बिराटनगरमा भ्वाइस फर चेन्जले गर्‍यो व्यवसायीबीच एकताको आह्वान, ‘सबै मिलेर बजार खोलौं’

अनन्तराज न्यौपाने/बिजमाण्डू
२०७७ जेठ २२ गते १३:५१ | Jun 4, 2020


विराटनगर। विराटनगरमा परिवर्तनका लागि आवाज (भ्वाइस फर चेन्ज) नामको संस्थामार्फत लकडाउनको विरोधमा व्यवसायी संगठित भएका छन् ।

Tata
GBIME
Nepal Life

भ्वाइस फर चेन्जमा आबद्ध व्यवसायीले बिहीबार विराटनगर बजारमा जुलुस प्रदर्शन गर्दै प्रमुख जिल्ला अधिकारी मदन भुजेललाई ज्ञापनपत्रसमेत बुझाए।

संस्थाको विज्ञप्तिमा विराटनगरमा उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ, विराट व्यापार संघ, खुद्रा व्यापार संघ, वस्तुगत संघ आदि अनेकन संघ–संस्थामा उद्योगी व्यापारी विभाजित भएको चर्चा गरिएको छ।

‘समय कस्तो आएको छ भने सबै संघसंस्था एकै ठाउँमा उभिएर एउटै आवाजका साथ अगाडि बढ्नु परेको छ । अनि मात्र हाम्रो आवाज बुलन्द हुन्छ र हामी सबै सरकारको यो तानाशाही प्रवृत्तिको घोर विरोध गर्न सक्छौं,’ विज्ञप्तिमा उल्लेख छ।

उनीहरुले खाद्यान्न, औषधि, कृषि, पेट्रोल पम्प, सर्भिसिङ र रिपेयरसम्बन्धी व्यवसाय हरेक दिन खोल्न पाउनुपर्ने माग गरेका छन्।

संस्थाले इलेक्ट्रिक, इलेक्ट्रोनिक, पाठ्य सामग्री, कपडा, जुत्ता तथा फैन्सी पसलहरू जोर दिन र सुनचाँदी, फर्निचर, मोटरगाडी तथा मसलन्द व्यवसाय बिजोर दिन खोल्न पाउनुपर्ने माग गरेको छ।

विज्ञप्तिमा विद्युतमा लाग्ने डिमान्ड चार्ज पूर्ण मिनाहा गर्न र घर–गोदामको भाडामा ५० प्रतिशत छुट गर्न आग्रह गरिएको छ।
त्यस्तै वार्षिक नवीकरण गरिनुपर्ने सबै खाले कर तथा सेवा शुल्क मिनाहा गरिनुपर्ने पनि माग गरिएको छ।

‘राहत प्याकेजमा केवल १ करोडमुनि कारोबार गर्ने उद्योगी व्यवसायीलाई मात्र नभएर सम्पूर्णलाई सोही अनुपातमा समेटिनु पर्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकारअन्तर्गतका विभिन्न व्यवसायहरू घाटामा देखाउन मिल्ने अवस्थामा उद्योग व्यवसायले पनि आ–आफ्नो व्यवसाय घाटामा रहे नेगेटिभ वासलात पेश गर्न पाइनु पर्छ।’

पत्रमा उद्योगी–व्यवसायीले तिर्नुपर्ने सम्पूर्ण करहरू लकडाउन सकिएको दिनले तीन महिना म्याद थप गरी तिर्न मिल्ने सुविधा हुनुपर्ने माग गरिएको छ।