कोरोनाको खोप बनाउन ३५ कम्पनी दौडमा, ‘१८ महिनाभन्दा अघि तयार हुन्छ जस्तो लाग्दैन’

बिजमाण्डू
२०७६ चैत्र १७ गते १९:५२ | Mar 30, 2020
कोरोनाको खोप बनाउन ३५ कम्पनी दौडमा, ‘१८ महिनाभन्दा अघि तयार हुन्छ जस्तो लाग्दैन’

विश्वभर कोभिड १९ अर्थात नोवेल कोरोना भाइरस यतिसम्म झाँगिएको छ कि सबैभन्दा प्रभावकारी र ‘ड्रेकोनियन’ (अत्यधिक कठोर र गम्भीर) मानिने रोकथामका रणनीतिहरुले पनि श्वासप्रश्वाससँग सम्बन्धित यो रोगको संक्रमण गतिलाई कम गर्नमात्रै सकेका छन्। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले यसलाई ‘पान्डेमिक’ (विश्वव्यापी महामारी) घोषणा गरिसकेपछि सबैको ध्यान यसको खोप बनाउनमा गएको छ। किनकी खोपले मात्रै मानिसहरुलाई यसको संक्रमणबाट बचाउन सक्छ।

Tata
GBIME
Nepal Life

करिब ३५ वटा कम्पनी तथा शैक्षिक संस्थानहरु यसको खोप बनाउने दौडमा छन्। जसमध्ये चार कम्पनीले जनावरमा खोपको परीक्षण शुरु गरिसकेका छन्। अमेरिकाको बोस्टन शहरस्थित बायोटेक फर्मले बनाएको खोप छिट्टै मानिसमा परीक्षण गरिने बताइएको छ।

खोप उत्पादनको अप्रत्यासित गतिको श्रेय भने चीनलाई जान्छ। चिनियाँ वैज्ञानिकहरुले नै गत जनवरीको सुरुवातमा ‘सार्स सिओभी-२’ (कोभिड १९ को संक्रमण गराउने भाइरस)को जेनेटिक मेटेरियलको सिक्वेन्स पत्ता लगाइ विश्वमाझ शेयर गरेका थिए। त्यसपछि नै विश्वभरका अनुसन्धानकर्ताहरुले सो भाइरसको बारेमा अनुसन्धान गर्ने तथा मानव कोषमा कसरी प्रवेश गर्छ र कसरी मानिसलाई बिरामी पार्छ भन्ने अध्ययन गर्न मेलो पाएका हुन्।

यो सफलताका पछाडि अर्को पनि एउटा कारण छ। विश्वलाई नै आतंकित बनाउने संक्रमण कोरोना भाइरस बन्छ भन्ने कसैले कल्पना नगरेको भए पनि भ्याक्सिनोलोजिस्टहरुले प्याथोजिनको प्रोटोटाइप (नमुना) बनाउन आफ्नो सबै कुरा दाउमा लगाएका थिए।

‘हामीले कोरोना भाइरसको खोप बनाउन गरेको लगानीका कारणले निकै तीव्र गतिमा सफलता पाइएको हो,’ नर्वेको राजधानी ओस्लोस्थित गैरनाफामूलक संस्था कोयलिसन फर एपिडेमिक प्रिपियर्डनेस इनोभेसन्स (सेपी)का सिइओ रिचर्ड ह्याचेटले भने। ‘सेपी’ कोभिड १९ खोपको विकासमा आर्थिक लगानी तथा संयोजन गरिरहेको संस्था हो।

