‘पर्यटन उद्यमी आत्तिने होइन, नयाँ कन्सेप्ट लिएर आउने बेला हो’, यादव पाण्डेको विचार


हरेक दैवी प्रकोपहरु नभोगिएकै जस्ता हुन्छन्। हाम्रो पुस्ताले कोभिड-१९ अगाडि महाभूकम्प पनि पहिलोपल्ट नै भोगेको थियो। त्यसले पनि नेपालको अर्थतन्त्रमा गहिरो प्रभाव पारेको थियो। भूकम्पको तुलनामा कोभिड-१९ को प्रभाव झन् गहिरो छ।

अहिलेको महामारीबाट हामी सुरुमै आत्तियौं। त्यसपछि फेरि छिटो हतास हुन खोज्यौं। यस्तो अवस्थामा मान्छेले हतारमा निर्णायक हुने कोशिश गर्छ। त्यसैले यसरी चालिएका कतिपय कदम सही नहुन पनि सक्छन्। यसैले अब योजना बनाउँदा हतासमा आत्तिएर होइन, हाम्रो सबल पक्ष के हो र कतिसम्म धान्न सकिन्छ भन्ने पर्याप्त अध्ययन र विश्लेषण गरेर नयाँ तरिका अपनाएर उदाउने बेला हो।

Sipradee
Sanima Bank
Riddisiddi Cement

आगामी दिनको नकारात्मक र निराशाजनक आकलनले हामीलाई कहिँ पनि पुर्‍याउँदैन। 'हामी त खतम हुने भयौं, बर्बाद हुने भइयो' भनेर बसियो भने अझ १० वर्ष उठ्न गाह्रो हुनेछ। किनकि, एक त कोरोनाको प्रभाव क्षणिक छ भने यसबाट पर्यटनका हाम्रो सबल पक्षमा कुनै पनि क्षति पुगेको छैन।

यसकारण यसले दुःख मात्र ल्याएर पर्यटन क्षेत्रलाई पछाडि सारेको भन्ने मात्र सत्य होइन। हामीसँग भएको समय, अवसर, स्रोतसाधन, सिर्जनशील दिमाग इत्यादिलाई सदुपयोग गरेर अगाडि बढ्ने मौका पनि हो यो।

ठूलो लगानी गरेको व्यवसायी अहिलेको विपतमा आत्तिनु स्वभाविक हो, तर यो नै समाधानको सूत्र होइन। हामीले अहिलेको विन्दुबाट सामान्य जीवनशैलीमा फर्किँदै समाधान निकाल्नुको विकल्प छैन। कि त हात उठाएर समर्पण गर्नुपर्‍यो।

अहिले मजदुर र रोजगारदाताको विषयमा चलेको मुद्दा दुईपक्षीय हुन्। मजदुर र व्यवसायी दुवै एकै सिक्काका दुई पाटा र एकअर्काका परिपूरक हुन्। मजदुर व्यवसायका सम्पत्ति पनि हुन्। किनकि दशकौं लगाएर मजदुरले आफ्नो भविष्यसँगै उद्योगको पनि क्षमता विस्तारमा योगदान गरेको हुन्छ।

यसकारण कोभिड–१९ का कारण रोजगारी र पारिश्रमिकमा उब्जिएको असहज अवस्थाको अवतरण दुवै पक्ष बाँच्ने गरी हुनुपर्छ। यसको निकासका लागि दुवै पक्ष नै बसेर छलफल गर्न आवश्यक छ। पर्यटन उद्योग ठप्प हुँदा यतिखेर मजदुर घरमा छन् भने विदेशी मुद्रा पनि भित्रन छाडिसक्यो। यसैले अब साँच्चिकै सिर्जनशील भएर सोच्नुपर्ने बेला आएको छ।

आदिमकालदेखि नै घुमफिर गर्ने मान्छेको प्रवृति हो। घुम्दाघुम्दै संसारका धेरै बस्ती बसेका हुन्। यसकारण अवस्था सामान्य हुँदै गएपछि घुमघाम फेरि सुरु हुन्छ नै। यो कुरालाई दृष्टिगत गर्दै अहिलेको समयलाई हामीले उचित गृहकार्यसहित नेपालको पर्यटन प्रचार प्रसारका लागि सदुपयोग गर्न  सकिन्छ। यो बुद्धभूमिसमेत भएकाले यसलाई एक वर्षको गन्तव्यका रूपमा प्रवर्द्धन गर्न सकिन्छ।

