महामारीको जानकारी दिन काठमाडौ महानगरले सुरु गर्‍यो मोबाइल एप, घरमै बसेर कोरोनाको परीक्षण

बिजमाण्डू
२०७६ चैत्र १७ गते १३:३३ | Mar 30, 2020


काठमाडौं। कोरोना भाइरस (कोभिड—१९) को सम्भावित महामारिमाथी निगरानी गर्न काठमाडौं महानगरपालिकाले ‘नेपाल कोभिड १९ निगरानी प्रणाली’ मोबाइल एप सार्वजनिक गरेको छ। 

Tata
GBIME
Nepal Life

महानगरका प्रमुख विद्यासुन्दर शाक्यले प्रणाली निर्माणकर्ताहरुलाई भिडियो कन्फरेन्समा जोडेर प्रणालीको सुरुवात गरेका छन्।

प्रणालीमा प्राप्त सूचनालाई रोगसँग सम्बन्धित विशेषज्ञ डाक्टर, तथ्याङ्क विशेषज्ञ, भौगोलिक सूचना–प्रविधि विशेषज्ञले तथ्य विश्लेषण गरेर त्यसका आधारमा जिज्ञासु प्रयोगकर्ता र महानगरलाई अवस्थाका बारेमा प्रणालीले सूचना दिनेछ।

तथ्य विश्लेषणपछि बिरामीले सावधानी अपनाउनु पर्ने नपर्ने, घरमै सुरक्षित बस्दा हुने वा स्वास्थ्य संस्थामा जानुपर्ने ,विशेषज्ञ स्वास्थ्य सेवा आवश्यक पर्ने कि नपर्ने जस्ता बिरामीका अवस्था थाहा पाउन सकिन्छ। 

यस प्रणालीबाट संक्रमणको आशंका भएका व्यक्तिहरु अस्पताल गएर भीड हुने अवस्थामा कमी ल्याउँछ। महानगरले तथ्यमा आधारित स्वास्थ्य सेवा प्रवाह गर्ने वातावरण पाउँछ र व्यक्तिले घरबाटै सेवा पाउने अवसर पाउँने महानगर प्रमुख शाक्यले बताए।

पछिल्लो संवेदनशील परिस्थितिलाई ध्यानमा राखेर यो प्रणाली विकास गरिएको उनले बताए। ‘सेवा दिनुपर्ने ठाउँमा उपचार नगरी नहुने बिरामी मात्र भए भने सेवाप्रवाहमा अनावश्यक झन्झट र खर्च गर्नु पर्दैन। हामी हाम्रा सेवालाई चुस्त र ब्यवस्थित बनाउँदै लाँदैछौं। प्रणाली यसका लागि पनि हो’ उनले भने।

प्रमुख शाक्यलेअहिलेसम्म प्राप्त ज्ञान र अनुभवबाट विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको तथ्यको आधारमा तयार पारिएको प्रणालीले कोभिड–१९ को संक्रमणको सम्भावनालाई सजिलोसँग पहिचान गर्न र व्यक्तिको स्थितिको गम्भीरता आफैँले स्वमुल्याङ्कन गर्न सघाउने दावी गरे।

यसलाई थप व्यवस्थित गर्न आवश्यक पर्दा महानगरपालिकाको सहयोगमा सञ्चालन भएको नेपाल एम्बुलेन्स सेवा (१०२) लाई परिचालन गरेर सेवा छिटो र उपचारलाई गुणस्तरीय बनाउन सकिने उनले बताए। 

यो प्रणाली अहिलेका लागि कोभिड नियन्त्रणका लागि तयार गरिएको हो। महामारी नियन्त्रणमा आइसकेपछि यसलाई महानगरले नियमित प्रयोगमा ल्याउन सक्छ। प्रणालीका बिकासकर्ता एवं सुचना प्रणालीविज्ञ भुषणराज श्रेष्ठका अनुसार महामारी नियन्त्रणका लागि बिश्व अनुभवबाट प्राप्त ज्ञानको प्रयोग काठमाडौंका लागि नयाँ हो।

मलाई संक्रमण भयो कि भनेर मनमनै डर राख्ने तर स्वास्थ्यकर्मीको पहुँचमा जान अप्ठ्यारो मानीरहेका व्यक्तिहरुका लागि यो सजिलो उपाय हो। 

नेपाल रिसर्च एडुकेशन नेटवर्क, जनस्वास्थ्य सरोकार ट्रष्ट, इनोभेटिभ सोलुसन, नेपाल डिजास्टार–इमर्जेन्सी मेडिसिन सेन्टरलगायतका संघसंस्थाको साझेदारितामा यो प्रणाली बिकास गरिएको हो। प्रणालीले महामारी नियन्त्रण गर्नु पर्ने जटिल परिस्थितिमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबीच समन्वयन गर्न र एकीकृत कार्यक्रम तर्जुमा गर्न मद्दत गर्नेछ। 

त्यस्तै संक्रमणको शंका लागेका व्यक्तिले अनावश्यक चिन्ता र मानसिक तनाव लिएर बस्नुको सट्टा आफ्नो यथार्थ स्थितिबारे उपयुक्त स्रोत र विधि तथा वस्तुगत रुपमै स्पष्ट भएर उपयुक्त निर्णय लिन प्रणालीले सहयोग गर्ने अपेक्षा गरिएको छ। 

कसरी लिन सकिन्छ जानकारी ?
यो एप्लिकेसन गुगलको ‘प्लेस्टोर’ बाट डाउनलोड गरी इन्स्टल गर्न सकिन्छ। यसको प्रयोग गर्दा प्रयोगकर्ताले त्यसमा सोधिएका केही प्रश्नको उत्तर दिनुपर्छ। अवस्थाको परिवर्तनका बारेमा थाहा दिन बिहान, दिउँसो र बेलुका गरी दिनको तीन पटक आफ्नो स्थितिबारे थाहा दिनुपर्नेछ।

यसरी सोधिएको प्रश्नको सूचना पठाएपछि ड्यासबोर्डमा रहेका डाक्टर लगायतका स्वास्थ्यकर्मीहरुले तत्काल देख्नेछन् र विश्लेषण गर्नेछन्।  
स्वास्थ्यकर्मीले तपाईँ कोभिड-१९ (कोरोना) को जोखिममा हुनुहुन्छ कि हुनुहुन्न, जोखिम छ भने कति छ? स्थिति कुन दिशातर्फ जाँदैछ, निको हुँदैछ कि रोग बढ्दैछ? भन्ने सूचना पाउनेछन्। उनीहरुले पाएको सूचनाका बिश्लेषण गरेर तपाईलाई तपाईको अवस्थाका बारेमा एप्लिकेसनबाट थाहा दिनेछन्। यसमा तपाईँ घरमै ‘सेल्फ क्वाराइन्टाइन’मा बस्नु पर्ने नपर्ने, अस्पतालमा भर्ना हुनुपर्ने वा नपर्ने सल्लाह दिनेछन्। 

यससँग सम्बन्धित सूचना सम्बन्धि अधिकार महानगरपालिकासँग मात्र हुनेछ। यसमा बिरामीको गोपनीयतालाई सुरक्षित राखिने भएकोछ। यसरी सल्लाह दिनका लागि आपतकालीन स्वास्थ्यविज्ञ डा. रमेशकुमार महर्जन, जनस्वास्थ्य विज्ञ डा. सरोज धिताल, सूचना प्र्रणालीविज्ञ भूषणराज श्रेष्ठलगायतको टोलीले काम गर्नेछ।