लकडाउन खोल्न निजी क्षेत्रले सरकारलाई दियो दबाब, उद्योगमन्त्रीसँग भने-‘अब भोकले संकट ल्याउँछ’

बिजमाण्डू
२०७७ जेठ २३ गते २१:११ | Jun 5, 2020
लकडाउन खोल्न निजी क्षेत्रले सरकारलाई दियो दबाब, उद्योगमन्त्रीसँग भने-‘अब भोकले संकट ल्याउँछ’

Tata
GBIME
Nepal Life

काठमाडौं। लकडाउनले उद्योग व्यवसाय तहसनहस भएको र रोग भन्दा पनि भोकले ठूलो संकट ल्याउने भन्दै खुला गर्न निजी क्षेत्रले माग गरेको छ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले शुक्रबार निजी क्षेत्रका विभिन्न व्यवसायिक संस्थासँग गरेको छलफलमा तत्काल लकडाउन खुलाउन माग गरेका हुन्। उद्योगमन्त्री भट्टले निजी क्षेत्रबाट लकडाउनको मोडालिटी परिवर्तन गरेर उद्योग व्यवसाय निर्वाध चल्न दिने वातावरण तयार गर्नुपर्ने सुझाव आएको जानकारी दिए।

‘प्रधानमन्त्रीज्यूबाट विभिन्न मन्त्रालयलाई लकडाउनको मोडालिटीका बारेमा छलफल र अध्ययन गरेर ठोस प्रस्ताव दिने आग्रह भए अनुसार हामीले व्यवसायिक संस्थाका पदाधिकारीलाई छलफलमा बोलाएका थियौं,’ उनले बिजमाण्डूसँग भने, ‘उहाँहरुले उद्योगले उत्पादन गरे पनि पसल नखुल्दा बजारीकरणमा समस्या भएको बताउनुभयो। उहाँहरु लकडाउन खुकुलो बनाएर अर्थतन्त्रलाई जीवन्त बनाउनुपर्ने पक्षमा देखिनुभएको छ।’ भट्टले निजी क्षेत्रले सार्क मुलुकको समेत उदाहरण दिँदै त्यहाँ लकडाउन खुकुलो बनाइसकेको बताएको जानकारी दिए। 'उहाँहरुले भारत, श्रीलंका र बंगलादेशको उदाहरण दिँदै लकडाउन खुकुलो बनाएको बताउनुभयो। उहाँहरुको सुझावलाई समेत हामीले लिएका छौं,' उनले भने। 

उनका अनुसार आइतबारसम्म लकडाउनको मोडालिटी परिवर्तन गरेर उद्योग व्यवसाय सहज संचालन गर्न दिनेतर्फ छलफल अघि बढेको छ। ‘उहाँहरुले विश्व स्वास्थ्य संगठन, स्वास्थ्य मन्त्रालयले बनाएको गाइडलाइन मानेर उद्योग व्यवसाय संचालन गर्ने पक्षमा हुनुहुन्छ। हामीले पनि उद्योग व्यवसाय संचालन गर्न दिनेगरि प्रक्रिया अगाडि बढाउन खोजिरहेका छौं,’ भट्टले भने, ‘शनिबारसम्म ठोस प्रस्ताव पेश गरेर आइतबारसम्म केही निर्णय लिनेछौं।’

छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल साना तथा घरेलु उद्योग महासंघलगायतका प्रतिनिधि सहभागी थिए। छलफलमा सहभागी सिएनआइका अध्यक्ष सतिश मोरले लकडाउन खुकुलो नपारे रोगले भन्दा भोकले धेरै प्रभावित हुने बताए।

‘हामीले मन्त्रीज्यूलाई लकडाउन थेग्न सकिँदैन भनेका छौं। अब पनि लकडाउन लम्ब्याउने हो भने बाँच्न सकिदैन,’  उनले भने, ‘अब रोगले होइन भोकले धेरैको ज्यान जान सक्छ। त्यसैले उद्योग व्यवसाय संचालन हुने वातावरण तयार गर्नुपर्छ।’ उनका अनुसार स्वास्थ्य सम्बन्धि सबै मापदण्ड पूरा गरेर अर्थतन्त्रलाई चलायमान बनाउनेतर्फ सरकारले पहल लिनुपर्छ।

छलफलमा सहभागी एफएनसीसीआइका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले समेत लकडाउन खुकुलो नबनाए अर्थतन्त्र उठ्नै नसक्ने अवस्थामा पुग्ने बताएका थिए। ‘लकडाउन मात्रै समाधान होइन। अब यसलाई खुकुलो नबनाए अर्थतन्त्र नै ध्वस्त भएर मुलुक ठूलो संकटमा फस्नेछ,’ उनले भनेका थिए, ‘कोरोनाको त्रासबाट बाहिर निस्किएर जनजीवनलाई सामान्य बनाउँदै लैजानुको विकल्प छैन।’

चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले कोरोना संक्रमण निमिट्यान्न हुने संकेत नदेखिएकाले 'जोनिङ' गरेर लकडाउन खुकुलो बनाउनुपर्ने सुझाव दिएका थिए। 'कोरोना संक्रमण तत्कालै रोकिने अवस्था छैन। संक्रमणकै बीचमा विभिन्न मुलुकले विभिन्न मोडालिटीमा उद्योग व्यवसाय चलाएर अर्थतन्त्रलाई चलायमान बनाइसकेका छन,' उनले बिजमाण्डूसँग भने, 'अब पनि हामीले लकडाउन नै गरिरहने हो भने भोकमरीले हामीलाई ठूलो संकटको भूमरीमा पार्ने निश्चित छ।'

उनले चेम्बरले लकडाउनको केही सातामै जोन तोकेर अर्थतन्त्रलाई चलायमान बनाउन सुझाव दिएको स्मरण गराउँदै त्यही आधारमा लकडाउन खुकुलो बनाएर मुलुकलाई संकटबाट बाहिर निकाल्नेतर्फ ध्यान दिनुपर्ने बताए।