खाद्यान्न उत्पादन र आपूर्ति सहज बनाउन केएल दुगड ग्रुपको आग्रह, मजदुर हिडडुल गर्न पाएनन्

बिजमाण्डू
२०७६ चैत्र १४ गते १२:३० | Mar 27, 2020
खाद्यान्न उत्पादन र आपूर्ति सहज बनाउन केएल दुगड ग्रुपको आग्रह, मजदुर हिडडुल गर्न पाएनन्

Tata
GBIME
Nepal Life

काठमाडौं। केएल दुगड ग्रुपले खाद्यान्न उत्पादन र आपूर्तिमा सहजीकरण गरिदिन सरकारसँग आग्रह गरेको छ।

लकडाउनमा अत्यावश्यक वस्तु आपूर्ति निर्वाध हुने बताएपनि ट्रक नियन्त्रण र मजदुरलाई हिडडुलमा रोक लगाउँदा खाद्यान्न घरघरमा पुर्‍याउन समस्या भएपछि सहजीकरणका लागि समूहले आग्रह गरेको हो।

कम्पनीका प्रबन्ध निर्देशक कुमुद दुगडले खाद्यान्न आपूर्ति सहज बनाउन सरकारी निकायले सहजीकरणको भूमिका खेल्नुपर्ने बताए। 'लकडाउन भएका बेलामा खाद्यान्न आपूर्ति सहज बनाउन हामीले भरमग्दुर कोशिश गरिरहेका छौं। बिहीबारबाट काठमाडौंको स्थानीय प्रशासनले सहयोग गरेपछि केही स्थानमा खाद्यान्न पुर्‍याएका थियौं। शुक्रबार पनि हामीले खाद्यान्न पुर्‍याइरहेका छौं,' उनले बिजमाण्डूसँग भने, 'तर मजदुर आउन र जान समस्या भइरहेको छ।'

उनले स्थानीय प्रशासनले खाद्यान्न आपूर्ति गराउन प्रोत्साहन गर्नुपर्ने बताए। 'प्रकोपको समयमा मजदुरलाई काममा ल्याउननै समस्या हुन्छ। उनीहरुलाई विभिन्न प्रोत्साहन दिएर ल्याउनुपर्छ,' दुगडले भने, 'यस्तो कठिन परिस्थितिमा काम गरिरहेका उद्योगीलाई पनि प्रोत्साहित गर्नुपर्ने हो।' उनका अनुसार खाद्यान्न उद्योग पनि संचालन हुन सकेका छैनन्।

उनका अनुसार विराटनगर र वीरगंजको खाद्यान्न उद्योग बन्द छ। ३० वर्षदेखि खाद्यान्न उत्पादन गर्दै आएको यो समूहले ज्ञान ब्राण्डमा विभिन्न खाद्य पदार्थ बिक्रीवितरण गर्दै आएको छ। यो समूहले धारा सनफ्लवार, तोरीको तेल र सनफ्लो ब्राण्डको तेल बिक्री गर्दै आएको छ।