अर्थमन्त्री खतिवडाले भने- नयाँ गभर्नर लकडाउनपछि, सिफारिस समितिको बैठक बस्न पाएन

बिजमाण्डू
२०७६ चैत्र १८ गते १४:५७ | Mar 31, 2020


काठमाडौं। सिफारिस समिति बनाएको सरकारले गभर्नरको नियुक्ति भने लकडाउनपछि गर्ने भएको छ। लकडाउन आगामी २५ गतेसम्म छ।

Tata
GBIME
Nepal Life

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी गभर्नर नियुक्त लकडाउनपछि गरिने बताएका छन्। सरकारी सञ्चार माध्यम रासससँग कुराकानी गर्दै खतिवडाले  भनेका छन्- 'अब यो लकडाउनको अवधि सकियोस्। त्यसपछि हामी निर्णय गर्छौँ।' 

अर्थमन्त्री डा. युवराज खतिवडाले अघिल्लो सोमबारदेखि नै नयाँ गभर्नर नियुक्तिको पहल थाले पनि मंगलबारबाट 'लकडाउन' सुरु भएकाले प्रकृया रोकिएको थियो।

गभर्नर नियुक्ति सिफारिस समितिको संयोजकमा अर्थमन्त्री हुने ब्यवस्था छ।  समितिमा पूर्व गभर्नरहरु मध्येबाट एकजना सदस्य हुन्छन् भने अर्को सदस्यमा सरकारले तोकेको ब्यक्ति हुने प्रावधान छ। यस्तो ब्यक्ति आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय तथा वाणिज्य कानूनको क्षेत्रमा लब्धप्रतिष्ठित हुनु पर्नेछ। 

आगामी गभर्नर नियुक्तिका लागि अर्थमन्त्री खतिवडाले समितिमा पुर्व गभर्नरका तर्फबाट विजयनाथ भट्टराईलाई राखेका छन् भने अर्को एक जनामा पूर्व सचिव कृष्णहरि बाँस्कोटालाई राखिएको छ।

समितिले गभर्नरका लागि सिफारिस गर्दा आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, ब्यवस्थापन तथा वाणिज्य कानुन क्षेत्रको लब्धप्रतिष्ठित ब्यक्तिहरू मध्येबाट दुईजना छान्नु पर्छ। एकजना भने राष्ट्र बैंकका डेपुटी गभर्नर मध्येबाट छान्नुपर्ने कानुनी ब्यवस्था छ। समितिले कुल तीन जनाको नाम सिफारिस गर्छ। तिनै नामभित्र रहेर मन्त्रिपरिषद्ले एक जनालाई गभर्नर नियुक्त गर्छ।