बागलुङकी कोरोना संक्रमित युवतीलाई घरसम्म पुर्‍याउने ट्याक्सी चालकको भयो पहिचान

रासस
२०७६ चैत्र १८ गते १५:२८ | Mar 31, 2020

Tata
GBIME
Nepal Life

कास्की। बागलुङकी कोरोना भाइरस संक्रमित १९ वर्षीया एक युवतीलाई पोखराबाट उनको घरसम्म पुर्‍याउने स्कार्पियो गाडीका चालकको पहिचान भएको छ।

पोखरा महानगरपालिका-२५ स्थायी घर भई हाल माछापुच्छ्रे गाउँपालिका–३ बस्ने चालक अहिले घरमै सेल्फ–क्वारेन्टाइनमा दैनिक स्वास्थ्यकर्मी र स्थानीय जनप्रतिनिधिको निगरानीमा राखिएको छ। उनको स्वास्थ्य अवस्था सामान्य छ। उनलाई दैनिक तीन पटक स्वास्थ्यकर्मीले तापक्रम लिने गरेका छन्।

युवतीलाई गत शनिवार कोरोना संक्रमण भएको पुष्टि भएपछि पोखराबाट बागलुङ घरसम्म पुग्न उनले गाडी रिजर्भ गरेको खुल्न आएपछि सो गाडीका चालकको खोजी शुरु भएकामा आइतवार चालक स्थानीय जनप्रतिनिधिको सम्पर्कमा आएका हुन्। सोही दिन परीक्षणका लागि पोखरा आएका उनमा कोरोनासँग मिल्दोजुल्दो कुनै पनि लक्षण नदेखिएकाले सामान्य तापक्रम जाँच गरेर घरमा पठाइएको थियो।

स्थानीयवासीले भने उनको स्वाब परीक्षण गर्न माग गरेका छन्। गत चैत ४ गतेपछि लामो समय चालकको अन्य व्यक्तिसँग सम्पर्क भएकाले स्थानीय अहिले त्रसित भएको र उनको स्वाब परीक्षणको माग गरेका हुन्। वडाध्यक्ष सूर्यप्रसाद लम्सालले चालक अहिले घरमा नै रहेको र दैनिक स्वास्थ्यकर्मी पुगेर तापक्रम जाँच्ने र निगरानीमा राख्ने काम भएको बताए। हालसम्म उनमा कोरोनासँग मिल्दोजुल्दो कुनै पनि लक्षण देखा नपरेको उनले जानकारी दिए।

‘चालक अहिले हामीहरुको दैनिक निगरानीमा रहनुभएको छ। उहाँमा अहिले कुनै पनि स्वास्थ्य समस्या देखिएको छैन,’ वडाध्यक्ष लम्सालले भने।

चालकले भने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आफू परीक्षणका लागि गएको तर कुनै पनि लक्षण नदेखिएसम्म स्वाब परीक्षण नगर्ने भनी चिकित्सकले घर पठाएको बताए। प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले चालक आफूहरुको सम्पर्कमा रहेको तथा स्वास्थ्य अवस्था सामान्य रहेको बताए। व्यक्तिमा कुनै पनि लक्षण नदेखिँदासम्म नमूना सङ्कलन गर्न नमिल्ने भएकाले चालकलाई घरमै सुरक्षित साथ बस्न आग्रहसहित पठाइएको उनले जानकारी दिए।

गण्डकी प्रदेशमा २० जनाको रिपोर्ट नेगेटिभ, एकको पोजिटिभ

गण्डकी प्रदेशमा कोरोना भाइरसको आशंकामा सोमवार साँझसम्म ३२ वटा नमूना परीक्षणका लागि संकलन गरिएकामा त्यसमध्ये २१ जनाको रिपोर्ट आइसकेको छ।

त्यसमध्ये २० जनाको नेगेटिभ आएको छ भने एक जनाको पोजिटिभ रिपोर्ट आएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका स्वास्थ्य शिक्षा प्रशिक्षक नवराज शर्माले जानकारी दिए। पोजिटिभ बागलुङकी एक युवतीमा देखिएको थियो। बाँकीको नतिजा आउन बाँकी रहेको छ।

कोरोना संक्रमण फैलन नदिनका लागि हालसम्म प्रदेशअन्तर्गतका विभिन्न जिल्लामा ६४ वटा क्वारेन्टाइनस्थलमा एक हजार ३५२ श्यया तयारी अवस्थामा राखिएको छ। केही क्वोन्टाइनमा वैदेशिक रोजगारीबाट फर्किएकालाई राखिएको समेत बताइन्छ।

त्यसैगरी हालसम्म विभिन्न अस्पतालमा २९९ आइसोलेशन श्यया तयार गरिएको छ। प्रदेशमा एक जना संक्रमित भेटिइसकेकाले संक्रमण थप फैलन नदिनका लागि संक्रमितको उपचार र व्यवस्थापन, कन्ट्याक्ट ट्रेसिङ, द्रुत प्रतिकार्य टोली (आआरटी) परिचालनलगायतलाई तीव्रता दिइएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालय प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रमा कोरोनाका बारेमा जानकारी लिन/दिनका लागि बिहान ८ः०० देखि साँझ ५ः०० बजेसम्म ‘हेल्लो डक्टर हटलाइन सेवा : १०९२’ सुरुवात गरिएकामा हालसम्म १०५ जनाले सेवामार्फत कोभिड-१९ तथा अन्य स्वास्थ्यसम्वन्धी परामर्श लिएको बताइन्छ। हटलाइन सेवामा सर्वसाधारणले कोरोनाका बारेमा सम्पूर्ण जानकारी तथा मिल्दोजुल्दो लक्षण भएमा चिकित्सकको परामर्शसमेत लिनसक्ने व्यवस्था गरिएको छ।