बाढीबाट कोमामा पुगेको हुवासिन सिमेन्टको पुर्नजीवन, उद्योग निर्माणको काम ९० प्रतिशत सकियो

बिजमाण्डू
२०७७ जेठ २४ गते ११:३४ | Jun 6, 2020
बाढीबाट कोमामा पुगेको हुवासिन सिमेन्टको पुर्नजीवन, उद्योग निर्माणको काम ९० प्रतिशत सकियो


Tata
GBIME
Nepal Life

काठमाडौं। धादिङ रोराङ गाउँपालिकामा निर्माणाधीन हुवासिन सिमेन्टको पूर्वाधार गत वर्षको असारमा बाढीले बगायो।

उद्योगको पूर्वाधार निर्माणको ठेक्का पाएको चीनकै हान्दान सिनो कन्स्ट्रक्सनले ठूलै क्षति ब्योहोर्‍यो। बीमा नगरी पूर्वाधारको काम गरेको कम्पनीले नसकेर हातै झिकेर हिड्यो।

बाढीले क्षति पुर्‍याएकै बेला संसदीय समितिको तारोमा यही कम्पनीलाई कारवाहीका लागि निर्देशन दियो। बाढी र संसदीय समितिको निर्देशनपछि धेरैलाई उद्योगको पूर्वाधार बनाएर संचालनमा आउन कठिन हुने अनुमान लगाए।

अझ कतिपय उद्योगीले हुवासिन ‘डेड’ भयो भन्ने पनि थिए। तर ती सबै अनुमान फेल खुवाउँदै चिनियाँ कम्पनीले उद्योग निर्माणलाई अन्तिम चरणमा पुर्‍याएको छ। चिनियाँ कम्पनीको दृढ इच्छाशक्तिका कारण डेड भनिएको उद्योग ब्युँतियो।

उद्योगका नेपालका साझेदार सुरज वैद्यले उद्योग निर्माणको काम ९० प्रतिशत सकिएको बताएका छन्। ‘बाढीले हामीलाई ठूलै क्षति पुर्‍याएको थियो। तर हामीले आत्मविश्वास गुमाएनौ। ठेक्का लिएको कम्पनी नै काम छाडेर जाँदा दुई महिना काम रोकिएको थियो,’ उनले बिजमाण्डूसँग भने, ‘त्यसपछि हामीले नयाँ कम्पनी नियुक्त गरेर कामलाई तीव्रता दिएका थियौं।’

उद्योगले सि चुयान या हुइ र हुवासिन कन्स्ट्रक्सन कम्पनीलाई निर्माणको ठेक्का दिएको थियो। यो दुईवटा कम्पनीले भदौमै उद्योग निर्माणको काम सक्ने सम्झौता गरेको थियो। त्यो सम्झौता पूरा गर्न दुई कम्पनीले दिनरात काम गरेका थिए। तर एकाएक कोरोना भाइरस संक्रमणको महाव्याधि आएपछि काममा सुस्तता आयो। तैपनि कम्पनीले कामलाई रोकेन।

वैद्यले लकडाउनका कारण निर्माण सामाग्रीको अभाव झेलेका कारण केही समस्या भएको बताए। ‘कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले लकडाउन लगायो। केही समय सिमेन्ट र डन्डी ल्याउन पनि कठिन भयो,’ उनले भने, ‘निर्माण सामाग्री नहुँदा केही समस्या भयो। तर अहिले फेरि पुरानै गतिमा काम अघि बढेको छ।’

उनका अनुसार कामदारलाई उच्च स्वास्थ्य सतर्कता अपनाएर निर्माणको काम अघि बढाइएको छ। ‘हामीले निर्माण क्षेत्रमा नयाँ व्यक्तिलाई आउन प्रतिबन्ध लगाएका छौं। यहाँ काम गर्ने कामदारलाई पनि बाहिर जान दिएका छैनौ,’ वैद्यले भने, ‘कुनै व्यक्तिमा संक्रमणको लक्षण देखिएमा निर्माणस्थलमै क्वारेन्टाइनको व्यवस्था गरिएको छ। कामदारको कोरोना परीक्षणका लागि समेत सरकारसँग समन्वय गरिरहेका छौ।’

करिब १ सय ५० चिनियाँ र ३ सय नेपाली कामदार दिनरात काम गरिरहेका छन्। यी कर्मचारीहरुलाई उद्योग स्थलमै खाने बस्ने व्यवस्था मिलाइएको छ। उद्योगका अनुसार प्रत्येक दिन कामदारको स्वस्थ्य परीक्षण गरेर मात्रै काम सुरु गरिने उनले बताए।

अहिले उद्योगको आन्तरिक काम भइरहेको छ। खोला नियन्त्रण तथा अन्य प्राविधिक फिटिङको काम समेत भइरेहको उद्योगले जनाएको छ। अहिले खोलालाई ठूलो बाटो बनाएर नियन्त्रणको प्रयास गरिएको छ।

यस्तै पर्खाल लगाएर खोला नियन्त्रण गर्ने तयारी पनि भइरहेको उनले बताए। उनका अनुसार उद्योगका लागि आवश्यक मेसिनरी चीन र भारतबाट ल्याउनुपर्ने भएकाले आयातमा भने कठिनाइ भएको छ। यो बाहेक उच्च प्राविधिक कर्मचारी पनि चीनमै रोकिएको वैद्यले बताए।

दशैंअघि नै उत्पादन

सरकारले बिजुलीको व्यवस्था गरेमा दशैंअघि नै सिमेन्ट उत्पादन थाल्ने वैद्यले बताए। उनका अनुसार सरकारले अहिलेसम्म पनि ट्रान्समिसन लाइनको काम गरेको छैन।

यस्तै उद्योगले खानी स्थलसम्म पुग्ने बाटो समेत तयार गरेर चुनढुंगा पनि ल्याउन थालिसकेको छ। लकडाउनका कारण खानी उत्खननको काम भने रोकिएको छ।

सडकको विवाद पनि टुंगियो

उद्योगले निर्माण गरेको करिब ११ किलोमिटर सडकले सरकारी मान्यता पाएको छ। मलेखु बजारदेखि उद्योगस्थल ताल्तीसम्म पुग्ने  सडकलाई प्रदेश तथा केन्द्र सरकारले मान्यता दिएको छ।

उद्योग क्षेत्रमा सरकारले सडक तथा विद्युत पुर्‍याइदिने सम्झौता अनुरूप दुवै सरकारले आर्थिक सहयोग उपलब्ध गराएको वैद्यले बताए। उनका अनुसार उद्योगले पहिले सडक निर्माण गरेर पछि मात्रै भूक्तानी लिइएको हो।

ट्रान्समिसन लाइनमा निर्माण हुँदै

ट्रान्समिसन लाइन विस्तारका लागि वातावरणीय प्रभाव मूल्यांकनको काम भइरहको छ।  उद्योगका लागि ३५ मेगावाट विद्युत आवश्यक पर्नेछ। विभिन्न प्रक्रिया पूरा गर्दागर्दै ट्रान्समिसन लाइनको काम अघि बढ्न नसकेको वैद्यले बताए।

उनका अनुसार सरकारी निकायको सबै प्रक्रिया पूरा गर्दा ढिला हुने भएकाले कम्पनीले ट्रान्समिसन लाइन आफैं निर्माण गरेर पछि भुक्तानी लिइनेछ।