अर्थमन्त्रीले बढाए गहुँको भन्सार, बीउमा प्रयोग हुनेको दर यथावत, भन्सार रोकिए गाडी

अनन्तराज न्यौपाने/बिजमाण्डू
२०७७ जेठ १७ गते २०:५५ | May 30, 2020
अर्थमन्त्रीले बढाए गहुँको भन्सार, बीउमा प्रयोग हुनेको दर यथावत, भन्सार रोकिए गाडी

Tata
GBIME
Nepal Life

विराटनगर। नयाँ बजेटसँगै भन्सार कार्यालयले नौ प्रतिशत भन्सार लिन थालेपछि गहुँ आयात प्रभावित भएको छ। वीरगंज र विराटनगर भन्सार कार्यालयबाट गहुँको आयात प्रभावित भएको हो। 

अर्थमन्त्री डा युवराज खतिवडाले बीउ र औद्योगिक उत्पादनका लागि ल्याउने गहुँको भन्सार मूल्य फरक बनाए। यसअघि गहुँ आयात गर्दा पाँच प्रतिशत मात्रै भन्सार लाग्थ्यो। तर अर्थमन्त्रीले औद्योगिक प्रयोजनका लागि आउने गहुँको एचएस कोड नै परिवर्तन गर्दै ९ प्रतिशत र बीउ गहुँको पाँच प्रतिशत नै कायम गरेपछि आयात प्रभावित भएको हो।

विराटनगर भन्सार कार्यालयले बढी भन्सार महसुल तोकेको भन्दै मोरङ–सुनसरीका मैदा मिलहरूले आयात गरेका गहुँ बोकेका २५ वटा ट्रक शनिबारदेखि नाकामा रोकिएका छन्। मोरङ व्यापार संघका पूर्व अध्यक्ष पवनकुमार शारडाका अनुसार भन्सार कार्यालयले गहुँको बीउमा तोकिएको भन्सार महसुल उद्योगमा प्रयोग गरिने गहुँको आयातमा लिने भएपछि गहुँका ट्रक नाकामै रोकिएका हुन्।

गहुँको पैठारी २ वटा हार्मोनी कोडमा गरिन्छ। उद्योगमा प्रयोग गरिने गहुँको हार्मोनी कोड १९.०० र बीउमा प्रयोग गरिने गहुँको हार्मोनी कोड ९९.०० हो। जेठ १५ मा प्रस्तुत बजेटभन्दा पहिले दुवै हार्मोनी कोडका गहुँको भन्सार मूल्यांकन ५ प्रतिशत थियो। तर जेठ १५ मा प्रस्तुत नयाँ आर्थिक ऐनले हार्मोनी कोड १९.०० को गहुँको ५ प्रतिशत र हार्मोनी कोड ९९.०० को गहुँको ९ प्रतिशत निर्धारण गरेको छ । उद्योगीले बीउ गहुँको भन्सार मात्रै बढेको जिकिर गर्दै आयात गर्न मानिरहेका छैनन्।

‘भन्सार कार्यालयले हार्मोनी कोड ९९.०० भएको बीउको गहुँको भन्सार महसुल कारखानाका लागि प्रयोग हुने गहुँमा लगाउन खोजिरहेको छ,’ न्यूट्री फुड प्रालिका सञ्चालक प्रदीप शारडाले भने, ‘हामीले विगतमा पनि भन्सार कार्यालयबाट हार्मोनी कोड १९.०० मा कारखानाका लागि गहुँ छुटाउँदै आएका हौं। तर भन्सार कार्यालयले हठात् हामीसित हार्मोनी कोड ९९.०० राखेर महसुल असुल गर्न खोजिरहेको छ।’

उद्योगी शारडाले नेपालमा उत्पादित गहुँले देशभित्रका उद्योगको १ महिनाको मागमात्र धान्न सक्ने बताए। उनले आफ्नो ७ ट्रक गहुँ भन्सारमा रोकिएको जानकारी दिए। मोरङ व्यापार संघका उपाध्यक्ष एवम् विशाल मैदा मिलका सञ्चालक विकास बेगबानीले आफ्नो ३ ट्रक गहुँ रोकिएको र उद्योगले १० ट्रक गहुँको अर्डर रद्द गर्नुपरेको उल्लेख गरे।

उपाध्यक्ष बेगबानीले भने, ‘आटा र मैदाको भन्सार महसुल पनि ९ प्रतिशत नै छ। कच्चा पदार्थ गहुँको पनि ९ प्रतिशत नै लिन थालिएको छ। हार्मोनी कोड परिवर्तन गरेर भन्सार महसुल बढाइएको छ । बीउको हार्मोनी कोडलाई कच्चा पदार्थमा ल्याएर इम्पोज गरिएको छ।’ उनले प्रश्न गरे, ‘अर्थमन्त्रीज्यूद्वारा प्रस्तुत आर्थिक ऐनले कच्चा पदार्थ र उत्पादित वस्तुको भन्सार महसुलमा कम्तीमा एक तह अर्थात् ५ प्रतिशतको अन्तर हुने सिद्धान्त अङ्गीकार गरेको छ। त्यो सिद्धान्त अनुसार त ४ प्रतिशतमा गहुँ छुट्नु पर्ने हो। किन आर्थिक ऐनकै विपरीत गहुँको भन्सार महसुल लिन खोजिएको छ ?’

