दुई ठूला सडक निर्माणका लागि विश्व बैंकसँग ५४ अर्ब ऋण लिने तयारी, यी हुन ऋणमा बनाइने सडक

बिजमाण्डू
२०७७ जेठ १२ गते १७:११ | May 25, 2020
दुई ठूला सडक निर्माणका लागि विश्व बैंकसँग ५४ अर्ब ऋण लिने तयारी, यी हुन ऋणमा बनाइने सडक


Tata
GBIME
Nepal Life

काठमाडौं। सरकारले दुई राष्ट्रिय प्राथमिकताका सडक निर्माणका लागि विश्व बैकसँग ५४ अर्ब रुपैयाँ ऋण लिने तयारी गरेको छ।

सडक विभाग मातहतको विकास सहायता कार्यान्वयन महाशाखाले विश्व बैकसँग सहुलियत ऋण सहायता लिएर दुई सडक आयोजना निर्माण अघि बढाउन लागेको हो। पृथ्वी राजमार्ग अन्तर्गतको नागढुंगा-मुग्लिन र पूर्वपश्चिम राजमार्गको पथलैया-कमला सडक निर्माण अघि बढाउन लागिएको हो।

विश्व बैकको टोली र विकास सहायता कार्यान्वयन महाशाखाबीच सम्झौता हुनेछ। यस अघि विश्व बैकको बोर्डले निर्णय गर्नुपर्छ। बोर्ड बैठक जुनमा बस्दैछ। ऋण दिन विश्व बैक सकारात्मक छ।

'त्यसपछि अर्थ मन्त्रालयसँग ब्याजदरबारे निर्णय हुन्छ। कानुनी पाटोको निर्णय कानुन मन्त्रालयले गर्नेछ,' महाशाखा प्रमुख अर्जुनजंग थापाले भने, 'सबै तयारी सकेर स्वीकृतिका लागि क्याबिनेट पठाइनेछ। त्यहाँबाट स्वीकृत भएर आएपछि अघि बढ्नेछ।' उनका अनुसार मन्त्रिपरिषद्ले स्वीकृति दिएपछि अर्थ मन्त्रालयसँग ऋणको सम्झौता हुन्छ। ऋण सम्झौता सकिएपछि आयोजनाको काम सुरु गर्न टेण्डर निकालिनेछ।

नागढुंगा-मुग्लिन सडक

उपत्यका प्रवेश गर्ने मुख्य मार्गअन्तर्गत नागढुंगा-मुग्लिन सडक पर्छ। यहि सडक भएर ठुला मालवाहक सवारीसाधनहरु चल्छन्। भारतबाट काठमाडौंका लागि आयात गरिने सामान र काठमाडौंबाट निर्यात गरिने सामान यही बाटो बाट ढुवानी हुन्छ। यो राजधानीको लाइफलाइन पनि हो।

यता नागढुंगाबाट काठमाडौंतर्फ सडक विस्तार भइसकेको छ। कलंकीचोक देखि नागढुंगासम्मको सडक उपत्यका सडक विस्तार आयोजनाले स्तरोन्नति गरेको हो। उता मुग्लिनबाट नारायणघाटसम्म पनि सडक विस्तार भइसकेको छ। बीचमा रहेको यो खण्ड भने बाँकी छ।

यो सडक निर्माणाधीन नेपालकै पहिलो नागढुंगा-नौबिसे सुरुङमार्गको दक्षिण भागसँग जोडिन्छ। करिब ९६ किलोमिटर लम्बाइको यो सडकको डिजाइन, ड्रइङ तयार भइसकेको छ। वातावरण प्रभाव मूल्यांकन प्रतिवेदन समेत तयार छ। भारतीय प्राविधिकहरुको सहयोगमा रेट अफ रिटर्नसमेत अध्ययन गरिएको विभागले जनाएको छ।

विकास सहायता कार्यान्वयन महाशाखाका अनुसार हालको विद्यमान सडकलाई स्तरोन्नति गरेर चार लेनमा विस्तार गर्न लागिएको हो। सबै ठाउँमा चार लेनको बनाउन नमिल्ने भूगोल रहेका कारण त्रिशूली पारिसमेत दुई लेन सडक निर्माण हुनेछ। फिस्लिङदेखि विशालटारसम्म विकल्पका रूपमा त्रिशूली पारि सडक निर्माण गर्न लागिएको छ। वारिपारि गर्नका लागि दुइवटा पुल निर्माण हुनेछ।

बजार क्षेत्रमा ६ लेनको बनाउन लागिएको छ। राजमार्ग हिड्ने सवारीसाधनलाई लोकल ट्राफिकका कारण अवरोध नहोस भनेर सर्भिस लेन थप्ने गरि डिजाइन गरिएको हो। ती स्थानमा यात्रुहरुलाई सडक वारपार गर्नका लागि ओभर-हेड ब्रिज निर्माण गरिने छ। चार किलोमिटर उकालो खण्डमा तीन लेनको सडक हुनेछ।

त्यसै गरि २५ वटा नयाँ पुल निर्माण हुनेछन्। अहिलेका विद्यमान पुलको दायाँ वा बायाँ उपयुक्त स्थान हेरेर नयाँ पुल थपिने महाशाखाले जनाएको छ। महाशाखाका अनुसार यो खण्डमा सडक निर्माण गर्नु अत्यन्त चुनौतीपूर्ण छ।

ट्राफिक बढी हुने र रातमा समेत सवारीसाधन चलिरहने भएकाले बन्द गरेर निर्माण गर्न मिल्दैन। बन्द गर्दा उपत्यकाको लाइफलाइन नै बन्द हुन्छ। ट्राफिक नरोकिने गरि कटान र कामहरु गर्नुपर्ने हुन्छ।

यो सडक निर्माण थालेको तीन वर्षमा सक्ने लक्ष्य छ। आगामी वर्षबाट निर्माण सुरु गर्ने तयारी छ।

पथलैया-कमला

सरकारले पूर्व-पश्चिम राजमार्गलाई रुपान्तरणकारी आयोजनामा समावेश गरेको छ। जसलाई पाँच वर्षमा चार लेनमा विस्तार गरिसक्ने लक्ष्य छ।

नारायणगढ-बुटवलको ठेक्का लागेर काम सुरु भइसकेको छ भने कमला-कंचनपुरको ठेक्का मूल्यांकन भएर सम्झौता गर्ने तयारी भइरहेको छ।

राजमार्गको यो खण्ड करिब १३० किलोमिटर लम्बाइको छ। महाशाखाका अनुसार ७६ वटा पुलहरु पर्छ। बागमती, कमला, बकैया लगायतका स्थानहरुको पुलको लम्बाइ लामो छ। डिजाइन अघि बढाउने प्रक्रियामा रहेको विकास सहायता प्रमुख थापाले बताए। उनका अनुसार २ वर्षमा निर्माण सुरु गर्ने गरि डिजाइन अघि बढाउन लागिएको हो।