कृष्णनगर नाकाबाट खाद्यान्न पनि आउन सकेन, मुख्य भन्सार कार्यालयको असुली खुम्चियो

अनन्तराज न्यौपाने/बिजमाण्डू
२०७६ चैत्र १४ गते १३:४० | Mar 27, 2020
कृष्णनगर नाकाबाट खाद्यान्न पनि आउन सकेन, मुख्य भन्सार कार्यालयको असुली खुम्चियो

विराटनगर। लकडाउनका अवधिमा भन्सार नाकाबाट दैनिक उपभोग्य वस्तु र अत्यावश्यक सामग्रीको जाँचपास गर्ने भनिए पनि कृष्णनगर भन्सार कार्यालयमा शुक्रबार यस्ता वस्तु आउन सकेका छैनन्।

Tata
GBIME
Nepal Life

भारतीय सुरक्षाकर्मीले कृष्णनगर नाका आउन लागेका ढुवानीका साधन सञ्चालन हुन नदिएपछि भन्सार परिसर शून्य भएको हो।

कार्यालयका सूचना अधिकृत वासुदेव नेपालले भारतबाट शुक्रबार बिहानदेखि दैनिक उपभोग्य वस्तुका गाडी आउन नसकेको पुष्टि गरे।

अधिकृत नेपालका अनुसार बिहिबारसम्म धान, चामल लगायतका खाद्यान्नका गाडी भित्रिरहेका थिए। तर शुक्रबार एक बजेसम्म आएका छैनन्। 

यसका लागि कार्यालयले जिल्ला प्रशासनको समन्वयमा पारिको भन्सारका अधिकारी र प्रहरी अधिकृतसित कुरा गरी सहजीकरण गर्ने नेपालले जानकारी दिए।

दैनिक डेढ करोडको हाराहारीमा राजस्व सङ्कलन गरिरहेको कृष्णनगर भन्सारले लकडाउनको पहिलो दिन १ करोड ११ लाख असुली गरे पनि १२ गते २२ लाख र १३ गते ११ लाख मात्र सङ्कलन गर्न सकेको छ ।

भैरहवा भन्सारमा भने लकडाउनको पहिलो दिन अर्थात् चैत ११ गते १ पैसा पनि राजस्व उठेन । 

सामान्य अवस्थामा दैनिक २० देखि २५ करोड राजस्व सङ्कलन गर्दै आएको भैरहवा भन्सारले १२ गते डेढ करोड र १३ गते २ करोड ६० लाख जम्मा गरेको छ । 

भन्सार प्रमुख कमलकुमार भट्टराईका लकडाउनको घोषणायता व्यापारिक मालवस्तु र औद्योगिक कच्चा पदार्थको पैठारी ठप्प छ । पेट्रोलियम पदार्थ, ग्यासका बुलेट, चामल, धान र तरकारीको पैठारी भइरहे पनि सधैँभन्दा कम परिमाणमा भएको छ । 

‘जति माल आएको छ, सबै हरेक दिन क्लियरेन्स गरिरहेका छौँ’, प्रमुख भट्टराईले भने, ‘शुक्रबार बिहान पनि अत्यावश्यक अन्तर्गत पर्ने केही सामान भित्रिएका छन् ।’

विराटनगर भन्सार कार्यालयमा पनि दैनिक असुली खुम्चिएको छ । सामान्य अवस्थामा प्रति दिन १२ देखि १५ करोडको हाराहारीमा राजस्व जम्मा गरिरहेको यस कार्यालयले ११ गते २ करोड ९२ लाख, १२ गते ३ करोड ७४ लाख र १३ गते २ करोड २३ लाख मात्र सङ्कलन गरेको छ ।

कार्यालयका अधिकृत गोपीकृष्ण उप्रेतीले यस नाकाबाट पाम र सोयाबिन तेल मुख्य रूपमा निकासी भए पनि लकडाउनको घोषणा भएपछि बन्द भएको जानकारी दिए ।

‘ग्यास, पेट्रोलियम पदार्थ र खाद्यान्न थोरै थोरै परिमाणमा आइरहेको छ’, अधिकृत उप्रेतीले भने, ‘उता पनि लकडाउन भएका कारणले मालवाहक गाडी आउने क्रम पातलो भएको छ । सबै मिलाएर दैनिक ३ सय वटा सवारी साधन आइपुग्ने विराटनगर भन्सारमा हिजोआज मुस्किलले ८–१० वटामात्र आइरहेका छन् ।