रोकिएन सडकमा आउने मानिसको सङ्ख्या, बिहानैदेखि भीडभाड, प्रहरीलाई सास्ती

बिजमाण्डू
२०७६ चैत्र २३ गते ०९:२० | Apr 5, 2020

Tata
GBIME
Nepal Life

काठमाडौं। सरकारले लकडाउन घोषणा गरेको १३ दिन भएको छ। मानिसलाई घरभित्र नै बस्न आग्रह गरिएको छ। तर पनि बिहानको समयमा घर बाहिर मानिसको चहलपहल देखिन्छ। घरबाट निस्किएर सडकमा नै मानिस आउने गरेका छन्।

यसरी लकडाउन उल्लंघन गर्ने मानिसलाई प्रहरीले नियन्त्रणमा लिने गरेको छ। आज बिहानै पनि उपत्यका भित्रबाट १२ सय ८८ जना मानिसलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले आज बिहान ८ बजेसम्म नियन्त्रणमा लिइएका १ हजार ४० जना पुरुष र २ सय ४८ जना महिला रहेको प्रहरीले जानकारी दिएको छ। त्यस्तै ६२ वटा सवारी साधनसमेत नियन्त्रणमा लिएको छ।

नियन्त्रणमा आउनेहरु अधिकांश काठमाडौंका रहेका छन्। आखिर किन सडकमा मानिस आइरहेका छन् ? महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटी भन्छन्, 'विभिन्न बहाना बनाएर आउँछन्। कोही मधुमेहको विरामी मर्निङ वाक गर्न भन्छन्, कोही हातमा तरकारीको सानो पोको देखाएर किन्न आएको भन्दै आउँछन्।'

कोरोनाको संक्रमण फैलिने सम्भावना देखेपछि शनिवार बसेको मन्त्रिपरिषद्को बैठकले एक स्थानीय तहबाट अर्को स्थानीय तहमा जान नपाइने निर्णय गरेको छ। जारी लकडाउनमा थप कडाइ गर्दै सरकारले उक्त निर्णय गरेको हो।