नारायणगढ–मुग्लिन सडकमा पहिरो रोक्ने काम अन्तिम चरणमा, डेढ महिना रोकिएर फेरि हुँदैछ काम

रासस
२०७७ जेठ २४ गते १०:०५ | Jun 6, 2020
नारायणगढ–मुग्लिन सडकमा पहिरो रोक्ने काम अन्तिम चरणमा, डेढ महिना रोकिएर फेरि हुँदैछ काम

   

Tata
GBIME
Nepal Life

भरतपुर। नारायणगढ–मुग्लिन सडकमा पहिरो रोक्ने काम अन्तिम चरणमा पुगेको छ। अहिलेसम्म ८४ प्रतिशत काम सम्पन्न भएको नारायणगढ–मुग्लिन सडक आयोजनाले जनाएको छ।     
     
लकडाउनले डेढ महिना रोकिएको काम पुनः थालिएको हो। 'अहिले धमाधम काम भइरहेको छ,' आयोजनाका सूचना अधिकारी इञ्जिनियर शिव खनालले भने, असारभित्रै पूरा हुन्छ ।' कामदारको समस्या भए पनि स्थानीयस्तरबाट व्यवस्थापन गरेर पहिरो रोक्ने कामलाई निरन्तरता दिइएको उनले बताए।     
     
उनका अनुसार उक्त सडकखण्डका नौ ठाउँमा पहिरो रोक्नका लागि तार र रडलगायतका सामग्री प्रयोग गरिएको छ। सडकखण्डको १५ किलो, १८ किलो, घुमाउने, भालुढुंगा, जलवीरे, चारकिलो, टोपेखोला र कालिखोला नजिक पहिरो रोकथामको काम भइरहेको छ। नयाँ प्रविधिको प्रयोग गरेर ‘रकनेटिङ’, ‘बोल्टिङ’ र ‘बायो इञ्जिनियरिङ’ प्रविधिबाट पहिरो रोकथामको काम भइरहेको उनले बताए।

निर्माण कम्पनीले ३० हजार वर्गमिटर क्षेत्रमा पहिरो रोकथामको काम गर्दैछ। १४ करोड नौ लाख रूपैयाँको लागतमा पहिरो रोक्ने कामको ठेक्का बज्रगुरु हिमशिखर र न्यू टेक्निकल जेभीले पाएका छन्। सामान्य अवस्थामा यो सडक हुँदै दैनिक १० हजार सवारी गुड्छन् ।