हाम्रो मुलुकमा भएका विभिन्न पर्यटकीय गतिविधिमा भीडभाड न्यून छ।  प्रकृतिभन्दा आनन्ददायक (प्लिजिङ) के हुन सक्ला संसारमा! त्यसैले प्राकृतिक सौन्दर्यताले भरिपूर्ण नेपाल विश्वकै उत्कृष्टमध्येको 'प्लेजर डेस्टिनेसन' बन्न सक्छ। पर्याप्त स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन तथा कायम गरियो भने यसमा ठूलो सम्भावना छ। धार्मिक, पर्वतारोहण, हिमाल आरोहण लगायत विभिन्न क्रियाकलापमा पनि धेरै सम्भावना छ।

मंगोलिया, भियतनाम, थाइल्याण्ड, श्रीलंका र भुटान लगायत बौद्ध धर्मवालम्बी रहेको मुलुकमा कोभिड संक्रमण न्यून देखिएको छ। यसकारण बुद्धको जन्मभूमि लुम्बिनीसँग जोडेर उनीहरुलाई आकर्षित गर्नसक्ने सम्भावना पनि छ।

तर, अब हामीले कुनै पनि योजना बनाउँदा दुई वर्षपछिको अवस्थालाई ध्यान राख्न आवश्यक छ। यहिबेला दर्जनौं नयाँ पर्यटकीय गन्तव्य बनाउन सकिन्छ। यस्ता दीर्घकालीन सोच राखेर अघि बढ्ने हो भने केही समयका लागि चीन र भारतबाट आउने पर्यटकबाटै हामी यो उद्योग धान्न सक्ने अवस्थामा पुग्छौं।

पर्यटनसँग सम्बन्धित संस्था, सरकारी निकाय लगायतले यो समयमा पहिलाको तुलनामा अझ बढी प्रचार प्रसार गर्न आवश्यक देखिन्छ। अल्पकालका लागि चीन र भारतलाई जोडेर नेपालले पर्यटकीय योजना बनाउन सक्छ। हामी यी दुई मुलुकसँग नजिकै भएकाले हामी सबैको कोभिड–१९ बाट 'रिकभर' हुने समय एउटै–एउटै हुनसक्छ। यसैले पहिलो चरणमा यी दुई मुलुकबाट आउने पर्यटकमार्फत नेपालको पर्यटन उद्योग पुनरुत्थान गर्ने गरी योजना बनाउन सकिन्छ।

अर्कोतर्फ, सरकारले पनि आन्तरिक पर्यटन प्रवर्द्धनका लागि देश भ्रमण प्रोत्साहनको योजना बनाएको छ। सुरुवात यहाँबाट भयो भने उत्तर र दक्षिणका दुई छिमेकी मुलुकसँग जोडिन सकिन्छ। हामी सुरक्षित भएपछि पर्यटकीय क्रियाकलाप शुरु गर्नै पर्छ। यसैले यसको योजना बनाउन पनि अहिले उचित समय हो।

पर्यटन उद्योग असाध्यै तल झरेपछि वा अबको ६ महिनापछि पुनरुत्थानको योजना बनाउन सुरु गर्नुको कुनै अर्थ हुँदैन। अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना अहिले नै तयार गर्न आवश्यक छ।

दुई वर्षपछि विश्व पर्यटन नै खुल्नेछ। त्यसका लागि अझ स्तरीय पर्यटन पूर्वाधार विकास र नवीन ढंगले यो क्षेत्रलाई तयार पार्न लगानी गर्ने शुभ अवसर पनि हो अहिले। यतिबेला लगानी गर्दा मध्यम किसिमको पर्यटन आयोजना तयार हुन पनि दुई वर्ष लाग्छ। यसको तयारी हामी अहिले गर्न सक्छौं। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका नयाँ पर्यटकीय गन्तव्य यो अवधिमा प्रवर्द्धन गर्न सकिन्छ ।

कृत्रिम नदी, झरना बनाएर संसारका विभिन्न मुलुकले आफ्नो पर्यटन बिक्री गर्दै आएका छन्। हामीसँग यस्ता सबै स्रोत प्रकृतिले नै दिएको छ। यस्ता कृत्रिम पूर्वाधारमा हामीले समय खर्च गर्नुपर्ने छैन। यसकारण दुई वर्ष हामीसँग भएकै कुराहरुको स्तरोन्नति गर्नतिर लाग्न सकिन्छ।

