श्रमिकको चार महिनाको सामाजिक सुरक्षा कोषको रकम सरकारले जम्मा गर्ने, आगामी बजेटमा समेटिने

बिजमाण्डू
२०७७ जेठ ११ गते १२:५० | May 24, 2020
श्रमिकको चार महिनाको सामाजिक सुरक्षा कोषको रकम सरकारले जम्मा गर्ने, आगामी बजेटमा समेटिने

Tata
GBIME
Nepal Life

काठमाडौं। सरकारले सामाजिक सुरक्षा कोषमा चार महिनाको रकम  जम्मा गर्ने भएको छ। कोषमा आवद्ध १ लाख ५८ हजार ५ सय ९ जना श्रमिकको लकडाउन अवधिको रकम सरकारले जम्मा गर्ने भएको हो।

गत चैत १६ गते बसेको मन्त्रिपरिषद बैठकले कोषमा आबद्ध श्रमिकको चैत महिनाको रकम जम्मा गर्ने निर्णय गरेको थियो। यो निर्णय अनुसार अर्थमन्त्रालयले कोषलाई १८ करोड ६७ लाख भुक्तानी गरिसकेको छ।

अर्थमन्त्री डा. युवराज खतिवडाले कोषमा आवद्ध श्रमिकको चैतदेखि असारसम्मको रकम जम्मा गर्ने बारेमा कोषसँग छलफल गरेका थिए। छलफलमा चार महिनाकै रकम सरकारले हालिदिने सहमति भएपनि एक महिनाको मात्रै दिएको थियो।

स्रोतका अनुसार मन्त्री खतिवडाले जेठ १५ गते प्रस्तुत गर्ने बजेट वक्तव्यमा सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्ने विषय समेट्ने छन्।

कोषमा आबद्ध भएका प्रतिष्ठानमा कार्यरत श्रमिकको आधारभुत पारिश्रमिकको ११ प्रतिशत श्रमिकको तर्फबाट तथा २० प्रतिशत रोजगारदाताहरुको तर्फबाट गरी जम्मा ३१ प्रतिशत जम्मा हुँदै आएको छ। यो सुविधा  लिन फागुन महिनासम्म नियमित रुपमा योगदान गर्दै आएको  कम्पनी हुनुपर्ने कोषले जनाएको छ।  

यस्तै चैत महिनाको तलब नियमित रुपमा भुक्तानी गरेको विवरण सहितको आधिकारीक पत्र कोषमा रोजगार दाताले पठाउनुपर्नेछ। हालसम्म कोषमा १२ हजार ३ सय ३५ वटा रोजगारदाता आवद्ध भएर १ अर्ब ४ करोड रकम जम्मा गरिसकेका छन्।