तरकारी सस्तिँदा किसान चिन्तित, टिस्टुङ-पालुङमा मुला २ र काउली ५ रुपैयाँ प्रतिकिलो  

सरला सुवेदी/बिजमाण्डू
२०७७ जेठ १७ गते २०:१४ | May 30, 2020
तरकारी सस्तिँदा किसान चिन्तित, टिस्टुङ-पालुङमा मुला २ र काउली ५ रुपैयाँ प्रतिकिलो  

Tata
GBIME
Nepal Life

                         फाइल तस्विर

काठमाडौं। लकडाउनका सुरुवाती सातामा ढुवानी असहज हुँदा महंगिएको तरकारी विस्तारै सस्तो भएर किसानलाई लागत नै उठाउन नसक्ने अवस्थामा पुर्‍याएको छ।

गत सातादेखि तरकारीको भाउ अप्रत्याशितरूपमा घटेको छ। बजारमा भारतीय तरकारीको आयात निकै घटेर स्वदेशी उत्पादन नै छन्। लकडाउनमा ठूलो जनसंख्या उपत्यकाबाट बाहिरिनु र धेरै खपत हुने होटल-रेस्टुरेन्ट पनि बन्द हुनुले बिक्री घट्नुको असर तरकारीको मूल्यमा परेको हो।

आलु, मुला, बन्दाकोपी, लसुन, प्याज, भेँडे खुर्सानी, गाजर, काउली, ब्रोकाउली र हरिया सागपात सबैको भाउ घटेको छ। उपत्यकामा काभ्रे, धादिङ र मकवानपुरबाट धेरै तरकारी भित्रिन्छ। बिक्री घट्दै जाँदा तरकारी संकलन केन्द्रहरूमा किसान चिन्तित भेटिन थालेका छन्। 

मकवानपुरको टिस्टुङ-पालुङ चिसो ठाउँ भएका कारण यहाँ फल्ने आलु, काउली, बन्दा र मुला भेडे खुर्सानी उपभोक्ताको रोजाइमा पर्छन्। तरकारी बजारमा पठआउन तयार रहेका बेला यसपटक  बिक्री हुन नसक्दा किसान चिन्तित छन्। कृषि उपजको राम्रो आम्दानी लिँदै आएका किसानका बारीमा यसपटक व्यापारी पुगेका छैनन्।

हाल टिस्टुङ-पालुङमा मा आलु प्रतिकेजी २० रुपैयाँ, काउली ५ रुपैयाँ, बन्दा ४ रुपैयाँ र मुला २ रुपैयाँमा बिक्री गरिरहेको स्थानीय किसान प्रतीक गोपालीले बताए। 'यहाँको तरकारी काठमाडौं, विराटनगर ,पोखरा, हेटौडा र वीरगंज लगायतका ठाउँमा जाने गरेको छ,' उनले भने, ;यतिबेला फलाउनेले लागत उठाउनै नसक्ने अवस्था छ।'

बारीबाट टिपेपछि छिटो नबेच्दा झन भाउ नपाइने भएकाले थोरै मूल्यमा भए पनि बेच्नैपर्ने बाध्यता रहेको उनले बताए। 'मेरो नौ रोपनीमा तरकारी छ, तयार भएको तरकारी टिपेर अर्को बाली लगाउनु पर्छ,' उनले भने, 'बारीमा त्यतिकै छाड्न भएन, बेच्दा लागत पनि उट्ने अवस्था छैन।'

पालुङकै चित्लाङका किसान पनि तरकारी भाउ घट्दा चिन्तामा छन्। 'धमाधम आलु खन्ने बेला भएको छ। तरकारी खेती नै मुख्य पेसा भएको ठाउँलाई लागत परको कुरा बिउ किनेको पैसा समेत नउठ्ने हुनु त बज्र परेजस्तै हो,' स्थानीय रिना बिडारीले भनिन्, 'भाउ नपाएपछि कतिपयले काउली-बन्दा काटेर बाटैमा छाड्न थालेका छन्।'

काठमाडौं उपत्यकामा गत वर्षका तुलनामा चालु वर्ष तरकारीका थोक बजार बढेका छन्। बाहिरबाट कालीमाटी आइपुग्ने तरकारी बिभिन्न स्थानका थोक बजारमा पुग्छन्। त्यहाँबाट खुद्रा बिक्रेताले खरिद गरेर लैजान्छन्। खुद्रा बिक्रेताले खरिदको परिमाण घटाउँदा थोक बिक्रेताले पनि माग घटाइरहेका छन्।

कालीमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिका अनुसार दुइ सातायता खपत निकै घटेको छ। त्यसैले तरकारीको भाउ खस्किएको हो। हाल यहाँ भारतबाट लकडाउन अघिको समयको तुलनामा २० प्रतिशतमात्र तरकारी आयात भइरहेको छ। स्वदेशीमा कृषि उपज पर्याप्त पाइएको छ। थोक व्यवसायीहरू व्यापर घट्नुको मुख्य कारण लकडाउनको अवधिमा उपत्यकाबाट ठूलो संख्यामा उपभोक्ताहरु बाहिरिनुलाई मान्छन्।

उपत्यकाका बिभिन्न स्थानका किसान आफैं पनि आफ्नो बारीका तरकारी बोकेर बेच्न निस्कने क्रम बढ्दा मण्डीबाट थोकमा ल्याएर बेच्ने खुद्रा व्यवसायी हच्किएका छन्।

थोकको मूल्यमा गिरावट आएको आएको छ। कालिमाटी तरकारी बजारमा मूल्य घट्ने बढ्ने भइरहेको छ।  दैनिक उपभोग्य वस्तुमा पर्ने भएकाले कोरोनाको त्रासका बीच पनि कालीमाटी समितिले  थोक बजार संचालन गरिरहेको छ ।

शुक्रबार कालीमाटीको थोक तरकारी बजारमा गोलभेडा प्रतिकेजी २२ रुपैयाँ, आलु ३१ रुपैयाँ, प्याज २५ रुपैयाँ, गाजर १२ रुपैयाँ, काउली १२,  बन्दा ९, बोडी ४२,  मुला १२, घिउ सिमी ३३, करेला १८,  लौका २२ र घिरौंला १२ रुपैयाँ रह्यो।