लकडाउनमा कडाइ गर्दै भक्तपुर नगरपालिका : घरबाट बाहिर निस्कन वडाको अनुमति पत्र चाहिने

सहयोग रञ्जित/बिजमाण्डू
२०७६ चैत्र १८ गते १६:०२ | Mar 31, 2020

Tata
GBIME
Nepal Life

भक्तपुर। कोरोना भाइरसको सम्भावित संक्रमण नियन्त्रण गर्न भन्दै सरकारले लकडाउन घोषणा गरेको आज ८ दिन पुगिसकेको छ।

सुरुवाती दिनमा उपत्यकामा लकडाउनका समयमा पनि धेरै मानिस घरबाट बाहिर निस्किने क्रम विस्तारै कम हुँदै गयो। बिहान र बेलुकीको समयमा बजारमा किनमेल गर्न मानिसहरु घरबाट बाहिर निस्किए। धेरै स्थानमा शारीरिक दुरी कायम गर्ने नियम लागू भयो।

तर, भक्तपुरमा भने बिहान-बेलुकी मानिसको भीड बढ्दै गयो। लकडाउनको सातौं दिनसम्म पनि मुख्य बजार र गल्लीमा मानिसहरुको आवागमन बढ्दै गयो। भक्तपुर नगरपालिकाले खाद्यान्न किन्नका लागि भने बिहान र बेलुकी बजार खुल्ला गर्ने निर्णय गरेको थियो। यसैको फाइदा उठाउँदै धेरै मानिस घरबाट बाहिर निस्किए।

‘खासमा किसानले उत्पादन गरेको तरकारी खेर नजाओस् भनेर हामीले बिहान-बेलुकी समय छुट्याएका थियौं। तर, यसको दुरुपयोग भएको जस्तो लागेर हामीले अनुमतिपत्रको व्यवस्था गरेका हौं,’ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भने।

उनका अनुसार भक्तपुर नगरपालिकाले हाल लकडाउनमा कडाइ गर्नका लागि घरबाट बाहिर निस्कन पासको व्यवस्था गरेको हो। जसअनरूप अब लकडाउन घोषणा गरिएको समयावधिमा अत्यावश्यक कार्यका लागि मात्र एउटा घरबाट एक जनामात्र बाहिर निस्कन सकिने गरी अनुमतिपत्र वितरण गरिनेछ। वडा कार्यालयहरुमार्फत उक्त पत्र वितरण हुनेछ।

‘मन्दिर लगायतका धार्मिक स्थलहरुमा पूजा, प्रार्थना गर्न, मर्निङ वाक, योग र शारीरिक व्यायामको लागि घरबाट बाहिर निस्कने प्रवृति देखियो। त्यसलाई निरुत्साहित गर्नका लागि नै हामीले अनुमतिपत्रको व्यवस्था गरेका हौं,’ उनले भने।

हाल वडाध्यक्षसहितको टोलीले घरघर गएर अनुमतिपत्र वितरण गर्ने कार्य भइरहेको छ। अनुमति बिना हिँडडुल गर्नेलाई प्रहरीले कारबाही गर्ने प्रजापतिले बताए। यस्तै, लकडाउनको समयावधिमा धेरै भीड भएको स्थानमा तरकारी बजार सञ्चालन गर्न पनि प्रतिबन्ध लगाइएको उनले बताए। जस अनरुप चैत १९ गतेदेखि लागू हुनेगरी दत्तात्रय चोकदेखि वंशगोपालसम्मको मूल सडक र चोकमा तरकारी बजार राख्न पूर्ण निषेध गरिएको छ।

प्रजापति भन्छन्, ‘तरकारी किन्न पनि मानिसहरु एउटा वडाबाट अर्को वडा जाने गरेको पाइयो। अब त्यो हुने छैन। प्रत्येक वडामा सबैलाई पायक पर्ने गरेर तरकारी बजार संचालनमा ल्याइनेछ। अनुमति पत्र भएकाले मात्रै घरबाट बाहिर निस्किएर तरकारी वा अन्य अत्यावश्यक सामान किन्न पाउनेछन्।’

खाद्यान्न, तरकारी औषधी लगायतका सामान किन्ने स्थानमा शारीरिक दुरी कायम गराउने प्रयास गरिरहेको उनले बताए। अनुमतिपत्रमा वडा समेत उल्लेख भएकाले एक वडाबाट अर्को वडा जाँदा समेत प्रश्न सोध्न सकिने उनले बताए।

‘हामीले सबै वडा समेट्ने गरी तरकारी बजारदेखि फोहोर उठाउने व्यवस्था गरेका छौं। अत्यावश्यक काम बिना एउटा वडाबाट अर्को वडा जानै पर्दैन। त्यसैले मानिसको हिँडडुल नियन्त्रण गर्नै नै यो नियम लागू गरेका हौं,’ उनले भने।

नगरपालिकाले नगरभित्रका वडामा १० स्थानमा तरकारी बजार संचालन गर्ने निर्णय गरेको छ। यस्तै, बिहान फोहोर उठाउने गाडी समेत परिचालन गरिरहेको छ। प्रमुख प्रजापतिले भाइरसबाट बच्न हाललाई घर बाहिर ननिस्कनु नै उत्तम उपाय रहेकाले लकडाउन अवधिभर घरभित्रै बसेर सहयोग गर्न नगरवासीलाई आग्रह गरेका छन्।