गाडी आयातबारे भन्सारको प्रष्टिकरणः जेठ १५ अघि ९३ वटा मात्रै विद्युतीय गाडीको जाँचपास

बिजमाण्डू
२०७७ जेठ २३ गते १३:१३ | Jun 5, 2020


काठमाडौं। भन्सार विभागले जेठ १ देखि १४ गतेसम्म  ९३ वटा मात्रै सवारी जाँचपास भएको बताएको छ। अर्थमन्त्रालयले बजेटअगाडि व्यवसायीलाई कर बढेको गोप्य जानकारी चुहाएको आरोप लागेपछि विभागले यसबारे स्पष्टिकरण दिएको हो।

Tata
GBIME
Nepal Life

विभागका अनुसार जेठ ७ गते ७५ वटा,  जेठ १३ गते १६ वटा र जेठ १४ गते २ वटा मात्र विद्युतीय सवारी जाँचपास भएको छ। गतवर्ष पनि जेठमा ५४ वटा विद्युतीय गाडीहरु जाँचपास भएको विभागले जनाएको छ।

भन्सार दररेट जेठ १४ गते राति मात्र यकिन हुने भएकाले जेठ ७ गते आयात भएका गाडीहरु कुनै संकेत पाएर जाँचपास हुने सम्भावना नहुने विभागले बताएको छ।

गतवर्षको भन्दा यसपालि आयात लगभग दोब्बर पुगेकाले यो वर्ष जेठमा ९३ वटा हुनु सामान्य भएको विभागको भनाइ छ।

विभागले सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट वैशाख १६ गते जाँचपास भएका ४५ वटा गाडी चैत्र २५ मा भन्सारमा आइपुगेको बताएको छ। यस्तै, जेठ ७ गते जाँचपास भएका ७५ वटा सवारीसाधन वैशाख ११ गते भन्सारमा आइपुगेका थिए।

बजेट भाषण हुनुअघि जेठ ८ देखि १५ सम्मको सात दिनमा जम्मा १८ वटा मात्र विद्युतीय गाडीहरु जाँचपास भएका छन् । यस्तै, सो अवधिमा पेट्रोलियम गाडीहरु भने ३ सय ४३ वटा जाँचपास भएको देखिन्छ।

बजेट आउने अघिल्लो दिन अर्थात् जेठ १४ गते दुईवटा विद्युतीय गाडी जाँचपास भएका थिए भने पेट्रोलियम गाडीहरु एक सय ७९ वटा आएका थिए।

बजेट प्रस्तुतीको अघिल्लो दिन अर्थात् प्रत्येक वर्षको जेठ १४ गते सामान्यतया धेरै राजस्व संकलन हुने गरेको छ। विभागको तथ्यांकअनुसार गत जेठ १४ गते एक अर्ब ७२ करोड राजस्व संकलन भएको थियो भने अघिल्लो वर्षको सोही दिन (१४ जेठमा) दुई अर्ब १५ करोड र २०७५ जेठ १४ मा दुई अर्ब १९ करोड राजस्व उठेको तथ्यांक छ।