बिक्री भएन । बरु, इन्टरनेटको माग भने यो अवधिमा ह्वात्तै बढ्यो । यसको एउटा प्रमुख कारण थियो – भिडियो कन्टेन्टहरु हेर्न सकिने दर्जनौं ओटीटी एपहरुको पहुँच नेपालमा पनि सहज हुनु ।

केबल अपरेटरहरुले यो तथ्यलाई समेत विश्लेषण गर्दै टेलिभिजनमा प्रसारण हुने विदेशी च्यानलका साथसाथ  ओटीटी एपमा पनि क्लिन फीड यथाशीघ्र लागू गर्नुपर्ने बताएका हुन् ।

अहिले नेपालमा नेटफ्लिक्स, आइफ्लिक्स, प्राइम भिडियो, हटस्टार, सोनी लिभ, भुट, एएलटी बालाजी, जी५ लगायतका दर्जनौं ओटीटी एपहरु सञ्चालनमा छन्। नेपालीहरुले अनधिकृत स्थानीय एजेन्टका साथै विभिन्न माध्यमबाट मासिक शुल्क बुझाएर यस्ता एपबाट विदेशी सिनेमा, टेलिभिजन शो, लाइभ खेलकुद लगायतका भिडियो सामग्रीहरु हेर्दै आएका छन् ।

यसबाट मासिक अर्बौ रुपैयाँ नेपालबाट बाहिरिने गरेको तर त्यसबाट सरकारले एक रुपैयाँ पनि कर प्राप्त नगर्ने केबल अपरेटरहरुको गुनासो छ। भिडियो कन्टेन्ट वितरण गर्ने त्यस्ता आधा दर्जन एपले मात्रै नेपालबाट मासिक अर्बौं रुपैयाँ अवैधरूपमा विदेश लगिरहेको डिजिटल सिस्टम अफ नेपालका कार्यकारी निर्देशक शिव निरौलाले बताए। लकडाउज अवधिमा मात्रै यस्ता एपहरुले नेपालमा तीन लाखभन्दा बढी नयाँ प्रयोगकर्ता थपेको उनको दाबी छ।

नेपाली टेलिभिजन च्यानलहरुले यस्ता भिडियो कन्टेन्ट ग्राहकसम्‍म पुर्‍याउनका लागि केबल तथा एकाध स्याटेलाइटमा आधारित डिजिटल टेलिभिजन प्रसारण सेवा प्रदायकहरुको सहायता लिँदै आएका छन् । तिनै च्यानलका मोबाइल एप्लिकेसन पनि केही टेलिभिजन च्यानलहरुले संचालनमा ल्याएका छन् । तर यसबाहेक छुट्टै ओटीटी एप भने नेपाली टेलिभिजन अपरेटरहरुले अहिलेसम्म ल्याउन सकेका छैनन्।

मोबाइल एपमा टेलिभिजन च्यानलमा प्रसारण हुने सामग्री मात्र हेर्न सकिन्छ भने ओटीटी एप्सले त्यसबाहेका अनलाइन भिडियो सामग्री पनि हेर्ने सुविधा दिन्छ।

सरकारले लामो समयदेखि विदेशी च्यानलमा क्लिन फीड लागू गर्ने गृहकार्य गरिरहेको थियो। तर त्यसो गर्दा विदेशी च्यानलहरुले नेपालमा डाउनलिंक नदिने र केबल अपरेटरहरुले नेपाली च्यानल मात्रै देखाएर आफ्नो व्यावसाय बचाउन नसक्ने भन्दै पहिला विकल्प दिएर मात्रै यो लागू गर्न भन्दै क्लिन फीडको बाटो रोकेका थिए । अहिले भने तिनै व्यवसायीहरुले टिभी च्यानलका साथै ओटीटी एप्समा समेत क्लिन फीडको पक्षमा आवाज उठाएका हुन् ।

भारत लगायतका मुलुकमा दर्ता भइ उतै कर तिरेर व्यवसाय विस्तार गरिरहेका त्यस्ता भिडियो एपहरुले नेपालमा पनि ठूलै व्यापार गर्ने गरेका छन्। केबल अपरेटरहरुको माग उनीहरुले नेपालमा गरेको व्यवसायवापत नेपाल सरकारले कर पाउनुपर्छ भन्ने आफ्नो माग रहेको केबल अपरेटरहरुले बताएका छन् ।

