विद्युत प्राधिकरणको नाफा १० अर्ब ६७ करोड, कुलमान भन्छन्-‘प्राधिकरणको सुनौला दिन अझै आउँदैछ’

बिजमाण्डू
२०७६ चैत्र २१ गते १३:०४ | Apr 3, 2020
विद्युत प्राधिकरणको नाफा १० अर्ब ६७ करोड, कुलमान भन्छन्-‘प्राधिकरणको सुनौला दिन अझै आउँदैछ’

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष १० अर्ब ६६ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको छ। नेपाल फाइनान्सियल रिर्पोटिङ स्ट्यान्डर्ड अनुसार कम्प्रिहेन्सिभ इन्कम ८५ करोड ५४ लाखसहित १० अर्ब ६६ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको हो।

प्राधिकरणको ३४  औं वार्षिकोत्सवको अवसरमा गत भदौमा आव २०७५/७६मा ७ अर्ब २० करोड रुपैयाँ खुद नाफा आर्जन हुने प्रक्षेपण गरिएको थियो।कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री एवं प्राधिकरण संचालक समितिका अध्यक्ष वर्षमान पुनले सरकारी संस्थानहरुमध्ये प्राधिकरणलाई एक नम्बरको संस्था बनाउने घोषणा गरेका थिए।

महालेखापरीक्षकको कार्यालयबाट भएको अन्तिम लेखापरीक्षणबाट प्राधिकरणले आव २०७५/७६मा ९ अर्ब ८१ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको देखिएको छ। योसँगै संचालनमा रहेका सार्वजनिक संस्थानहरुमध्ये प्राधिकरण सबैभन्दा बढी खुद नाफा कमाउने संस्था बनेको छ।

प्राधिकरणको जगेडा तथा संचित कोष नोक्सानी घटेर १२ अर्ब २३ करोड ३९ लाखमा झरेको छ। आव २०७४/७५मा प्राधिकरणको खुद नाफा २ अर्ब ८४ करोड ८१ लाख र जगेडा तथा संचितकोष २३ अर्ब ५९ करोड ७९ लाख रुपैयाँ ऋणात्मक थियो।

आव २०७२/७३मा ८अर्ब ८९ करोड खुद घाटामा र जगेडा तथा संचित कोष ३४अर्ब ६० करोड ८५ नोक्सानीमा रहेको प्राधिकरण कुलमान घिसिङ कार्यकारी निर्देशक भएपछिको आर्थिक वर्षमा फड्को मार्दै खुद नाफा उकालो लागिरहेको छ। ऋणात्मक रहेको संचित कोष धनात्मकतर्फ अघि बढिरहेको छ ।

प्राधिकरणले आव २०७३/७५ र २०७४/७५मा खुद नाफा क्रमश: १ अर्ब ४६ करोड ७३ लाख  र २ अर्ब ८४ करोड ८१लाख रुपैयाँ आर्जन गरेको थियो। विद्युत चुहावट नियन्त्रणमा हासिल भएको ठूलो सफलता, भारतबाट आयात र निजी क्षेत्रका उत्पादकहरुसँगको विद्युतको औसत खरिद दरमा आएको कमी लगायत कारणले संस्था तीन वर्षदेखि निरन्तर खुद नाफामा जान सफल भएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताए।

आव २०७२/७३ मा २५.७८ प्रतिशत रहेको विद्युत् चुहावट आव २०७५/७६मा आईपुग्दा १५.३२ प्रतिशतमा झरेको छ। घिसिङले निर्देशक हुँदा लोडसेडिङ अन्त्य गर्ने, प्राधिकरणलाई नाफामा लैजाने र मुलुकलाई विद्युतमा आत्मनिर्भर बनाउने मुख्य तीनवटा प्रतिबद्धता जनाएका थिए।

‘प्राधिकरणको अबको यात्रा घाटाको होइन, नाफाको हो भन्ने अठोटका साथ सम्पूर्ण टिम अहोरात्र खटिएको छ, यसमा सम्माननीय प्रधानमन्त्रीको निर्देशन तथा माननीय ऊर्जामन्त्रीको नेतृत्व, संचालक समिति तथा प्रशासनको साथ, प्राविधिकको दक्षता, कर्मचारीको मेहनत र उपभोक्ताको साथ पाएका छौं,’ उनले भने, ‘अमेरिकी डलरमा विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) गरिएको ६० मेगावाट खिम्ती–१ विद्युत आयोजनाको आधा स्वामित्व प्राधिकरणमा आउँदैछ, पीपीए दर पनि नयाँ तय हुने भएकाले प्राधिकरणलाई ठूलो राहत मिल्छ। प्राधिकरणको सुनौला दिन अझै आउँदैछ।‘

 प्राधिकरणले आव २०७५/७६मा ३८ अर्ब ८९ करोड ६३ लाख रुपैयाँको विद्युत् खरिद गरेको छ भने विद्युत बिक्रीबाट ६६ अर्ब ६१ करोड २९ लाख रुपैयाँ आम्दानी गरेको छ। आव २०७२/७३मा विद्युत् चुहावट २५.७८ प्रतिशत रहेकोमा अहिले घटाएर १५.३२ प्रतिशतमा झारिएको छ। एक प्रतिशत विद्युत चुहावट घटाउँदा करिव ७० करोड रुपैयाँ प्राधिकरणलाई फाइदा हुन्छ।

आव २०७४/७५मा यस्तो आम्दानी ५५ अर्ब ३५ करोड ८२ लाख रुपैयाँ थियो। विद्युत् खरिदमा ३४ अर्ब १३ करोड रुपैयाँ खर्च भएको थियो। प्राधिकरणले विद्युत आयोजनाको १ अर्ब ५० करोड १७ लाख रुपैयाँ रोयल्टी सरकारलाई बुझाएको छ।