वीरगंज-पथलैया करिडोरमा खाद्यान्न ढुवानी गर्न राति ९ बजेदखि बिहान ७ बजेसम्मको समयसीमा

बिजमाण्डू
२०७६ चैत्र १५ गते १०:२२ | Mar 28, 2020

Tata
GBIME
Nepal Life

वीरगंज। वीरगंज-पथलैया करिडोरका करिब १ दर्जन भन्दा बढी खाद्यान्न, औषधिलगायत उद्योगहरुको लागि स्थानीय प्रशासनले राति ९ बजेदखि बिहान ७ बजे सम्मको समयसीमा तोकेको छ।

वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले वीरगंजका अति आवश्यक तथा खाद्यान्न उद्योग नियमित सञ्चालनको लागि वीरगंजका मेयर विजयकुमार सरावगीको पहलमा पर्सा-बाराका सुरक्षाअधिकारीसँग यो समय निर्धारण गरिएको बताए। 

चामल, तेल, दाल, पशु दाना, औषधि, साबुन, सर्फलगायत आवश्यक सामान उत्पादन गर्ने उद्योगका मजदुरलाई सुरक्षाकर्मीले रोक नलगाउने पनि स्थानीय प्रशासनले प्रतिबद्धता जनाएको उनले बताए।

‘आजै (शुक्रबार) बैठक बसी सरोकारवालाहरुसँग यस्तो निर्णय भएको छ,’ उनले भने, ‘देशमै खाद्यान्न संकट र औषधिको अभाव हुन नदिन यी उद्योगहरु सञ्चालन गर्ने निर्देशन छ, त्यसको लागि सहायक सुविधा प्रशासनले दिने जनाएको छ।’

ड्राईपोर्ट भन्सार पनि सञ्चालन गर्ने तयारी

वीरगंजस्थित श्रीसिया सुक्खा बन्दरगाहलाई सञ्चालन गर्ने पनि तयारी भइरहेको वीरगंजका उद्योगीहरुले बताएका छन्।

बन्दरगाहबाट कन्टेनर नउठेको कारण २५ सय भन्दा बढी कन्टेनर थुप्रिएपछि भारतबाट आगामी दिनमा आउने कन्टेनर कहाँ राख्ने बारे चिन्ता भइरहेको अवस्थामा वीरगंजका उद्योगी, क्लियरिङ एजेन्ट, सवारी चालक सबैको प्रयासमा बन्दरगाह भन्सार सञ्चालन गर्ने तयारी भएको वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले बताए।

‘सबै जना मिलेर आजैदेखि काम शुरु भइसकेको छ,’ उनले भने, ‘शुक्रवार रातिदेखि कन्टेनर बोकेर गाडी निस्किनेछ।’ डाईपोर्ट सञ्चालन नभए जटिल समस्या उत्पन्न हुने उद्योगी व्यवसायीको भनाइ छ।