कोरोना महामारीले भारतीय बैंकहरुको खराब कर्जा ११.६% ले बढ्ने, यस्तो छ इक्राको प्रतिवेदन

बिजमाण्डू
२०७७ जेठ २३ गते ११:२१ | Jun 5, 2020

Tata
GBIME
Nepal Life

 चालु आर्थिक वर्षमा ८.६ प्रतिशत रहेको भारतीय बैंकहरुको खराब कर्जा आगामी आर्थिक वर्षमा ११.३ देखि ११.६ प्रतिशतसम्म पुग्ने बताइएको छ।

रेटिङ एजेन्सी इक्राको अध्ययन प्रतिवेदनअनुसार आगामी दिनमा बैंकहरुको कर्जाको प्रावधान बढ्ने देखिन्छ। आर्थिक वर्ष सन् २०२०/२१ को अवधिमा फ्रेस ग्रस स्लिपेजेज ५.५५ प्रतिशत हुने अनुमान इक्राले गरेको छ, जसको सिधा प्रभाव बैंकहरुको आम्दानीमा पर्ने देखिन्छ।

कोरोना महामारीको कारण बैंकिङ कारोबारमा प्रत्यक्ष असर परेको र आर्थिक गतिविधि न्यून भएकाले खराब कर्जा अझ बढ्न सक्ने इक्राको प्रतिवेदनमा उल्लेख छ।  

कर्जाको गुणस्तर र नाफाको अवस्थामा वृद्धिमा देखिने स्ट्रेसका कारण चालु वित्तीय वर्षमा सरकारी स्वामित्वका बैंकहरुलाई थप पुँजीको जोहो गर्नुपर्ने अवस्था देखिन्छ।

इक्राका वित्तीय सेक्टर रेटिङ प्रमुख अनिल गुप्ताका अनुसार भारतको केन्द्रीय बैंकले ऋणीहरुलाई सहुलियत दिँदै आगामी अगस्टसम्मका लागि ऋण तिर्ने अवधि थपिदिएको छ। यसको असर आगामी वित्त वर्षको तेस्रो वा चौथो त्रैमासको नतिजामा देखिनेछ।

लकडाउनका कारण गतिविधिमा बन्देज लगाइएको कारण ऋणीहरुको तिर्ने क्षमतामा पनि प्रभाव परेको छ। लकडाउन खुकुलो बनाएपछि देखिने आर्थिक गतिविधिको अवस्था पछि नै बैंकहरुको कर्जामा पर्ने निर्णायक प्रभाव थाहा हुने अध्ययनमा छ।  सरकारी बैंकहरुले कर्जा प्रावधानलाई भने निरन्तर नै राख्नेछन्।

निजी क्षेत्रका बैंकहरुको नाफा पनि औसत हुनेछ जहाँ लाभांश (रिटर्न अन इक्विटी) घटेर ३.५ देखि ५.१ प्रतिशतसम्म हुने अनुमान गरिएको छ। यसअघि यसमा १० देखि १२ प्रतिशत सुधारको अनुमान गरिएको थियो।

गुप्ताले भने 'सन् २०२०/२१ मा सरकारी बैंकको क्रेडिट ग्रोथ ३ देखि ४ प्रतिशतमा रहेपनि पुँजीको अपर्याप्तता तथा ऋणको गुणस्तर तथा नाफामा देखिने स्ट्रेसका कारण हामीले सरकारी बैंकहरुलाई ४५ देखि ८२५०० करोड भारु सम्म थप पुँजी आवश्यक पर्ने अनुमान गरेका छौं।'