कोरोना भाइरसले यसअघि पनि दुई ओटा महामारी निम्त्याइसकेको छ : सन् २००२ देखि २००४ मा चीनमा ‘सिभियर एक्युट रेस्पिरेटोरी सिन्ड्रम’ (सार्स) र २०१२ मा मध्यपूर्वी देशहरुमा ‘मिडल इस्ट रेस्पिरेटोरी सिन्ड्रम’ (मर्स) जुन साउदी अरेबियाबाट शुरु भएको थियो। दुवै पटक खोपको लागि प्रयत्न गरिएको भए पनि ‘आउटब्रेक’ नियन्त्रणमा आएपछि स्थगित गरिएको थियो। त्यतिबेला खोप बनाउने प्रयास गरेको अमेरिकाको मेरिल्यान्डमा अवस्थित ‘नोभाभ्याक्स’ कम्पनीले ‘सार्स सिओभी-२’को लागि पुनः खोप बनाएको र मानिसमा परीक्षण गर्न तयार रहेकोसमेत बताएको छ। मेरिल्यान्डकै अर्को कम्पनी ‘मोडर्ना’ले पनि यसअघि अमेरिकाको नेसनल इन्स्टिच्युट अफ एलर्जी एन्ड इन्फेक्सियस डिजिजमा रिसर्च गरिएको ‘मर्स’ भाइरसविरुद्धको खोपमा काम गरिरहेको छ।

यसअघि ‘सार्स’ निम्त्याएको भाइरससँग ‘सार्स सिओभी-२’ को ८० देखि ९० प्रतिशत जेनेटिक मेटेरियल मिलेको छ। सोही आधारमा यसको नामाकरण गरिएको हो। दुवै भाइरसमा गोलाकार प्रोटिन क्याप्सुलभित्र राइबोन्युक्लिक एसिड (आरएनए) हुन्छ, जसलाई काँडा जस्तो बाहिरी सतहले ढाकेको हुन्छ। सोही काँडे सतहको माध्यमबाट मानव फोक्सोमा भएको कोषको तहमा हुने ‘रिसेप्टर’मा यो भाइरस अड्किन्छ। दुबै भाइरसले एउटै ‘रिसेप्टर’ प्रयोग गर्ने गरेको पाइएको छ। सोही माध्यम भएर भाइरस मानव कोषमा प्रवेश गर्दछ। मानव कोषमा प्रवेश गरिसकेपछि यसले कोषको ‘रिप्रोडक्टिभ मेसिनरी’ (प्रजनन् प्रणाली)लाई ‘हाइज्याक’ गर्छ र आफूलाई वृद्धि गर्न शुरु गर्छ। बाहिर निस्किने प्रकियामा यसले मानव कोषलाई नष्ट गरिदिन्छ।

यही आधारभुत सिद्धान्तको आधारमा सबै खाले खोपले काम गर्ने हुन्। खोपले आंशिक वा पूर्ण रुपमा सो प्याथोजिनलाई मानिसको रोग प्रतिरोधात्मक प्रणालीसमक्ष पुर्‍याउँछ, तर कम डोज मात्रै। जसले रोग प्रतिरोधात्मक प्रणालीलाई प्याथोजिनविरुद्धको ‘एन्टिबोडी’हरु उत्पादन गर्न प्रोत्साहित गर्छ। ‘एन्टिबोडी’हरु भनेका ‘इम्युन मेमोरी’ (रोग प्रतिरोधी तत्व) हुन् जुन रोग प्रतिरोधात्मक प्रणालीले एक पटक उत्पादन गरिसकेपछि यदि फेरी उक्त मानिसमा सोही भाइरसको संक्रमण देखिए पुनः आफै उत्पादन हुन्छन्।

यसअघि यस्तो खोपका लागि जिउँदो तर कमजोर स्वरुपमा रहेको भाइरसको प्रयोग हुन्थ्यो। त्यस्तै भाइरसकै आंशिक भाग वा पूरै भाइरस नै पनि ताप वा केमिकलबाट निश्क्रिय पारेर प्रयोग गर्ने गरिन्थ्यो। तर, यस्तो विधिमा केही कमजोरीहरु छन्। जिउँदो भाइरस प्रयोग गर्दा यो मानव शरीरमा विकसित हुन सक्छ अथवा अन्य स्वरुपमा परिवर्तन हुन सक्छ। यसरी प्रयोग भएका भाइरसहरुले मानव शरीरमा पुगेपछि पुनः आफ्नो क्षमता फिर्ता गर्दै मानिसलाई बिरामी बनाएका उदाहरण पनि छन्। जसबाट सुरक्षित रहन उच्च डोजको निश्क्रिय भाइरस आवश्यक पर्छ। अहिले सञ्चालन भइरहेका केही कोभिड-१९ भ्याक्सिन प्रोजेक्टहरुमा यही यसअघि नै परीक्षण भइसकेका विधिहरु प्रयोग भएका छन् भने अन्यले नयाँ टेक्नोलोजीको प्रयोग गरिरहेका छन्।

