स्थानीय तहलाई मुख्यमन्त्री राईको निर्देशन, ‘विदेशबाट आएकाको तथ्याङ्क संकलन तुरुन्त गर्नू’

अनन्तराज न्यौपाने/बिजमाण्डू
२०७६ चैत्र १८ गते १९:२८ | Mar 31, 2020

Tata
GBIME
Nepal Life

विराटनगर। प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशमा कोरोना भाइरस सङ्क्रमणको आशङ्का गरिएका नागरिकको पहिचानमा जुट्न प्रदेशका सबै स्थानीय तहलाई निर्देशन दिएका छन्।

मङ्गलबार कोरोना भाइरसको रोकथाम तथा प्रतिरक्षाका लागि गठित स्थानीय तह सम्पर्क, समन्वय, प्रचार–प्रसार तथा जनचेतना समितिको बैठकमा मुख्यमन्त्री राईले कोरोना भाइरस सङ्क्रमणको आशङ्का भएका सबै व्यक्तिको पहिचान गर्न स्थानीय तहहरूलाई निर्देशन दिएका हुन्।

उनले विदेशबाट आएका, होम क्वारेन्टाइनमा रहेका र क्वारेन्टाइनमा राख्नुपर्नेको तुरुन्त तथ्याङ्क सङ्कलन गर्न आग्रह गरे।

प्रदेश नम्बर १ कोरोना रोकथाम, प्रतिरक्षा र उपचार निर्देशन समितिको अध्यक्ष समेत रहेका मुख्यमन्त्री राईले विशेष हेरचाह गर्नुपर्ने सुत्केरी र गर्भवतीहरू, अपाङ्गता भएकाहरू र दैनिक ज्यालादारीमा काम गर्नेहरूको विवरण सङ्कलन गर्न आग्रह गरे। उनले विपन्न र दैनिक ज्यालादारी गर्नेहरूलाई स्थानीय तहले राहत दिन निर्देशन दिए। उनले स्थानीय तहबाट सम्भव नभए प्रदेश सरकारले व्यवस्था मिलाउने आश्वासन दिए।

बैठकले कोरोना भइरसका विरूद्ध लड्न स्थानीय पालिकाहरूको नेतृत्वमा स्थानीय तहमा विभिन्न समिति निर्माण गर्ने, प्रदेशका सबै स्थानीय तहको तथ्याङ्क सङ्कलन गर्ने, राहत वितरणको कामलाई एकद्वार प्रणालीबाट वितरण गर्ने, स्थानीय तहले तथ्याङ्कहरू दैनिक मुख्यमन्त्री कार्यलयमा पठाउने, स्थानीय पालिकाहरूसँग नगरपालिका महासङ्घ, गाउँपालिका महासङ्घ, जिल्ला समन्वय समितिहरूले समन्वय गर्ने लगायतका निर्णय गरेको मुख्य मन्त्रीका प्रेस संयोजक ध्रुव सुवेदीले बताए।

लकडाउनको अवधिमा कृत्रिम अभाव हुन नदिन र नागरिकलाई पर्ने समस्याका विषयमा अनुगमन गर्न आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोका संयोजकत्वमा १० सदस्यीय अनुगमन समिति पनि बैठकले गठन गरेको छ। समितिको सदस्यमा राज्यमन्त्रीहरू, विपक्षीदलका नेता, समाजवादी पार्टी, लिम्बुवान् पार्टी र राप्रपाकानेता, प्रदेश योजना आयोगका उपाध्यक्ष, प्रमुख न्यायाधिवक्ता र मुख्यमन्त्रीका आर्थिक सल्लाहकार छन्।

कोरोना सम्बन्धी तत्काल नागरिकलाई राहत, उद्धार गर्नुपर्ने वा उजुरी, गुनासो र सुझाव भए प्रदेश सरकारले स्थापना गरेको कोरोना सूचना डेस्कमा र मोबाइल एप्लिकेसनमार्फत् जानकारी दिन समेत बैठकले सबैलाई अपिल गरेको छ।