कोरोनाविरुद्ध लड्न बिसिजी खोप प्रभावकारी हुने निष्कर्षनजिक वैज्ञानिकहरु

बिजमाण्डू
२०७६ चैत्र २३ गते ०९:५२ | Apr 5, 2020
कोरोनाविरुद्ध लड्न बिसिजी खोप प्रभावकारी हुने निष्कर्षनजिक वैज्ञानिकहरु



काठमाडौं। एक शताब्दी पुरानो टिबी (ट्युबरक्लोसिस) रोगविरुद्धको खोप ‘बिसिजी’ यतिबेला अलग्गै प्रयोजनसँग जोडिएर चर्चामा छ । हाल व्याप्त विश्वव्याधि कोरोनाभाइरस (कोभिड–१९) विरुद्ध लड्न प्रतिरोधात्मक क्षमता वृद्धिमा यो खोप प्रभावकारी हुनसक्ने आँकलन गर्दै विश्वका केही मुलुकका अनुसन्धानकर्ता र वैज्ञानिकहरु यसको 'क्लिनिकल ट्रायल' गर्ने तयारीमा जुटेका छन् । 

Tata
GBIME
Nepal Life

सन् १९२० को दशकको शुरुआतमा युरोपमा विकास गरिएको बिसिजी (बसिल कालमेट–गेरिन) खोप कोभिड–१९ विरुद्ध प्रभावकारी हुनसक्ने संकेत अनुसन्धानकर्ताहरुको अध्ययन र प्रारम्भिक परीक्षणबाट देखिएको छ । यसैका आधारमा वैज्ञानिकहरुले कोभिड–१९ का लक्षणहरुको व्यापकता र गम्भीरता कम गर्न बिसिजी खोप सहयोगी हुनसक्ने अपेक्षासहित युरोप र अष्ट्रेलियाबाट यसको क्लिनिकल ट्रायल गर्न लागेका हुन् । 

अमेरिकी वैज्ञानिकहरुले पनि टिबी (ट्युबरक्लोसिस) बाट सुरक्षित राख्न जन्मेदेखि एक वर्षसम्मका नवजात शिशुलाई लगाइने बिसिजी खोप प्राणघातक कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्नका लागि ‘गेम–चेन्जर’ हुनसक्ने बताएका छन् । 

मेलबर्न (अष्ट्रेलिया) स्थित मुर्डक चिल्ड्रेन्स रिसर्च इन्स्टिच्युट (एमसीआरआई) का अनुसन्धानकर्ताहरुले अहिले अष्ट्रेलियाभरिका विभिन्न अस्पतालका चार हजार स्वास्थ्यकर्मीहरुलाई यससम्बन्धी अध्ययनका लागि भर्ना गर्ने प्रयासमा छन् । 

यो परीक्षणले कोभिड–१९ का लक्षणविरुद्ध बिसिजी खोपको प्रभावकारिता राम्रोसँग जाँच्न मद्दत गर्ने एमसीआरआईकी निर्देशक क्याथ्रिन नर्थले बताएकी छन् ।

यसबाहेक, यस्तै किसिमको वृहतस्तरको परीक्षण जर्मनी, नेदरल्याण्ड्स, बेलायत र ग्रीसमा पनि पाको उमेरका बिरामी र स्वास्थ्यकर्मीहरुमा गर्न लागिएको छ ।

यदि परीक्षण सफल भए संसारभर फैलिएको नोबेल कोरोना भाइरसको उपचारमा यो ठूलो उपलब्धि साबित हुनेछ । वैज्ञानिकहरु यो व्याधिलाई रोक्ने वा यसको संक्रमणको गति कम गर्ने उपायहरुको खोजीमा तीव्ररूपमा काम गरिरहेका भए पनि अहिलेसम्म रोकथामका लागि कुनै पनि ठोस औषधि वा खोप पत्ता लागेको छैन । यसकारण पनि वैज्ञानिकहरुको अध्ययनबाट देखिएको यो विकास उत्साहजनक भएको संसारभरका स्वास्थ्य विज्ञहरुको टिप्पणी छ ।

कोभिड–१९ को उपचारसँग जोडेर बिसिजी खोपबारे अमेरिकाको न्युयोर्क इन्स्टिच्युट अफ टेक्नोलोजी (एनवाइआइटी) ले पनि अलग्गै अध्ययन गरेर प्रतिवेदन तयार पारेको बताइएको छ । कोरोना भाइरसको गम्भीर असर बालबालिकालाई लगाइने बिसिजी खोपको राष्ट्रिय नीतिसँग जोडिन सक्ने एनवाइआइटीको प्रकाशोन्मुख अध्ययन प्रतिवेदनले इटाली र अमेरिकाको उदाहरण दिँदै उल्लेख गरेको छ ।

‘लामो समयदेखि बिसिजी खोपको राष्ट्रिय नीति लागु भएका देशको तुलनामा यो नीति कार्यान्वयनमा नभएका देशहरु, जस्तै – इटाली, नेदरल्याण्ड्स र अमेरिका, कोरोना भाइरसको संक्रमणबाट बढी गम्भीररूपमा प्रभावित भएका छन्,’ अनुसन्धानकर्ताहरुले उल्लेख गरेका छन् । यस अनुसन्धानको नेतृत्वकर्ता एनवाइआइटीका सहायक प्राध्यापक गोन्जालो ओटाजु हुन् ।

कोभिड–१९ बाट यो समाचार तयार पार्दासम्म अमेरिकामा तीन लाख ११ हजार पाँच सय संक्रमित र करीब साढे आठ हजारको मृत्यु भइसकेको छ । यस्तै, इटालीमा एक लाख २४ हजार छ सयभन्दा बढीमा संक्रमण र करीब १५ हजार तीन सय ६२ को मृत्यु, नेदरल्याण्ड्समा १६ हजार सात सय २७ संक्रमित हुँदा कम्तिमा एक हजार छ सय ५६ जना कोरोना भाइसरका कारण मरिसकेका छन् ।