प्रायः सबै पर्यटकीय गन्तव्यहरुमा पर्यटकहरुका लागि बस्ने सुविधा भए पनि ती स्थानहरुको राम्रोसँग ब्राण्डिङ हुन सकेको छैन। नेपाल केका लागि उपयुक्त छ त्यो कुरा पनि सँगसँगै 'एक्प्लोर' गर्न आवश्यक छ। किनकि, नेपालको पर्यटनले नयाँ पहिचान खोज्ने र त्यसलाई स्थापित गर्नुपर्ने समय आइसकेको छ।

अहिलेसम्म हामी परम्परागत पर्यटन बेच्नमै केन्द्रित रहँदै आएका छौं, जबकि विश्व पर्यटन अभ्यासमा अनेक नयाँ आयाम र सोचहरु अघि आइसकेका छ। यो दृष्टिले हाम्रा कतिपय पर्यटकीय सम्भावनाहरुको पहिचान नै हुन सकेको छैन। यी सबै पक्षमा विचार पुर्‍याएर अबको १० वर्षमा हामीले कस्तो किसिमको पर्यटनलाई प्राथमिकता दिने भन्ने टुंगो लगाउन सक्नुपर्छ। अन्यथा हिँड्दा गन्तव्य नै थाहा भएन भने त्यस्तो हिँडाइले कहिँ पनि पुर्‍याउँदैन।

हामीकहाँ पर्यटन क्षेत्रका सरोकारवालाहरुको पनि आ–आफ्नै चासो हुने गरेका छन्। अर्थात्, ठोस राष्ट्रिय योजना, रणनीति र लक्ष्यमा यो उद्योग हिँडेको छैन भन्दा फरक पर्दैन। त्यसका बाबजुद हिजो १० लाख पर्यटक आएका थिए। त्यतिले पनि नेपालको पर्यटन उद्योग चलिरहेकै थियो। अब हामी योजनाबद्ध रुपमा अगाडि बढ्ने हो भने कम्तिमा त्यति नै पर्यटक ल्याउन नसकिएला भन्नु पर्दैन।

उत्तर–दक्षिणका दुई देशलाई मात्र हेर्ने हो भने पनि दुई अर्ब ७० जनसंख्याको बीचमा छौं हामी। केही सिर्जनशील भएर सकारात्मक सोच राख्ने हो भने यो जनसंख्या हाम्रो पर्यटन उद्योगका लागि अवसरमा बदल्न पर्याप्त हो। तर त्यसका लागि हामीले द्रुत पर्यटकीय पुनरुत्थान मुलुक बनाउन प्रतिबद्ध भएर काम गर्नुपर्छ।

यो दिशामा काम गर्दा अबको ६ महिनामा नयाँ आयोजना आउँदा सक्ने  सम्भावना हुन्छ, त्यसले अहिले त्यसै बसेका जनशक्तिलाई पनि रोजगारी दिनेछ। समग्रमा हेर्दा पर्यटनमा ब्राण्डिङ, इन्भेस्टिङ र प्लानिङका लागि सही समय हो यो।

हामी (पिक हस्पिटालिटी) आफैं पनि लकडाउन खुलेलगत्तै भएका आयोजनालाई बचाएर नयाँ सुरु गर्ने योजनामा छौं। मलाई लाग्छ, हरेक लडाईँ जित्ने सबैभन्दा प्रमुख अस्त्र भनेकै साहस हो। कोभिड-१९ ले जटिल परिस्थिति सिर्जना गरेको भए पनि हामी सबैले आ-आफ्नो तर्फबाट स्वास्थ्य सावधानी अपनाएर नआत्तिइ भावी योजना बनाउन आवश्यक छ। आत्मबल, सतर्कतासँगै बुद्धिमतापूर्वक ढंगले पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्ने समय हो यो। (पाण्डे पिक हस्पिटालिटीका उपाध्यक्ष हुन्।)


Share this Story

   

Gyanu Shrestha[ 2020-06-11 01:19:33 ]
Worlds This is part of life but every government should be honestly help right time tks,


Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.
Ncell