‘नोभाभ्याक्स’ले अर्को नयाँ रणनीतिको प्रयोग गरेको छ, जसमा ‘रिकम्बिनेन्ट भ्याक्सिन’ (डिएनएसँग सम्बन्धित) बनाइन्छ। यो विधिमा ‘सार्स सिओभी-२’ को ‘प्रोटिन स्पाइक’ (बाहिरी काँडे सतह, भाइरसको त्यो भाग जसले रोग प्रतिरोधात्मक प्रणालीमा छेडखानी गर्छ)को जेनेटिक कोड कपी गरिन्छ र ब्याक्टेरिया अथवा यिस्टको ‘जिनोम’मा ‘पेस्ट’ गरिन्छ। जसबाट यी सुक्ष्मप्राणीहरुले ठूलो मात्रामा प्रोटिन उत्पादन गर्छन्। यो भन्दा पनि नयाँ अर्को टेक्नोलोजी भनेको प्रोटिनलाई बाइपास गरी ‘जेनेटिक इन्स्ट्रक्सन’बाट खोप बनाउने हो। यो टेक्नोलोजी ‘मोडर्ना’ र बोस्टोनस्थित ‘क्योरभ्याक’ले प्रयोग गरिरहेका छन्। यी दुवै कम्पनीहरुले आरएनएका आधारमा कोभिड-१९ भ्याक्सिनको उत्पादनमा काम गरिहेका छन्।

‘सेपी’ले पनि यसअघिका चारवटा पुराना कोभिड-१९ भ्याक्सिनका प्रोजेक्ट छोडेर यी नयाँ टेक्नोलोजीमा लगानी शुरु गरेको छ। गत हप्तामात्रै ‘सेपी’ले ‘नोभाभ्याक्स’ र अक्सफोर्ड युनिभर्सिटीसँग ४.४ मिलियन डलरको लगानी सम्झौताको घोषणा गरेको थियो।

‘हाम्रो खोप विकासको अनुभवले के भन्छ भने कहाँ गएर ठक्कर खाइन्छ भन्ने कुराको पूर्वानुमान गर्न सकिन्न,’ ह्याचेटले भने।

अर्थात विविधता मुख्य कुरा हो। र, खोपको विकासमा असफल हुन सक्ने चरण भनेको क्लिनिकल अथवा मानवीय परीक्षण हो, जुन केही खोपका नमुनाहरु जाने प्रकियामा छन्।

खोपको नियामक स्वीकृतिको लागि अत्यावश्यक मानवीय परीक्षण तीन चरणमा हुन्छ। पहिलो चरणमा खोपको सुरक्षासम्बन्धी परीक्षण गरिन्छ र असरहरु पत्ता लगाइन्छ। यस चरणमा केही दर्जन स्वास्थ्य स्वयंसेवक (जसमा खोपको परीक्षण गरिन्छ)को प्रयोग गरिन्छ। दोस्रो चरणमा खोपको प्रभावकारिताको परीक्षण हुन्छ। जुन संक्रमण फैलिएको विश्वको कुनै क्षेत्रका सयौँ मानिसमा परीक्षण गरिन्छ। र, तेस्रो चरणमा केही हजार मानिसमा सोही परीक्षण हुन्छ। तर, यी चरणहरु पार हुँदै गर्दा थुप्रै कटौतिहरु पनि सँगसँगै हुन्छ।

