राजाको फोटो भएको नोट नचलाउन गरेको निर्णयप्रति राष्ट्र बैंकको आलोचना: के अहिले आवश्यक थियो?

बिजमाण्डू
२०७७ जेठ १२ गते १०:३५ | May 25, 2020
राजाको फोटो भएको नोट नचलाउन गरेको निर्णयप्रति राष्ट्र बैंकको आलोचना: के अहिले आवश्यक थियो?



काठमाडौं। गभर्नरका रूपमा डा. युवराज खतिवडा नियुक्त भएपछि उनले एउटा 'बोल्ड' निर्णय गरे- राजाको तस्बिर अंकित नोट नचलाउने।

Tata
GBIME
Nepal Life

गभर्नरको बोल्ड निर्णयले आम सर्वसाधारणले दुःख पाए। त्यसपछि अख्तियार दूरुपयोग अनुसन्धान आयोगको निर्देशनमा गभर्नर खतिवडा आफ्नो निर्णय फिर्ता लिन बाध्य भए।

त्यसपछि राजाको फोटो अंकित नोट नचलाउने विषय साम्य भएको थियो। यसअघिका गभर्नर डा. चिरञ्जीवी नेपालले आफ्नो पूरा कार्यकालभरी नोटको विषय उठाएनन्।

खतिवडाका सारथी महाप्रसाद अधिकारी गभर्नर भएपछि उनले कोभिड-१९ का सन्दर्भमा बाहेक पहिलो निर्णय 'राजाको तस्बिर अंकित नोट नचलाउने' गरेका छन्। सफा नोट कार्यान्वयन गर्ने नीति भन्दै अधिकारीले गरेको निर्णयको अहिले सामाजिक सञ्जालमा आलोचना सुरु भएको छ।

अहिले पनि छिटपुट रूपमा पञ्चायतकालका नोट मजाले चलिरहेका छन्। यस सन्दर्भमा गभर्नर अधिकारीले राजाको तस्बिर अंकित नोट चलन चल्तीमा नपठाउनु भन्दा कतिपयले 'इतिहास मार्ने' काम भएको प्रतिक्रिया दिइरहेका छन्। कतिपयले भने 'राजाको नोट अब चल्दैन भनेर' चिन्ता पनि ब्यक्त गरेका छन्।

ट्वीटरमा लोकमणि पौडेलले 'यो कोरोना कहरका बेला राष्ट्र बैंकले राजाको तस्बिर भएको नोट नचलाउनु भनेर निर्देशन दिएछ। के यो घडीमा यस किसिमको निर्देशन दिनु उचित हो ?' भनेर सोधेका छन्।

सामाजिक सञ्जालमा अभ्यस्त गभर्नर अधिकारीले पौडेलको चिन्ता शान्त पार्न लेखेका छन्- 'कोभिडकै सन्दर्भमा राष्ट्र बैंकले क्लिन नोट पोलिसीलाई रिभिजिट (पुनरावलोकन) गरी जलानमा जाने गरेको ठूलो संख्याको नोटलाई पुनः बजारमा लैजाने निर्णय गरेको छ। त्यस सिलसिलामा बजारमा जान अयोग्य नोटबारे परिभाषितसम्म गरिएको छ, जुन कुरा नयाँ होइन। चाँडै जारी गरिने प्रेस नोटलाई पालना गर्नु होला।'

सर्वसाधारण गभर्नरको भनाइप्रति भने सहमत छैनन्। उनीहरुलाई लागेको छ राजाको तस्बिर अंकित नोट भनेको इतिहास हो। इतिहासलाई जलाउनु गलत हो भन्ने आम बुझाइ बनेको छ।

ट्वीटरमै दीपेश जोशो लेख्छन्- 'पूर्व राजाको तस्बिर भएका नोट नचल्ने तिनकै पुर्खाले बनाएको देशमा। सत्ता र भत्तावालाको जे पनि चल्ने ! नोटमा राष्ट्र बैंकको आपत्ति किन ?'

अर्का ट्वीटर प्रयोगकर्ता हेपो खार्पाली लेख्छन्- राजाको फोटो भएको नोट नचल्ने, अनि राजाले बनाएको भवन नि ? @hello_sarkar यस्तो बुद्धि के खाएर आउँछ लौन हामीलाई पनि जानकारी होस्।

राष्ट्र बैंकको आइतबारको निर्णयमा भनिएको छ- झुत्रिएको, मक्किएको, जलेको, गलेको, लुलो भएको, किराले खाएको, पानीले भिजेको, छपाइ बिग्रेको, नोटमा रहेको अक्षर, अंक, चित तथा सुरक्षण विशेषताहरु नबुझिने वा बिग्रिने गरी लङ लागेको/लेखिएको/कोरिएको/मेटिएको/च्यातिएको वा पूर्वराजाको तस्बिर अंकित भएको नोटलाई पुन: निष्कासन अयोग्य नोटको रूपमा वर्गीकरण गर्नु पर्नेछ र त्यस्ता नोटलाई चलन चल्तीका लागि पठाउनु हुँदैन।

'खाँटी गणतन्त्रवादी देखिन गभर्नरले अव्यावहारिक नीति लिएका हुन् भनेर बुझ्न गाह्रो छैन' भनेर पनि कतिपयले सामाजिक सञ्जालमा चासो ब्यक्त गरेका छन्।

सामाजिक सञ्जालमा चर्चा भएजस्तो निर्णय भने राष्ट्र बैंकले गरेको छैन। राष्ट्र बैंकले राजाको तस्बिर भएको पैसा नचल्ने भनेको छैन। बैंकमा त्यस्ता नोट आए भने ती नोट बजारमा पुन: नपठाउनु मात्र भनेको छ।

तर राष्ट्र बैंकले चलन चल्तीमा नपठाउनु भनेर निर्णय गर्न भने जरुरी थिएन। आजभोलि तिलक रावल र सत्येन्द्रप्यारा श्रेष्ठको हस्ताक्षर भएका नोट बिरलै भेटिन्छन्। यसको अर्थ हो नोट पुरानो भएपछि बैंकिङ प्रणाली हुँदै स्वतः राष्ट्र बैंक पुग्छ। राजाको तस्बिर भएको नोट पनि बिस्तारै राष्ट्र बैंक गइरहेकै छ। त्यसैले सर्वसाधारणको मनोभावनामाथि खेलेर अचानक चलन चल्तीमा नपठाउनु भनेर निर्णय गर्नु सान्दर्भिक होइन।

अहिले राष्ट्र बैंकको प्राथमिकतामा कोभिड-१९ को असरलाई कसरी कम गर्ने र चाँडै अर्थतन्त्रलाई चलायमान बनाउनेतिर हुनु पर्ने हो। तर तत्कालिन प्राथमिकतालाई छाडेर सफा नोट नीति भन्दै असान्दर्भिक निर्णय गरेर राष्ट्र बैंकले 'नदुखेको टाउको आफैंले डोरी लगाएर दुखाउने' काम गरेको छ।