लकडाउनमा खुलेको अत्यावश्यक उद्योग पनि ५० प्रतिशत भन्दा कम संचालनमा,  कर्मचारी पनि आधा मात्रै

बिजमाण्डू
२०७७ जेठ २४ गते १७:४७ | Jun 6, 2020
लकडाउनमा खुलेको अत्यावश्यक उद्योग पनि ५० प्रतिशत भन्दा कम संचालनमा,  कर्मचारी पनि आधा मात्रै

Tata
GBIME
Nepal Life

काठमाडौं। लकडाउनमा खुला गरिएका अत्यावश्यक उद्योग पनि पचास प्रतिशत भन्दा कम संचालनमा रहेको पाइएको छ।

उद्योग मन्त्रालयले वैशाख ३० गतेदेखि जेठ २० गतेसम्म विभिन्न औद्योगिक क्षेत्रमा रहेको उद्योगको अध्ययन गर्दा अत्यावश्यक उद्योग समेत ४६ प्रतिशत मात्रै संचालनमा रहेको पाइएको हो। मन्त्रालयले १० वटा औद्योगिक क्षेत्रमा रहेको उद्योगको अध्ययन गर्दा ४६ प्रतिशत मात्रै संचालनमा रहेको पाइएको हो।

 मन्त्रालयले १० औद्योगिक क्षेत्रमा चामल, दाल, तेल, औषधि, डेरी, खानेपानी, ग्यास, चिया, चिनी, दाना उत्पादन गर्ने उद्योगहरुको अध्ययन गरेको हो। १० औद्योगिक क्षेत्रमा रहेका ५ सय ९७ वटा अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योग छन्। यीमध्ये ३ सय ३८ वटा उद्योगहरु मात्र संचालनमा छन्।

लकडाउनका कारण ती उद्योग पनि पूर्ण क्षमतामा संचालन हुन नसकेको मन्त्रालयले जनाएको छ। मन्त्रालयको अनुसार हाल ती उद्योगहरुको औसत क्षमता ४६ प्रतिशत मात्र छ। यी उद्योगमा ११ हजार ७ सय ३७ कामदार मध्ये हाल ६८ सय ३६ कामदार मात्र कार्यरत छन्।

यी औद्योगिक क्षेत्रहरुमा अक्सिजन उद्योग पूर्ण क्षमतामा सञ्चालित छन्। चाउचाउ र  बिस्कुट उद्योग ५० देखी ६० प्रतिशत क्षमतामा सञ्चालित छन्। मन्त्रालयका चामल, दाल, पिठो उद्योग ५५ प्रतिशत संचालनमा रहेको मन्त्रालयले जनाएको छ। यस्तै डेरी उद्योग ६० प्रतिशत संचालनमा रहेको मन्त्रालयले जनाएको छ।

यसैगरी दाना उद्योग ४० प्रतिशत र ह्याचरी उद्योग भने क्रमश बन्द हुँदै गएको मन्त्रालयले जनाएको छ। उद्योग र खानेपानी उद्योग समान ६० प्रतिशत क्षमतामा संचालनमा छन्। यस्तै इट्टा उद्योग यो सिजन समाप्त भइसकेका छन्। चिया लकडाउन अवधिमा कम माग भएको र परीक्षण र प्रमाणीकरणका कारण युरोप पठाउन नसकिएको मन्त्रालयको अध्ययनमा देखिएको छ।