यसको पछाडि सकारात्मक कारण छ, या त त्यो नमुना असुरक्षित छ, या त प्रभावहीन, अथवा दुवै हुन सक्छन्। खोपको सम्भावित सबै असफलताबारे जानकारी लिनु निकै महत्वपूर्ण हुन्छ, त्यसैले खोपको मानवीय परीक्षणको चरण फड्किने अथवा हतारमा गरिँदैन। तर, यदि सोही प्रकारका नमुनाहरु यसअघि नै स्वीकृत भइसकेका भए चाहिँ नियामक निकायले स्वीकृतिको प्रकृयालाई गति दिन सक्छ। ‘सार्स सिओभी-२’ भने मानिसको लागि नयाँ प्याथोजिन हो र यसको लागि बनाइएका धेरै टेक्नोलोजीहरुको यसअघि परीक्षण भएको पनि छैन।

जेनेटिक मेटेरियल (आरएनए अवथा डिएनए)बाट बनाइएका जति पनि खोपहरुले हालसम्म स्वीकृति पाएका छैनन्। त्यसकारण पनि कोभिड-१९ खोपका नमुनाहरुलाई नयाँ खोपको रुपमा परीक्षण गर्नुपर्ने हुन्छ।

उदाहरणको रुपमा सन् १९६० मा उत्पादन गरिएको खोपलाई लिन सकिन्छ, जुन बालबालिकामा रुघाखोकी जस्तो लक्षण देखिने संक्रमण ‘रेस्पिरेटोरी सिन्सिटियल भाइरस’विरुद्ध परीक्षण गरिएको थियो। तर, क्लिनिकल परीक्षणमा उक्त खोपले संक्रमणलाई अझै बढाएको पाइयो। यस्तै प्रकारको असर ‘सार्स’को यसअघि जनावरमा परीक्षण गरिएको खोपमा पनि देखिएको थियो। तर, पछि उक्त असर हटाउन खोपको परिमार्जन गरिएको थियो। अहिले सो खोपलाई ‘सार्स सिओभी २’ को लागि पुनः परीक्षण गर्न लाग्दा यसलाई सुरक्षित बनाउने र असरहरुलाई हटाउने प्रकृयामा लैजानुपर्ने हुन्छ।

यिनै कारणहरुले गर्दा खोपले पूर्ण रुपमा स्वीकृति पाउन दशक अथवा त्यो भन्दा पनि बढी लाग्न सक्छ।

‘अरु भ्याक्सिनोलोजिस्ट जस्तै मलाई पनि यो खोप १८ महिनाभन्दा अघि तयार हुन्छ जस्तो लाग्दैन,’ लण्डन स्कुल अफ हाइजिन एण्ड ट्रोपिकल मेडिसिलकी प्रोफेसर एनेलिस वाइल्डर स्मिथले भनिन्, ‘जुन त्यत्तिकै पनि छिटो हो र त्यसलाई छोट्याउन मिल्दैन।’

यसबीचमा अर्को सम्भावित समस्या पनि देखिन सक्छ। यदि खोपले मान्यता पाइहाले पनि यो निकै ठूलो मात्रा आवश्यक पर्नेछ र अहिले कोभिड-१९ को खोप बनाउने दौडमा रहेको कुनै पनि संस्थासँग त्यो क्षमता छैन। व्यापारिक रुपमा खोपको विकासलाई जोखिमपूर्ण काम मानिन्छ। किनकी निकै थोरै नमुना मात्रै क्लिनिकल टेस्टसम्म पुग्छन्। उत्पादनलाई कुनै निश्चित खोप केन्द्रित गर्नुपर्ने हुन्छ, र उत्पादन सफल हुन्छ या हुन्न भन्ने नै थाहा नभएको अहिलेको अवस्थामा त्यसको मुल्यांकन सम्भव छैन।

‘सेपी’ र अन्य केही संस्थाहरुले यस्ता जोखिमलाई आत्मसाथ गर्दै खोप विकासलाई प्रोत्साहन गरिरहेका छन्। ‘सेपी’ले कोभिड-१९ को खोपको विकास र उत्पादन क्षमता बढाउने कार्यलाई सँगसँगै लैजाने योजना अघि सारेको छ। जसको अनुमतिको लागि उसले मार्च महिनाको सुरुवाततिर दुई बिलियन डलर लगानीको आह्वान गरेको थियो।