‘भन्सार महसुल ९ प्रतिशत तिरेर गहुँ पैठारी गर्ने हो भने नेपालका कुनै पनि मैदा मिल चल्न सक्तैनन्,’ बेगबानीको जिकिर छ, ‘नेपालका ४२ वटा ठूला मैदा मिल र १ सय ५० भन्दा बढी साना आटा मिल बन्द हुनेछन्। सानाठूला गरी लगभग २ सय उद्योग बन्द हुँदा हजारौंले रोजगारी गुमाउनेछन्।’

उनले ९ प्रतिशतमा गहुँ पैठारी गर्नुभन्दा ९ प्रतिशतमा मैदा र पिठो आयात गर्नु नै सस्तो पर्ने बताए। उनले भने, ‘नयाँ भन्सार मूल्यअनुसार गहुँ पैठारी गरेर उद्योग चलाउने हो भने नेपालको मैदा महँगो हुन्छ। अनि यहाँका बिस्कुट र चाउचाउ उद्योगले भारतबाट नै मैदाको आयात गर्नेछन्।’ गोमती फुड्स प्रालिका सञ्चालक हरिवंश राठीले पनि आफ्नो उद्योगले आयात गरेको ६ ट्रक गहुँ शनिबारदेखि भन्सार परिसरमा रोकिएको बताए।

उद्योगपति राठीको भनाइ छ, ‘हामी ९ प्रतिशत भन्सार महसुल तिरेर ल्याएको गहुँबाट उद्योग चलाउन सक्तैनौं । बरु उद्योग नै बन्द गर्छौं।’
उनले कच्चा पदार्थ र उत्पादित वस्तुको भन्सार महसुलमा कम्तीमा ५ प्रतिशतको फरक हुने भन्ने अर्थमन्त्रीको घोषणाले हावा खाएको हो भन्दै असन्तोष व्यक्त गरे।

बाबा फ्लोर मिलका सञ्चालक सुरेश राठीका अनुसार उनको उद्योगले बजेट भाषणको भोलिपल्ट जेठ १६ गते शुक्रबार ५ प्रतिशत महसुल तिरेर नै गहुँ पैठारी गरेको थियो। तर जेठ १७ गते शनिबारका दिन थप ४ प्रतिशतले हुने महसुल तिर्न भन्सार कार्यालयले पत्र पठाएको छ। विराटनगर भन्सार कार्यालयका प्रमुख शिव भण्डारीले भन्सार विभागको निर्देशनमा देशका सबै भन्सार कार्यालयले गहुँको आयात शुल्क ९ प्रतिशत नै लिन थालेको स्पष्ट पारे।

प्रमुख भण्डारीको भनाइ थियो, ‘जेठ १५ भन्दा अघि जे भएको थियो त्यही अहिले हुनुपर्छ भन्ने छैन। अहिले हामीले नयाँ निर्देशन पाइसकेका छौं । त्यसैले गहुँको आयात शुल्क ९ प्रतिशतले नै असुल गर्छौं।’ 

मुद्दा हाल्ने तयारी
वीरगंजको औद्योगिक घाराना रुगंटा समुहको ओम फ्लोरले वीरगंज भन्सार एवं अर्थमन्त्रालयलाई विपक्षी बनाएर मुद्दा हाल्ने तयारी गरेको छ।

भारतबाट गँहु आयातमा गैरकानुनी तवरले अर्कै एचएस कोडबाट राजस्व असुल्न थालेपछि मुद्दा हाल्ने तयारी भएको रुगंटा समुहका उद्योगी नारायण रुगंटाले बताए।

जेठ १६ गते वीरगंज भन्सारबाट ओमफ्लोरको २ वटा गहुँ बोकेको ट्रक पुरानै एचएस कोडमा ५ प्रतिशतकै भन्सार महसुलमा जाँचपास भएर भन्सार नाकाबाट निस्किदै गर्दा भन्सार कर्मचारीले गेटबाट निस्किने गाडीलाई रोकेर फिर्ता गराएको बताउँदै उनले त्यसपछि प्रज्ञापन पत्रमा सहीछाप गरिएको भाग पनि च्यातिदिएको जिकिर गरे। गहुँको भन्सार ९ प्रतिशत भएमा मैदा र आटाको मूल्य किलोमै दुई रुपैयाँ बढ्ने उनले बताए।