रामचन्द्र पौडेलले भने-‘गाउँमुखी अर्थनीति र जनमुखी राजनीति भोकमरी र बेरोजगारी हटाउने मन्त्र’

बिजमाण्डू
२०७७ जेठ २४ गते १८:१५ | Jun 6, 2020
रामचन्द्र पौडेलले भने-‘गाउँमुखी अर्थनीति र जनमुखी राजनीति भोकमरी र बेरोजगारी हटाउने मन्त्र’

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोनाको संक्रमणपछि भोकमारी र वेरोजगारीबाट जोगाउन गाउँमुखी अर्थनीति र जनमुखी राजनीति आवश्यक रहेको बताएका छन्।

सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले शनिबार आयोजना गरेको कोरोनाको संक्रमण र विश्व परिस्थिति विषयक भर्चुअल कार्यक्रममा वरिष्ठ नेता पौडेलले गाँउमुखी अर्थनीतिलाई अगाडि ल्याएर कोरोनाको संक्रमणमा गाँउ फर्केका नागरिकलाई गाँउमै रोजगारी र गाँउमै आम्दानीको व्यवस्था गर्न आवश्यक रहेको बताए।

वरिष्ठ नेता पौडेलले आफूले पहिलेदेखि नै भन्दै आएको आम नागरिकलाई गाँउमा नै बसौं बसौं बनाउन मौका आएको बताए। उनले अब गाँउ गाँउमा नागरिकले सहरमा उपलब्ध गराएका सुविधान गाँउमा पुर्‍याएर रोजगारी र आम्दानी गाँउमा नै पाउने अवस्थाको सृजना गरेमात्र अर्थतन्त्र जोगाउन सकिने बताए।

पौडेलले राज्यको भूगोलको पूर्नसंरचना भएपछि सामाजिक आर्थिक पुनर्संरचना हुन नसकेको बताए। उनले राज्यको सामाजिक रूपमा पनि पुनर्संरचना आवश्यक रहेको बताए। राज्यको सामाजिक रुपान्तरण हुन नसकेका कारण रुकुमको चौरजहारी घटना भएको बताए।

वरिष्ठ नेता पौडेलले सामाजिक रुपान्तरणका लागि भन्दै १७ हजार मान्छे मार्ने आन्दोलनको उद्गम थलोमा जातीय विभेदका घटना तीन आन्दोलनका नायकहरुद्वारा हुनु दुर्भाग्यपूर्ण भएको बताए। उनले १७ हजार मान्छेको ज्यान सामाजिक रुपान्तरणका लागि नभई सत्ता प्राप्तिका लागि भएको आम नागरिकको बुझाइ रहेको बताए।

उनले मुलुकको राष्ट्रियताको संरक्षण प्रधानमन्त्री केपी ओलीको जस्तो खोक्रो नाराले सम्भव नहुने भन्दै राष्ट्रियताको संरक्षणका लागि छिमेकीसँग आँखामा आँखा जुधाएर कुरा गर्न सक्ने क्षामता राख्नुपर्ने बताए।

पौडेलले कोरोनाको संक्रमणका कारण विश्वको राजनीतिले पनि नयाँ मोड लिने बताए। उनले दोस्रो विश्वयुद्ध पनि अमेरिकी र रुसी ध्रुवमा विभाजित भएको स्मरण गर्दै अहिले रुसको स्थान चीनले लिएर अमेरिकी र चिनियाँ ध्रुवमा विश्व विभाजित हुने बताए। नेता पौडेलले चीनको शासन व्यवस्था पारदर्शी नभएका कारण उसलाई विश्वले शंकाको दृष्टिले हेरेको भन्दै नेपालमा पनि कम्युनिष्टहरु उत्साहित भएका तर लोकतन्त्रवादी संशकित भएको बताए।