कोभिड १९ को खोपले मान्यता पाइसकेपछि केही अन्य चुनौतिहरु पनि देखिन थाल्नेछन्।

‘मानिसका लागि सुरक्षित र प्रभावकारी सावित भएका एक तिहाई खोप मात्रै विश्वव्यापी खोप कार्यक्रमसम्म पुग्छन्’, ड्युक युनिभर्सिटीका ग्लोबल हेल्थ एक्सपर्ट जोनाथन क्विक भन्छन्, ‘भाइरस बायोलोजी र भ्याक्सिन टेक्नोलोजी केही हदसम्म चुनौति होला तर राजनीतिक तथा आर्थिक पक्ष खोप कार्यक्रमका ठूला बाधक हुन्।’

आवश्यक परेका सबैले खोप पाउने कुराको सुनिश्चितता नै चुनौतिपूर्ण छ। देशभित्रै पनि यो एउटा चुनौतिको रुपमा रहनेछ जसको लागि केही देशले आफ्नै रणनीति बनाएका छन्। उदाहरणको लागि बेलायतले फ्लू पान्डेमिकका बखत स्वास्थ्यकर्मी र सामाजिक हेरचाह कार्यकर्तासँगै उच्च जोखिममा रहने बालबालिका र गर्भवती महिलाहरुलाई खोपको लागि प्राथमिकता दिनेछ। जसको उद्देश्य संक्रमण र मृत्युदरलाई सक्दो घटाउनु हो। अर्कोतर्फ, पान्डेमिकमा देशदेशले औषधिको लागि एकअर्कासँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ।

कमजोर र अपर्याप्त लगानी भएको स्वास्थ्य प्रणाली हुने देशहरुमा पान्डेमिकको प्रभाव बढी पर्ने भएकाले खोपको आवश्यकता र खरिद क्षमतामा अन्तर्निहित असन्तुलन देखिन्छ। सन् २००९ मा एच१एन१ फ्लू पान्डेमिकका दौरान सम्पन्न राष्ट्रहरुले सबै खोप आफ्नो अधीनमा राखे। जसकारण गरिब देशहरुमा यसको अभाव खड्कियो।

पान्डेमिकबाहेकको समयमा डब्लुएचओले सरकार, परोपकारी संस्था र खोप उत्पादकलाई एक ठाउँ बनाएर समान विश्वव्यापी वितरण रणनीतिको लागि सम्झौताको वातावरण सिर्जना गरिदिन्छ। त्यसबखत ‘ग्याभी’ जस्ता खोप गठबन्धन संस्थाले गरिब देशका लागि सहयोग कार्यक्रममार्फत खोप आपूर्तिको सुनिश्चितता गरिदिन्छन्। तर, हरेक पान्डेमिकको समय फरक हुन्छ, जतिबेला कुनै पनि देश डब्लुएचओको व्यवस्था मान्न बाध्य हुँदैनन्।

ग्याभीका सिइओ सेथ बर्कली भन्छन्, ‘गम्भीर प्रश्न के हो भने, राष्ट्रिय संकट आइपरेका देशहरुको अवस्था के होला?’

कोभिड १९ को खोप कहिले तयार हुन्छ भन्ने विषय एउटा बहसको विषय हो तर यसले निश्कर्ष पाएको हेर्न केही समय भने पक्कै लाग्नेछ।

वाइल्डर स्मिथ भन्छिन्, ‘खोप आउँदासम्म यो पान्डेमिक चरम विन्दुमा पुगेर घट्दो क्रममा आइसकेको हुनेछ।’

यद्यपि खोपले धेरै जनाको जीवन बचाउनेछ। विशेषगरी भाइरसले इन्डेमिक (बारम्बार देखापर्ने अवस्था)को रुप लिए त्यतिबेला खोपले यसको नियन्त्रणमा निकै ठूलो भूमिका खेल्नेछ। यसको मौसमी आउटब्रेकको पनि उत्तिकै सम्भावना छ नै। तर खोप उपलब्ध नहुँदासम्म रोग नियन्त्रण हुने आशामात्रै गर्न सकिन्छ। र, एउटै सल्लाह दिन सकिन्छ : नियमित हात धुने।