खाद्यान्न र खाद्यवस्तुका उद्योग खुलाउन दुहबी नगरपालिका तात्यो, उद्योगहरू खुल्न थाले

अनन्तराज न्यौपाने/बिजमाण्डू
२०७६ चैत्र २० गते २२:३३ | Apr 2, 2020
खाद्यान्न र खाद्यवस्तुका उद्योग खुलाउन दुहबी नगरपालिका तात्यो, उद्योगहरू खुल्न थाले


Tata
GBIME
Nepal Life

विराटनगर। मोरङ-सुनसरी औद्योगिक क्षेत्रका खाद्यान्न, खाद्यतेल र खाद्यवस्तुका उद्योगहरू खुल्ने क्रम सुरु भएको छ।

सुनसरीको दुहबी नगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका खाद्यान्न, खाद्यतेल र खाद्यवस्तुका उद्योगहरूलाई उत्पादन सुचारु गर्न पत्राचार गरेपछि त्यहाँका उद्योगहरू खुल्न थालेका हुन्। नगरप्रमुख वेदनारायण गच्छदारले आफ्नो क्षेत्रभित्र यस्ता उद्योगहरू २५ भन्दा माथिको सङ्ख्यामा भएको बताएका छन्। उद्योगभित्र पूर्णतः स्यानिटाइज्ड गरेर तथा कामदारलाई पनि दूरी कायम गर्न लगाएर उद्योग सञ्चालन गर्न अनुरोध गरिएको उनले जानकारी दिए।

‘यस्ता उद्योगले उत्पादन सुचारु गरे कि गरेनन् भनेर हामी अनुगमनमा पनि जाँदैछौँ,' प्रमुख गच्छदारले भने, ‘कच्चा पदार्थको ढुवानी असहज छ भने स्थानीय प्रशासनसित समन्वय गरेर हामी सहजीकरण गरिदिन्छौं । उद्योग चलाउन सुरु गर्नुस् भनेर हामी अनुरोध गरिरहेका छौं।’ ‘फर्चुन’ ब्रान्डमा पिठो, मैदा र दाल उत्पादन गरिरहेको दुहबीको न्युट्री फुड. मंगलबारदेखि सञ्चालनमा आएको छ।

उद्योगका सञ्चालक प्रदीप शारडाले उद्योग ५० प्रतिशत क्षमतामा सञ्चालन हुन थालेको बताए। ‘कामदारहरू सबै आउने हो भने हामी पूर्ण क्षमतामा उद्योग सञ्चालन गर्न तयार छौं,' सञ्चालक शारडाले बिजमाण्डूलाई भने, ‘सरकारले अत्यावश्यक मानिएका उद्योगका श्रमिक र कर्मचारीलाई ओहरदोहरका लागि पास उपलब्ध गराउनु पर्छ। कामदारहरू डरले आइरहेका छैनन्। उनीहरूलाई सुरक्षाको प्रत्याभूति गरिनु पर्छ।’

उद्यमी शारडाका अनुसार उत्पादित खाद्यान्न र खाद्यवस्तु अर्को जिल्लामा ढुवानी गरेर लैजान सबैभन्दा ठूलो समस्या छ। अर्को जिल्लाका लागि प्रमुख जिल्ला अधिकारीले पास जारी गर्न नपाउने भएका कारणले यस्तो समस्या आएको हो। ‘मंगलबार हाम्रा उत्पादनहरू पूर्वको झापा पठाउने बेलामा हामीले सुनसरीका सिडिओ साबलाई सोधेका थियौं,' उनले भने, ‘सिडिओ साबले आफूले अन्य जिल्लाका लागि पास जारी गर्न नमिल्ने भन्दै खाद्यान्न र खाद्यवस्तुको ढुवानी भनेपछि कसैले नरोक्ने आश्वासन दिनुभयो। यही आश्वासनका भरमा हामीले झापा गाडी पठायौं । बाटामा १० ठाउँभन्दा बढी प्रहरीले गाडी रोकेर हैरान गर्‍यो।’

शारडाले डिपार्टमेन्टल स्टोर, सपिङ मल र अन्य किराना पसलेहरूले सामान मागिरहेको बताए। दुहबीकै जितेन्द्र राइस मिल र जेके आयल मिल पनि बुधबारदेखि सञ्चालनमा आएका छन्। ‘नगरपालिकाको पत्र हामीले मंगलबार पायौं,' उद्योगका सञ्चालक लक्ष्मण तापडियाले भने, ‘मंगलबार नै उद्योगलाई स्यानिटाइज्ड गरेर बुधबारदेखि उत्पादन सुरु गरेका हौं। दुवै उद्योगमा गरेर हामीसित ६० मजदुर छन्, तर काममा २५ जना मात्र आए। प्रहरीले रोकेका कारण अरू १० जना कामदार आउन पाएनन्।’

