एफएनसीसीआई पदाधिकारी बैठकले साधारणसभाको मिति तोक्न सकेन, कार्यसमितिबाट निर्णय हुने

बिजमाण्डू
२०७७ जेठ २३ गते २२:३० | Jun 5, 2020
एफएनसीसीआई पदाधिकारी बैठकले साधारणसभाको मिति तोक्न सकेन, कार्यसमितिबाट निर्णय हुने

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारी बैठक साधारणसभाको मिति तोक्न असफल भएको छ।

शुक्रबार भएको भर्चुअल बैठकमा मिति तोक्न नसकेपछि कार्यसमिति बैठकबाट निर्णय गर्ने टुंगो लागेको छ। महासंघकी अध्यक्ष भवानी राणाले कार्यसमिति बैठकबाट साधारणसभाको मिति तोक्ने जानकारी दिएकी थिइन। ‘म वेटिङ प्रेसिडेन्टसँग छलफल गरेर कार्यसमिति बैठक बोलाउँछु। त्यहीबाट साधारण सभाको मिति तय गरौं,’ उनले भनेकी थिइन।

बैठकमा महासंघका विशिष्ठ सदस्य चण्डी ढकाल, एशोसिएट उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र वस्तुगत उपाध्यक्ष उमेशलाल श्रेष्ठ र कोषाध्यक्ष निरक केसीले असारभित्रै साधारणसभा तोक्न दबाब दिएका थिए। उनीहरुले लकडाउन खोल्न दबाब दिने तर साधारणसभाको मिति तोक्न डराउने काम गर्न नहुने धारणा राखेका थिए।

‘सरकारसँग लकडाउनले उद्योग व्यवसाय तहसनहस भयो भन्ने तर आफ्नै साधारणसभा भने तोक्न डराउनु गलत हो,’ उनीहरुले भनेका थिए, ‘अहिले साधारणसभा गरेर कन्फिडेन्स तयार पार्नुपर्छ।’ तर अर्को पक्ष भने कोरोना संक्रमण बढ्दै गएकाले अहिले साधारणसभा तोक्दा नराम्रो सन्देश जाने भन्दै बाधा अड्काउ फुकाएर केही पछि गर्नुपर्ने धारणा राखेका थिए।