फलामजन्य चार उत्पादन र एक सहायक कच्चा पदार्थमा थपियो अन्तःशुल्क, निर्माण सामग्री महँगिने

अनन्तराज न्यौपाने/बिजमाण्डू
२०७७ जेठ १७ गते १२:२४ | May 30, 2020
फलामजन्य चार उत्पादन र एक सहायक कच्चा पदार्थमा थपियो अन्तःशुल्क, निर्माण सामग्री महँगिने

Tata
GBIME
Nepal Life

विराटनगर। कतिपय औद्योगिक उत्पादन र कच्चा पदार्थमा लिँदै आएको अन्तःशुल्क हटाइएको घोषणा बजेटमा गरेका अर्थमन्त्री डा. युवराज खतिवडाले फलामजन्य चार उत्पादन र एक सहायक कच्चा पदार्थमा भने अन्तःशुल्क थपेका छन्।

अर्थमन्त्री खतिवडाले फलामबाट उत्पादन गरिने निर्माण सामग्री जिआई वायर, एङ्गल, पट्टी र आई बिम (गर्डर)मा प्रतिकिलो १ रुपैयाँ ६५ पैसाका दरले अन्तःशुल्क थपेका हुन्। अब जिआई वायर, एङ्गल, पट्टी र आई बिमको विक्री गर्दा अन्तःशुल्क पनि असुल गर्नुपर्ने छ। उद्योग संगठन मोरङका पूर्व अध्यक्ष एवं पशुपति आइरनका सञ्चालक अशोक मुरारकाका अनुसार फलामजन्य चार वटा उत्पादनमा मात्र नभई यसको एक सहायक कच्चा पदार्थको आयातमा पनि प्रतिकिलो १ रुपैयाँ ६५ पैसा अन्तःशुल्क लगाइएको छ।

उद्योगपति मुरारकाले फलाम पगाल्न प्रयोग गरिने सहायक कच्चा पदार्थ सिलिकोमेग्निजमा पनि अन्तःशुल्क लगाइएको जानकारी दिए।
आश्चर्य प्रकट गर्दै उनले भने, ‘सिलिकोमेग्निज जस्तो कम आयात हुने सामान्य सहायक कच्चा पदार्थमा किन अन्तःशुल्क लगाइएको हामीले पनि बुझ्न सकेनौं।'

उनले जिआई वायर, एङ्गल, पट्टी र आई बिममा अन्तःशुल्क लागेपछि ती वस्तु अब प्रतिकिलोग्राम २ रुपैयाँले महँगो भएको जानकारी दिए।
‘अन्तःशुल्क प्रतिकिलो १ रुपैयाँ ६५ पैसामा १३ प्रतिशत भ्याट पनि लाग्छ,’ उनले भने, ‘यसरी प्रतिकिलो २ रुपैयाँ जति मूल्यवृद्धि हुन्छ।’
यसको प्रत्यक्ष असर विकास-निर्माण र सर्वसाधारणलाई पर्ने उनले बताए।

उद्योगपति मुरारकाले अर्थमन्त्रीमा खतिवडा आएपछि फलामजन्य निर्माण सामग्रीलाई महँगो बनाउँदै लगिएको प्रतिक्रिया व्यक्त गरे।
गत वर्षको बजेटदेखि टीएमटी रड अर्थात् फलामे डन्डी र बेन्डिङ वायर रड गरी २ वटा उत्पादनमा प्रतिकिलो १ रुपैयाँ ६५ पैसाले अन्तःशुल्क लगाइएको छ। 

उद्योगपति–व्यवसायीले फलामे डन्डी र बेन्डिङ वायर रडमा लगाइएको अन्तःशुल्क हटाइदिन माग गर्दै आएका थिए। तर ती २ वस्तुमा लागेको अन्तःशुल्क हटाउनुको सट्टा आगामी वर्षको बजेटले फलामजन्य थप ४ वटा उत्पादन र त्यसको सहायक कच्चा पदार्थमा समेत अन्तःशुल्क लगाएको छ।

मोरङ व्यापार संघका सचिव एवम् पायनियर केबुलका सञ्चालक अनिल शारडाका अनुसार गत वर्षको बजेटमा जिआई वायरको कच्चा पदार्थ एमएस वायर रडमा मात्र प्रतिकिलो अन्तःशुल्क लगाइएको थियो। उद्योगले उत्पादन गर्ने जिआई वायरमा भने अन्तःशुल्क थिएन। उद्योगले जिआई वायरको भारत निर्यात गर्दै आएका छन्। 

जिआई वायरको कच्चा पदार्थ एमएस वायर रडमा मात्र अन्तःशुल्क लिएर त्यसबाट उत्पादित वस्तु जिआई वायरमा नलिँदा उद्योगपतिले निर्यात गरेपछि पाउनुपर्ने अन्तःशुल्कको फिर्ता पाइरहेका थिएनन्। उद्योगी शारडाले भने, ‘जिआई वायरमा अन्तःशुल्क लगाइए पनि निर्यातपछि हामीले अन्तःशुल्क फिर्ता पाउने भएका छौं। तर स्थानीय बजारमा भने यो वस्तु प्रतिकिलो २ रुपैयाँले महँगो हुने भएको छ।’