उद्योगी तापडियाले उत्पादित सामग्रीको ढुवानी अहिले सबैभन्दा पेचिलो विषय भएको प्रतिक्रिया व्यक्त गरे। उनले भने, ‘सिडिओ साबले खाद्यान्न वा खाद्यवस्तुको गाडी भनेर ब्यानर टाँगेर लैजानुस् प्रहरीले केही गर्दैन भन्नुभयो। तर यसरी लेखेर लैजाँदा पनि बाटोमा प्रहरीले दुःख दिएको छ।’
तापडियाले अहिलेको संकटका बेला एउटा जिल्लाको सिडिओले जारी गरेको पास अर्को जिल्लामा मान्य हुनुपर्ने आग्रह गरे।

दुहबी बाहेक मोरङ-सुनसरीका अन्य स्थानीय तहले खाद्यान्न, खाद्यतेल र खाद्यवस्तुका उद्योग खुलाउन पहल गरेका छैनन्। विराटनगरको चन्द्रशिव राइस एन्ड आयल मिलका सञ्चालक नरेश राठीले मंगलबार आफ्नो उद्योग केही समय चलेको भए पनि बुधबार बन्द गर्नुपरेको जानकारी दिए। 

‘मंगलबार केही मजदुर आए, हामीले उद्योग सञ्चालन गर्न भन्यौं र उनीहरूले काम पनि सुरु गरे,' उद्योगी राठीले भने, ‘तर ट्रेड युनियनका नेताहरू तत्काल आउनु भयो र उद्योग बन्द गर्न लगाउनु भयो। त्यसपछि आज बुधबार बन्द छ।’ चन्द्रशिवको उत्पादन बन्द भए पनि उत्पादित चामल र तेलको प्याकिङको काम भने भइरहेको उनले बताए। 

विराटनगरकै राधाकृष्ण राइस मिलका सञ्चालक सुधीर तोदीका अनुसार मजदुर नआएका कारण उनको उद्योग हालसम्म बन्द नै छ। ‘सबै तिरबाट चामलको माग आइरहेको छ,’ सञ्चालक तोदीले भने, ‘तर मजदुर नआएका कारणले उद्योग सञ्चालन गर्न पाइरहेका छैनौं ।’ उद्योगका केही कामदार र प्राविधिक सीमा पारिबाट आउने भएकाले पनि उत्पादन सुचारु हुन नसकेको उनले स्पष्ट पारे।

रमपम चाउचाउको उत्पादक सुनसरीको एसियन थाई फुड र गुडलाइफ बिस्कुटका सञ्चालक महेश जाजूले शुक्रबारसम्ममा उद्योग सञ्चालन गर्ने जानकारी दिए ।‘प्रोडक्टको चारै तिरबाट माग आएको छ,’ जाजूले भने, ‘हामीलाई उद्योग चलाउन दबाब छ, तर मजदुर सम्पर्कमा छैनन्। सम्पर्कमा आएका मजदुर पनि आउन डराइरहेका छन्।’

बिस्कुट, चकलेट र अन्य स्न्याक्स उत्पादन गर्ने सुनसरीकै क्वालिटी फुड एन्ड स्न्याक्स र तयारी चाउचाउको उत्पादन गर्ने क्वालिटी नुडल्स उद्योग भने अहिले खुल्ने तयारीमा छैन। ‘बन्द खुलेपछि उद्योग चलाउने मनस्थितिमा पुगेका छौं,' उद्योगका सञ्चालक श्याम काबराले भने, ‘कामदारहरू सम्पर्कमा आइरहेका छैनन्।’

मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले व्यापार संघ वा उद्योग संगठन मोरङको सिफारिसमा मजदुरलाई जिल्ला प्रशासन कार्यालयले ओहरदोहोरको पास जारी गर्ने सहमति भएको जानकारी दिए। ‘हामीले दुवै संगठनको सिफारिसमा उद्योगका कामदार र मजदुरलाई पास दिनुपर्ने आग्रह गर्‍यौं,' अध्यक्ष मुन्दडाले भने, ‘हाम्रो मागप्रति स्थानीय प्रशासन सकारात्मक देखिएको छ।’