कोरोना संक्रमितका ४ वर्षीया छोरी र श्रीमतीसहित ७ जनामा कोभिड -१९ नेगेटिभ

बिजमाण्डू
२०७६ चैत्र २३ गते ०८:३५ | Apr 5, 2020

Tata
GBIME
Nepal Life

धनगढी। धनगढीका कोरोना संक्रमित युवक र उनकी भाउजूबाहेक परिवारका अन्य सदस्यको कोरोना परीक्षणमा नेगेटिभ रिपोर्ट आएको छ।

दुबईबाट ती युवक भारत हुँदै नेपाल आएका थिए। भित्तरा एयरलाइन्सबाट चैत ७ गते आएका उनी ८ गते नेपालगञ्ज हुँदै धनगढी पुगेका थिए। उनमा संक्रमण देखिएपछि उनका परिवारका सदस्यहरुको पनि स्वाब परीक्षण गरिएको थियो। उनकी भाउजूमा कोरोना पोजेटिभ देखिएको हो।

तर, भाउजूबाहेक अन्यको स्वाब परीक्षणमा भने रिपोर्ट नेगेटिभ नै आएको हो। सेती प्रादेशिक अस्पतालका आकस्मिक विभाग प्रमुख तथा प्रवक्ता डाक्टर जगदीश जोशीका अनुसार ९ जनाको परीक्षण गर्दा ७ जनाको रिपोर्ट नेगेटिभ आएको हो। जोशीका अनुसार उनलाई अस्पताल पुर्‍याउने मामाका छोरा र अन्य दुई जनाको भने स्वाब परीक्षणको रिपोर्ट पाउन बाँकी छ।

ती युवकको चैत १४ गते कोरोना संक्रमण पुष्टि भएको थियो। उनी आएदेखि परिवारसँगै बस्दै आएका थिए।

गत बुधवार १० जनाको स्वाब परीक्षणका लगि काठमाडौं पठाइएको थियो। जसमा शुक्रबार राति भएको परीक्षणले थप एकजनामा संक्रमण देखाएको हो। संक्रमण १४ दिनसम्म देखिने भएकाले उनीहरुको थप परीक्षण हुने छ।

संक्रमित युवकका परिवारमा उनका ४ वर्षया छोरी र श्रीमती छन्। अन्य सदस्यमा उनका दाजु भाउजू आमाबुबा छन्। बाँकी दुई जना संक्रमितका दाजुका सन्तान हुन्।