अध्ययनअनुसार, संक्रमण र मृत्युको घट्दो संयोजनले बिसिजी खोपलाई कोरोना भाइरसविरुद्ध लड्नका लागि गेम–चेन्जर बनाउन सक्नेछ । भारतीय विज्ञहरुले पनि कोभिड–१९ का लागि बिसिजी खोप प्रभावकारी हुनेमा आशावादी रहेको बताएका छन् ।

भारतको हैदराबादस्थित सीएसआइआर सेन्टर फर सेलुलर एन्ड मोलिक्युलर बायोलोजीका निर्देशक राकेश मिश्रका अनुसार एनवाइआइटीका निष्कर्षहरु उत्साहजनक छन् । तथापि, थप वैज्ञानिक विवरणहरु सार्वजनिक भइनसकेकाले यसैलाई आधार मानेर कोभिड–१९ विरुद्ध नीतिगत कदम चाल्ने अवस्था बनिसकेको छैन । 

कोभिड–१९ संक्रमितमा श्वास–प्रश्वास समस्या र खोकी पनि केही हदसम्म टिबी रोगकै प्रकृतिसँग मिल्ने भएकाले बिसिजी यसमा प्रभावकारी हुनसक्ने विश्वास अनुसन्धानकर्ताहरुको रहेको छ । 

यससम्बन्धी अनुसन्धानमा संलग्न वैज्ञानिकहरुको टोलीले बिसिजी खोपको नीति लागू गरेका विश्वका विभिन्न मुलुकहरु र त्यहाँ कोभिड–१९ संक्रमण तथा मृत्यु हुनेको संख्या तुलना गरेको थियो । अध्ययनबाट ती देशमा बिसिजी खोपको युनिभर्सल नीति अवलम्बन र कोभिड–१९ बाट भएको मृत्युदर बीच सकारात्मक अन्तरसम्बन्ध उच्च रहेको पाइएको छ ।

अर्को शब्दमा, बिसिजी खोपको नीति जति पहिलेबाट स्थापित छ, त्यति नै ती मुलुकमा पाका उमेरका व्यक्तिहरुसमेत कोरोना भाइरसको संक्रमणबाट बढी सुरक्षित रहेको पाइएको अनुसन्धानकर्ताहरुले बताएका छन् ।

उदाहरणका लागि इरानमा प्रति १० लाख जनामा करीब २० जना कोभिड–१९ का कारण मरेको पाइएको छ, जहाँ हालको युनिभर्सल बिसिजी खोप नीति सन् १९८४ मा मात्र शुरु गरिएको थियो । यस विपरित, यो खोप नीति सन् १९४७ मा शुरु गरेको जापानमा मृतकको संख्या योभन्दा सय गुणा कम दरमा (१० लाखमा ०.२८ जना) मात्र छ । 

अझ, बिसिजी विकास भएको शुरुआती वर्ष (सन् १९२०) देखि नै यो खोप लागू गरेको ब्राजिलमा त जापानभन्दा पनि न्यून छ कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या । ब्राजिलमा १० लाखजनामा ०.०५७३ जनाको मृत्यु अहिलेको विश्वव्याधिबाट भएको वैज्ञानिकहरुले उल्लेख गरेका छन् । 

भारतमा सन् १९४८ देखि बृहत प्रतिरक्षात्मक खोप कार्यक्रमको अंग रहँदै आएको बिसीजी खोप नेपालमा सन् १९६० को दशकमा भित्रिएको हो । जनसंख्याका हिसाबले कोभिड–१९ विश्वव्याधिबाट संक्रमण तथा मृत्युदर उच्च भएका अमेरिका र युरोपेली मुलुकहरुभन्दा कयौं गुणा अगाडि रहेको भारतमा पनि यसबाट मृत्यु हुनेको संख्या तुलनात्मकरूपमा न्यून छ । 

करीब एक अर्ब ३४ करोड जनसंख्या रहेको भारतमा अहिलेसम्म यो समाचार तयार पार्दासम्ममा कोरोना भाइरसबाट संक्रमित दुई हजार नाै सय र मृत्यु हुने ६८ जना पुगेका छन् । नेपालमा पनि प्रति १० लाखमा संक्रमित हुनेको दर ०.३ (कुल ९ जना) छ भने मृत्यु हुने शून्य छन् । भारतमा १० लाख जना बराबर ०.०५०७ को दरले मृत्यु भएको छ। 
 
२०औं शताब्दीको मध्यदेखि अन्त्यतिर आइपुग्दा टिबीबाट मृत्यु हुनेको संख्या घट्दै गयो । सोपछि सन् १९६३ देखि २०१० को बीचमा उच्च आय भएका धेरै युरोपेली मुलुकहरुले युनिभर्सल बिसिजी नीति स्थागित गरेका थिए ।

अहिले बिसिजी लागू सम्बन्धी तथ्यांक भेटिने एक सय ८० देशहरुमध्ये एक सय ५७ वटाले यो खोप अहिलेपनि प्रभावकारीरूपमा कार्यान्वयन गरिरहेको बताएको अनुसन्धानकर्ताहरुले उल्लेख गरेका छन् । बाँकी २३ देशमध्ये कतिपयले टिबी रोगीको संख्यामा लगभग नगन्यमा झरेपछि बिसिजी खोप लगाउनै बन्द गरिसकेका वा टिबीको जोखिममा रहेका निश्चित समूहमा मात्र सीमित गरेका छन् ।

– एजेन्सीकाे सहयाेगमा