होटल क्वारेन्टाइनमा बस्दा कति पैसा तिर्नुपर्छ? यस्तो छ होटल संघले दिएको दररेट

बिजमाण्डू
२०७७ जेठ १२ गते १६:५८ | May 25, 2020
होटल क्वारेन्टाइनमा बस्दा कति पैसा तिर्नुपर्छ? यस्तो छ होटल संघले दिएको दररेट


Tata
GBIME
Nepal Life

काठमाडौं।  क्वारेन्टाइन प्रयोजनमा ल्याउन लागिएका होटलको शुल्क स्तर अनुसार दैनिक तीन हजार रुपैयाँदेखि १६ हजार रुपैयाँ दिनुपर्ने होटल संघले सरकारसँग प्रस्ताव गरेको छ।

क्वारेन्टाइनमा बस्ने प्रत्येक व्यक्ति, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कर्मचारी र उनीहरुलाई दिइने सेवा सुविधाको मुल्यांकनको आधारमा शुल्क निर्धारण गरिएको संघका प्रथम उपाध्यक्ष विनायक शाहले जानकारी दिए।

विश्व स्वास्थ्य संगठनको मापदण्ड अन्तर्गतको सेवा सुविधालाई मध्यनजर गर्दै मूल्य निर्धारण गरिएको उपाध्यक्ष शाहले बताए। उनका अनुसार पर्यटक स्तरको होटल क्वारेन्टइनमा प्रति व्यक्ति तीन हजार रुपैयाँ, डबल अकुपेन्सीका लागि पाँच हजार रुपैयाँ र पाँच तारे होटल क्वारेन्टाइनमा प्रति व्यक्ति आठ हजार रुपैयाँ र डबल अकुपेन्सीका लागि १६ हजार रुपैयाँ निर्धारण गरिएको छ।

‘विश्व स्वास्थ्य संगठनले जारी गरेको मापदण्ड अनुसार सेवा सुविधा दिइनेछ। क्वारेन्टाइनमा बसेका व्यक्तिहरु बाहिर निस्कन पाउनुहुन्न।विहान देखि बेलुका सम्मको चार छाक त्यहीँ उपलब्ध हुन्छ। बसेकै ठाउँमा सबै कुराको सुविधा दिनुपर्ने हुन्छ। हरेक कोठा कोरिडोर लिफ्ट सबै डिसइन्फेक्ट गर्नुपर्‍यो,’ उनले भने ‘हरेक कोठामा मास्क ग्लोब्स अनिवार्य राखिन्छ। यो सँगै दैनिक न्युनतम तीनपटक स्वास्थ्यकर्मी मार्फत चेक जाँच गरिनेछ।‘

चार्टर्ड एकाउन्टेन्टको सहयोगमा सेवा सुविधा लगायतको मुल्यांकन अनुसार मूल्य निर्धारण गरिएको उनले बताए।

देशैभरि होटल क्वारेन्टाइन

स्वदेश फर्किएका हरेक व्यक्तिको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै संघले सातै प्रदेशमा रहेका होटललाई क्वारेन्टाइनमा रुपान्तरण गरी संचालनमा ल्याउने योजना रहेको संघका महासचिव साजन शाक्यले जानकारी दिए।

‘स्वदेश फर्कनुहुने हरेक व्यक्तिले आफ्नो क्षमता र इच्छा अनुसार विभिन्न क्षेत्रमा बस्ने व्यवस्था मिलाउनका लागि सातै प्रदेशमा रहेका होटललाई क्वारेन्टाइन बनाउने योजना रहेको छ। आफ्नै प्रदेशमा जान चाहनेका लागि हाम्रा सदस्य होटलहरुमा क्वारेन्टाइनको व्यावस्था गर्ने योजना बनाएका छौँ, ‘महासचिव शाक्यले भने,’ काठमाडौंमा मात्र राख्ने क्षमता छैन। आएका व्यक्तिलाई १४ दिन राख्नुपर्ने हुन्छ। यसै कारण मुलुकभर क्वारेन्टाइन व्यवस्थाका लागि हामी प्रकृया अगाडी बढाउनेछौँ।‘

क्वारेन्टाइन शुल्क अरु समयको तुलनामा ५० प्रतिशत कम रहेको उनले बताए।