विद्युतीय गाडीमा चर्को कर बारे आलोचना भएपछि अर्थमन्त्रालय लचिलो, व्यवसायीसँग वार्ता गर्न तयार

बिजमाण्डू
२०७७ जेठ २१ गते १९:५० | Jun 3, 2020
विद्युतीय गाडीमा चर्को कर बारे आलोचना भएपछि अर्थमन्त्रालय लचिलो, व्यवसायीसँग वार्ता गर्न तयार

Tata
GBIME
Nepal Life

काठमाडौं। विद्युतीय गाडीको कर वृद्धिको चर्को आलोचना भएपछि अर्थमन्त्रालय व्यवसायीसँग केही लचिलो भएको छ।

बजेटमार्फत विद्युतीय गाडीमा चर्को कर लगाएपछि अर्थमन्त्री डा. युवराज खतिवडाको आलोचना संसददेखि सर्वसाधरणसम्मले गरेपछि व्यवसायीसँग छलफलमा बस्न अर्थमन्त्रालय तयार देखिएको हो।

नेपाल उद्योग वाणिज्य महासंघ उद्योग समितिका सभापति एवं लक्ष्मी हुण्डाई ग्रुपका कार्यकारी निर्देशक अञ्जन श्रेष्ठले विद्युतीय गाडीको करको दर वृद्धिका बिषयमा छलफल गर्न अर्थमन्त्रालय तयार भएको बताए।

‘अर्थसचिव शिशिर ढुंगानाज्यूले नै विद्युतीय गाडीको करका बारेमा छलफल गर्न तयार रहेको बताउनुभएको छ। हामीले यसलाई सकारात्मक रुपमा लिएका छौं’ श्रेष्ठले बिजमाण्डूसँग भने, ‘विद्युतीय गाडीको युग सुरु हुन लागेका बेला अस्वभाविक रुपमा कर लगाउँदा त्यसले राज्यलाई नै नोक्सानी हुने भएकाले सरकारले पुनर्विचार गर्ने अपेक्षा लिएका छौं।’

अर्थमन्त्री खतिवडाले संसदमा पेट्रोलियम खपत कम गर्न आयात खुकुलो पारिएपनि महँगा गाडी ल्याउँदा विदेशी मुद्रामा चाप परेकोले कर बढाउनु परेको प्रष्टीकरण दिएका थिए।