पर्यटन उद्योग विशेष उद्योगमा समेटियो, कामदारको सीमालाई झारियो, तरकारीको भन्सार बढ्यो

बिजमाण्डू
२०७७ जेठ २१ गते ०९:४१ | Jun 3, 2020
पर्यटन उद्योग विशेष उद्योगमा समेटियो, कामदारको सीमालाई झारियो, तरकारीको भन्सार बढ्यो


काठमाडौं। सरकारले क्यासिनो बाहेक का पर्यटन उद्योगलाई विशेष उद्योगमा राखेको छ। उनीहरुले रोजगारी सृजना गर्ने संख्यालाई घटाइएको छ।

Tata
GBIME
Nepal Life

आयकर ऐनमा संशोधन गर्दै सरकारले पर्यटन क्षेत्रलाई विशेष उद्योगमा समेटेको हो। एक अर्ब रुपैयाँभन्दा बढीको पुँजी लगानीमा स्थापना हुने र ५ सयभन्दा बढीलाई वर्षभरी नै प्रत्यक्ष रोजगारी प्रदान गर्ने विशेष उद्योगलाई कारोबार सुरु गरेको मितिले ५ वर्षसम्म पूर्ण रूपमा आयकर छुट दिइ त्यसपछिको ३ वर्षसम्म लाग्ने करको ५० प्रतिशत कर लिइने पुरानो ब्यवस्थालाई संशोधन गरिएको छ।

अब २ अर्ब लगानी र ३ सय कामदार भएका पर्यटन उद्योगले यस्तो छुट पाउने छन्।

सरकारले जलस्रोत ऐन २०४९ बमोजिम दर्ता भएका खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले आर्जन गरेको आयमा पनि छुट दिएको छ। 

सरकारले पूर्वाधारमा विदेशी लगानी बढाउन पनि केही आयकरमा छुटको प्रबन्ध मिलाएको छ। पहिले ट्राम्प वा ट्रली बस सञ्चालन गरेमा २० प्रतिशत छुट थियो। रोपवेमा २० प्रतिशत थियो। विमानस्थलवालामा ४० थियो। 

अब यस्ता परियोजनामा १० वर्षसम्म लाग्ने करमा छुट हुने छ। ट्राम्प वा ट्रली बस सञ्चालन गरेमा ४० प्रतिशत, रोपवे, केबलकार, आकाशेपुल निर्माण गरी सञ्चालन गरेमा ४० प्रतिशत, सडक पुल सुरुङमार्ग टनेल रेल्वे विमानस्थल निर्माण गरी सञ्चालन गरेमा ५० प्रतिशत छुट हुने छ।

लघु उद्यमलाई ब्यवसाय वा कारोबार सुरु गरेको मितिले ५ वर्षसम्म आयकर छुट पूर्ण रूपमा छुट हुने ब्यवस्थालाई संशोधन गरी ७ वर्षसम्म छुट दिने ब्यवस्था गरिएको छ। महिलालाई थप २ वर्ष छुट हुनेमा थप एक वर्ष बढाएर ३ वर्ष पुर्‍याइयो। यसो हुँदा महिलाले १० वर्ष कर छुट पाउँछन्।

केही वस्तुहरुमा भन्सार बढाइएको छ भने केहीमा घटाइएको छ। बच्चाहरुलाई खानाका रूपमा खुवाउन मिल्ने दुधमा पहिलोपटक भन्सार लगाइएको छ। अब यसमा ४० प्रतिशत भन्सार लाग्ने छ।

कृषि उत्पादन आयातमा कडाइ गर्न खोजिएको छ। अनार, लिची, पिपला, सुकेको तथा पिँधेको खुर्सानीमा १० प्रतिशत भन्सार लगाइएको छ। तरकारीको बिउमा पनि पहिलोपटक १० प्रतिशत भन्सार लगाइएको छ। काउली, बन्दाकोपीमा पनि १० प्रतिशत भन्सार बढाइएको छ। प्याज, मुलामा पनि भन्सार लगाइएको छ। 

प्राकृतिक महको मिश्रण, रासायनिक रूपमा शुद्ध रहेको माल्टोजमा भन्सार लगाइएको छ। चकलेटमा लाग्दै आएको ४० प्रतिशतको भन्सार दरलाई ३० प्रतिशतमा झारिएको छ। धानको भुजा, चिउरा, केक, कुकिज, पेस्ट्रीमा पनि भन्सार ४० प्रतिशत लगाइएको छ। यो पहिलोपटक लगाइएको भन्सार हो। सुर्तीरहित सुगन्धित सुपारीको भन्सार ४० बाट ५० प्रतिशत प्रतिकिलो पुर्‍याइएको छ। वाइन, ब्रान्डी, ह्विस्की, भोड्का, जिनको कच्चा पदार्थमा लाग्ने भन्सार दर पनि ह्वात्तै बढाइएको छ। 

कपालमा लगाउने तेल, रङ, क्रिम, कन्डिसनरमा पनि भन्सार १५ बाट २० प्रतिशत पुर्‍याइएको छ। लुंगी, धोती, साडीको भन्सार दर पनि बढाइएको छ। 

ससेजको अन्तःशुल्क १० बाट ५ प्रतिशतमा झारिएको छ। मासुमा पनि अन्तःशुल्क घटाइएको छ। विदेशबाट ल्याइने सी-फुड लगायतको पनि अन्तःशुल्क झारिएको छ। सुर्तीरहित पानमसलाको अन्तःशुल्क प्रतिकिलो ४० रुपैयाँले घटाएर ६१० रुपैयाँमा झारिएको छ। कपालमा लगाउने कन्डिसनरको अन्तःशुल्क १० बाट ५ प्रतिशतमा झारिएको छ। पर्फ्युमको अन्तःशुल्क पनि १० बाट ५ प्रतिशतमा झारिएको छ।