नाकाबन्दीदेखि गोदाममै थन्किएको इन्डक्सन लकडाउनमा एक्कासी रित्तिँदै

सविन ढकाल/बिजमाण्डू
२०७६ चैत्र १९ गते १०:४२ | Apr 1, 2020

काठमाडौं। लकडाउनका कारण खाना पकाउने ग्यासको अभाव हुँदा मानिसको आकर्षण इन्डक्सन चुल्होतिर बढेको छ। लकडाउन कति लम्बिने हो भन्ने निश्चित छैन। त्यसैले इन्धनका विकल्पको खोजीमा मानिसहरु बिजुलीबाट चलाउन सकिने इन्डक्सनतिर आकर्षित भएका हुन्।

Tata
GBIME
Nepal Life

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले अहिले पनि उपत्यकका विभिन्न पाँच स्थानबाट इन्डक्सन चुलो बिक्री गरिरहेको छ। लकडाउनको समय थपिएपछि खाद्यमा चुलो किन्नेको घुइँचो लागेको छ। लकडाउनपछि दैनिक ५ सयभन्दा धेरै इन्डक्सन चुल्हो बिकेको छ।

'अहिले चुल्हो किन्ने मानिसको नै बढी सङ्ख्या छ। दैनिक ५ सयभन्दा बढी मानिसले चुल्हो लिएर जानुहुन्छ,' कम्पनीकी सूचना अधिकृत शर्मिला सुवेदीले पहिलोपोस्टसँग भनिन्। चुल्हो किन्नेको भीड बढेपछि कम्पनीले ललितपुरको प्रयागपोखरीमा पनि मंगलबारबाट सेल्स काउन्टर खोलेर बिक्री थालेको छ।

नाकाबन्दीको समयमा इन्धनको चरम अभाव हुँदा चीनले अनुदानमा ११ हजार थान इन्डक्सन चुल्हो पठाएको थियो। नेसनल ट्रेडिङ लिमिटेडले सुरुमा ११ हजार ९६ रुपैयाँ मूल्य तोकेर यसको बिक्री सुरु गरेको थियो। तर, त्यसबेला सोचे अनुसार इन्डक्सन चुल्हो बिक्री भएन। नेसनल ट्रेडिङ लिमिटेड र खाद्य संस्थान मर्ज भएपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी बन्यो। कम्पनी बनेपछिको रेकर्डमा ७ हजार ४ सय ३५ वटा इन्डक्सन चुल्हो बाँकी थियो। त्यही चुल्हो कोरोनाको हल्लापछि नै बिक्री भइरहेको हो।

सुरू सुरूमा बिक्री नभएपछि यसको मूल्य घटाएर ४ हजार बनाइएको थियो। मूल्य घटाउँदा पनि मानिसहरुले इन्डक्सन किनेका थिएनन्। त्यही भएर स्टक रहेको चुल्हो अहिले बिक्रीका लागि काम लागेको छ। 'नाकाबन्दीमा पठाएको चुल्हो सबैभन्दा धेरै लकडाउनमा नै बिक्री भएको हो,' अधिकृत सुवेदीले भनिन्।

खाद्यमा अब १५ सय वटामात्र इन्डक्सन बिक्री हुन बाँकी छ। अहिलेकै रुपमा चुल्हो बिक्री हुने हो भने तीन दिनमा सकिन्छ।

'अहिलेको अनुसार बिक्री भए तीन दिनमा सकिन सक्छ। त्यसपछि चुल्लो आउने नआउने कुनै टुंगो छैन,' अधिकृत सुवेदीले भनिन्।

नेपाल विद्युत प्राधिकरणले पनि उपभोक्तालाई इन्डक्सन चुलो प्रयोग गर्न प्रोत्साहन गरिरहेको छ। सरकारले चैत महिनाको विद्युत महसुलमा २० प्रतिशत छुट दिने घोषणा गरिसकेको छ।