क्वारेन्टाइनमा जनता भोकभोकै, संसद बैठक सञ्चालन खर्च भने बढेकोबढ्यै, लकडाउनपछि अझ धेरै

बिजमाण्डू
२०७७ जेठ २२ गते ११:२४ | Jun 4, 2020
क्वारेन्टाइनमा जनता भोकभोकै, संसद बैठक सञ्चालन खर्च भने बढेकोबढ्यै, लकडाउनपछि अझ धेरै



काठमाडौं। जनता भोकभोकै क्वारेन्टाइनमा मर्ने अवस्था आइरहँदा संसद बैठकको खर्च भने बढेको छ। कोभिड–१९ को संक्रमण रोकथामका लागि सतर्कता अपनाउँदा संघीय संसद बैठकको सञ्चालन खर्च बढेको हो।

Tata
GBIME
Nepal Life

कोभिड-१९ को संक्रमणको जोखिमबाट बच्न र बचाउनका लागि सामाजिक दुरी कायम गर्नुपर्ने तथा २५ जनाभन्दा धेरै भेला हुन नपाइने सरकारको निर्णयका बावजुद संघीय संसदको छैटौं अधिवेशन चलिरहेको छ। 

कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनकै समयमा सुरु भएको संघीय संसदको छैटौं अधिवेशन सञ्चालनका लागि सामाजिक दुरी कायम गर्न गरिएको सिट व्यवस्थापन र फर्निचर मर्मतलगायत केही प्राविधिक शीर्षकमा थप लागत बढेको हो।

त्यसैगरी बैशाख २६ गतेदेखि सुरु भएको संघीय संसदको छैटौं अधिवेशनका बैठक सञ्चालनका लागि अपनाउनुपर्ने स्वास्थ्य सर्तकतामा भएको खर्च लगायतले प्रतिदिन बैठक सञ्चालन लागत बढाएको हो। 

सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले समान्य अवस्थामा प्रतिदिन प्रतिबैठक ७ लाख रुपैयाँ खर्च हुने गरेकोमा अहिले १ लाख ५० हजार रुपैयाँले प्रतिबैठक लागत बढेको बताए। 

अहिले संघीय संसद बैठक खर्च प्रतिदिन ८ लाख ५० हजारसम्म पुगेको छ। यो बैठक कार्यकक्ष सरसफाइ, प्रविधि जाँच, सुरक्षा प्रबन्ध, प्रत्यक्ष प्रसारणको चेकजाँच, जनशक्ति परिचालन, संसद भवनको वार्षिक भाडा, बिजुली, पानी, सांसदहरुको बैठकभत्ता र यातायात खर्च लगायत कोरोनाको सुरक्षामा अपनाइएका स्वास्थ्य सर्तकमा भएको खर्चहरुको एकमुष्ट रकम हो। तर यसमा सांसदहरु, बैठक सञ्चालनका लागि आवश्यक सचिवालयका कर्मचारी, मर्यादापालक तथा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका गरि झण्डै ८ सय जनाको कोरोना पिसिआर परीक्षण वापतको खर्च समावेश नभएको प्रवक्ता पाण्डेले बताए।

उनले अहिले कोभिडको कारणले हलमा थप खर्चहरु गर्नुपरेको बताए। संसदीय समितिहरुको बैठक बस्न थालेपछि खर्च अझ बढ्ने उनले दाबी गरे। 

सचिवालयले सामाजिक दुरी कायम गरि बैठकको सिट व्यवस्थापनको संरचना, फर्निचर मर्मत तथा ५० थान माइक थप गर्दा ३० लाख रुपैयाँ खर्च भएको जनाएको छ। त्यसैगरी थर्मल गन २० थान, पिपिई ५ थान, एन-९५ मास्क २५ थान, केही सर्जिकल मास्क, सेनिटाइजर, साबुन तथा डिसइन्फेक्सनका सामाग्री खरिदमा ५ लाख थप खर्च भएको जनाएको छ। उनले कोभिड-१९ संक्रमणको अवस्था लम्बिदै गएमा विषयगत समिति सञ्चालनका लागि पनि सामाजिक दुरी कायम गर्ने गरि हल र सिट व्यवस्थापन गर्नुपर्ने भएमा बैठक सञ्चालन खर्च थप वृद्धि हुने बताए।