लकडाउनका बेला ९२ करोड ७० लाखको विदेशी उद्योगको लगानी स्वीकृत, स्वदेशी ४ थपियो

बिजमाण्डू
२०७७ जेठ २३ गते १६:१८ | Jun 5, 2020


काठमाडौं। उद्योग विभागले गत एक महिनामा विभिन्न ११ वटा उद्योगमा ९२ करोड ७० लाख विदेशी लगानी स्वीकृति गरेको छ।

Tata
GBIME
Nepal Life

विभागले ४ वटा नयाँ उद्योगमा १ अर्ब ८२ करोड २० लाख रुपैयाँ स्वदेशी लगानी गरी कुल २ अर्ब ७४ करोड ९० लाख रुपैयाँ लगानी स्विकृत गरेको हो। 

विदेशी लगानी सबैभन्दा बढी चीनबाट विभिन्न ७ वटा उद्योगमा ७२ करोड ७० लाख भित्रिएको छ भने भारत, दक्षिण कोरिया नेदरल्याण्ड र मलेशियाबाट ५/५ करोड भित्रिएको छ। 

बन्दाबन्दीका बावजूद लगानी स्वीकृति गरिएको विभागले जनाएको छ। 

मन्त्रालयले औद्योगिक व्यवसाय ऐन, २०७६, को दफा २० मा व्यवस्था भएको औद्योगिक तथा लगानी प्रवर्द्धन बोर्डको काममा सहयोग गर्न आपूर्ती मन्त्री लेखराज भट्टको संयोजकत्वमा उद्योग तथा लगानी क्षेत्रका प्रतिष्ठित व्यक्तिहरु एवं सम्वन्धित क्षेत्रका विज्ञहरु रहने गरी एक उच्चस्तरीय औद्योगिक तथा लगानी नीति मञ्च गठन गरेको छ। 

मञ्चलाई प्रचलित कानुनद्धारा बोर्डलाई तोकिएका कार्यहरुको अतिरिक्त छिमेकी मुलुकहरुको उद्योग तथा लगानी सम्वन्धी व्यवस्थाको अध्ययन गरी सिफारिस गर्ने कार्यादेश दिइएको छ।

यसैगरी उद्योग तथा लगानी प्रवर्द्धनमा देखिएका क्षेत्रगत, प्रकृयागत, प्रविधिगत सुधारका विषय, उद्योग र लगानी प्रवर्द्धनका लागि अर्थतन्त्रमा गर्नुपर्ने सुधार, रोजगारी अभिवृद्धि, उद्योग तथा लगानीको वातावरणीय पक्ष, प्रदेश तथा स्थानीय तहका उद्योग एवं लगानी सम्वन्धी विषयहरुमा बोर्डलाई आवश्यक परामर्श तथा सुझाव दिन कार्यादेश तोकिएको छ।