नेपालमा नेटफ्लिक्सका मात्रै पाँच लाखभन्दा बढी प्रयोगकर्ता रहेको अनुमान छ । नेटफ्लिक्सले एक जना प्रयोगकर्ताबाट मासिक पाँच सयदेखि दुई हजार रुपैयाँसम्म उठाउँदै आएको छ। औसतमा प्रतिव्यक्ति पाँच सय रुपैयाँ नै मात्र उठाउँदा पनि मासिक करीब २५ करोड रुपैयाँभन्दा बढी रकम नेटफ्लिक्सले मात्रै विदेश लगिरहेको छ। तर केबल अपरेटरहरुको भनाइमा नेटफ्लिक्स प्रयोगवापत मासिक ५० करोड रुपैयाँ बाहिरिइरहेको छ ।

अमेजन प्राइम भिडियो र आइफ्लिक्स लगायतका अन्य एपहरु प्रयोगकर्ताहरुको संख्या पनि नेपालमा बढ्दै गएकाले थप करोडौं रकम नेपाललाई कुनै लाभबिनै विदेशिइरहेको देखिन्छ ।

यस्ता एपहरु माथि नियमन गर्न नसके नेपालीको करोडौं रुपैयाँ बाहिरिने मात्र नभएर नेपाली कला संस्कृतीका साथै नेपाली मिडिया तथा केबल अपरेटरहरु समेत बाँच्न नसक्ने मेगा म्याक्स टिभीका अध्यक्ष ध्रुव शर्मा बताउँछन् । अहिले चार सयसम्म टिभी च्यानल देखाउँदै आएका अपरेटरहरुले क्लिन फीड लागू भएपछि यो संख्या सयको हाराहारीमा झार्ने उनको भनाइ छ ।

सरकारले क्लिन फीड लागू गरेर ओटीटी एप नियमन गर्न नसके आफ्नो अर्बौंको लगानी र हजारौंलाई रोजगारी दिइरहेको व्यवसाय बन्द गर्नुपर्ने अवस्था आउन सक्ने केबल अपरेटरहरु बताउँछन्। यस क्षेत्रमा अहिले २० अर्ब रुपैयाँभन्दा बढी लगानी र २० हजार व्यक्तिलाई प्रत्यक्ष रोजगारी दिइरहेको उनीहरुको भनाइ छ।

केबल अपरेटरहरु बन्द भए ओटीटी एप सञ्चालनसम्बन्धी कानून नभएकाले नेपाली टेलिभिजन च्यानलहरु पनि स्वतः बन्द हुने अवस्थामा पुग्ने र यसबाट नेपालको विज्ञापन बजार पनि ध्वस्त हुन सक्ने शर्माले बताए ।

‘हामी न इन्टरनेटविरोधी हौं, न त प्रविधिविरोधी नै,' शर्माले भने, ‘यस्ता प्रकारका एप सञ्चालन गर्ने कार्यविधि सरकारले बनाओस् र विदेशी एपहरुको माग भइरहेमा उनीहरुलाई पनि नेपालमा दर्ता भइ राज्यलाई कर तिरेर व्यावसाय गर्नसक्ने व्यवस्था गरोस्।'
त्यसबाट मात्रै नेपाली मिडिया र केबल अपरेटरहरु बाँच्न सक्ने अन्यथा ओटीटी एपहरुलाई बेलगाम छाडेर नेपाली मिडिया र केबल अपरेटरलाई मात्रै भारी बोकाइयो भने यो क्षेत्र ध्वस्त हुन समय नलाग्ने उनी बताउँछन्।

उपभोक्ताको छनोट अधिकार नियन्त्रण गर्न नसकिने भए पनि राज्यले त्यसलाई नियमन भने गर्नुपर्ने डिजिटल सिस्टम अफ नेपालका निरौला बताउँछन्। ‘स्याटेलाइटबाट आउने कन्टेन्टमा क्लिन फीड लागू गर्ने र इन्टरनेटबाट आउने त्यही कन्टेन्ट खुला छाड्ने गरियो भने यसले कुनै अर्थ राख्दैन,' निरौला भन्छन्, ‘यसले नेपालमा थप त्यस्ता एपको माग हुने र अहिलेको भन्दा कैयौं गुणा बढी रकम विदेशिने खतरा छ।' त्यसैले सरकारले टिभी च्यानलसँगै इन्टरनेटको माध्यमबाट प्रसारित हुने उक्त क्नटेन्टमा पनि क्लिन फीड लागू गर्नुपर्ने उनको माग छ।

क्लिन फीड लागू भएपछि अधिकांश भारतीय च्यानलको नेपालमा प्रसारण नियमन हुने हुँदा त्यसबाट नेपाली विज्ञापन बजार र स्वदेशी च्यानल दुवैलाई फाइदा पुग्नेछ । तर त्यसका लागि विदेशी च्यानल सँगसँगै इन्टरनेटमा आउने विदेशी भिडियो कन्टेन्ट पनि नेपालले नियमन गर्नुपर्ने सरोकारवालाहरुको भनाइ छ।