भूकम्प र नाकाबन्दीभन्दा पनि अप्ठेरो अवस्थामा अर्थतन्त्र: कोरोनाले वाह्य क्षेत्र डामाडोल हुँदै





काठमाडौं। चीनबाट संसारभर फैलिएको कोरोना भाइरसले नेपाली स्वास्थ्यलाई अहिलेसम्म संक्रमित त गरेको छैन, तर अर्थतन्त्रको 'जोरो' भने बढाउन थालेको छ। 

नेपालको विदेशी मुद्रा कमाइ हुने वैदेशिक रोजगार र पर्यटन ब्यवसाय दुई सातादेखि प्रभावित छ। विदेशी पर्यटक नआएर होटलको अकुपेन्सी दर १५ प्रतिशतभन्दा तल आइसकेको छ। कुल रेमिटेन्सको ५० प्रतिशत रकम भित्रिने ६ मुलुकमा नेपालीलाई रोजगारीका लागि औपचारिक/अनौपचारिक प्रतिबन्ध लागिसकेको छ। 

कतारले नेपालसहित १४ देशबाट कामदार नल्याउने घोषणा गरिसकेको छ। कुवेतले पनि प्रतिबन्ध लगाएको छ। साढे १२ प्रतिशत रेमिटेन्स पठाउने साउदी अरेबिया र तीन प्रतिशत पठाउने बहराइनले हवाइ 'कनेक्टिभिटी' बन्द गरिसकेको छ। जापान र कोरियाले नयाँ कामदार भित्र्याउन रोक लगाइसकेका छन्।

TaTa
Sanima Bank
Riddisiddi Cement

'वाह्य सन्तुलन नै बिग्रिने अवस्था आइसकेको छ,' राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले बिजमाण्डूसँग भने, 'यसले आन्तरिक असन्तुलन पनि बढाउने छ र वित्तीय स्थायित्वमा पनि चुनौती थप्ने निश्चितजस्तो देखिएको छ।'

कोरोना भाइरसको कहर महिना दिन अघिबाट संसारभर फैलिएको हो। सुरुको दुई साता सरकारका मन्त्रीले कोरोनालाई सामान्य रूपमा लिँदै 'कोरोना मुक्त देश' भन्दै पर्यटन प्रवर्द्धन गर्ने हलुका टिप्पणी गरेका थिए।

पछिल्लो दुई सातायता भने सरकार, खासगरी अर्थमन्त्रालय र राष्ट्र बैंक कोरोनाले अर्थ ब्यवस्थामा संकट थप्नेमा चिन्तित सुनिन थालेका छन्। दोस्रो कार्यकालको सपथ लिएकै साँझ अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोनाको असर नेपालको अर्थतन्त्रमा देखिन थालिसकेको बताउँदै सबै मिलेर यसको सामना गर्नुपर्ने टिप्पणी गरेका थिए।

उनको चिन्ता आज कच्चा पदार्थ उत्पादन नहुँदा भोलिको आपूर्ति ब्यवस्थामा असर पर्नेतर्फ थियो। अर्को दिन भने उनले अर्थतन्त्रमा नै समस्या आउने बताए।

पर्यटनमा कालो बादल
अहिले तारेदेखि सामान्य होटलसम्म सुनसान देखिन थालेका छन्। विदेशी पर्यटक जाने तारे होटलमा अकुपेन्सी १५ प्रतिशतमा झरिसकेको छ। आन्तरिक पर्यटकका कारण चलेका सामान्य होटलहरु पनि अहिले सुनसान छन्।

तारेदेखि सामान्य होटलसम्मले ग्राहक आउन कम भएपछि सञ्चालन खर्च कम गर्न कर्मचारीलाई बेतलवी बिदा दिन थालेका छन्। 

अध्यागमन विभागको तथ्यांकअनुसार फेब्रुअरी महिनामा नेपालमा जम्मा एक लाख १४ सय विदेशी पर्यटकको आवागमन भएको छ। जसमा हवाई यातायातबाट आउने पर्यटकको संख्या ७७ हजार ६४ छ भने पदमार्गबाट आउनेको संख्या २४ हजार ३३६ छ।

यो संख्या गत वर्ष सन् २०१९ फेब्रुअरीको तुलनामा कम हो। गत वर्ष यही समयमा हवाई यातायातमार्फत आउने पर्यटकको संख्या एक लाख दुई हजार ४२३ थियो भने २६ हजार ७८९ पर्यटक पदमार्ग हुँदै नेपाल भित्रिएका थिए। 

सरकारले पनि अनअराइभल भिसामा रोक, भ्रमण वर्ष स्थगित, कतिपय देशमा उडान प्रतिबन्ध लगाइसकेको छ। 

होटल संघका महासचिव साजन शाक्यले भूकम्प र नाकाबन्दीका बेलामा भन्दा अहिले ठूलो समस्या महसुस गरेको सुनाए।

अहिले कोरोनाको असर बारे अर्थमन्त्रालय र राष्ट्र बैंकले संयुक्त रुपमा अध्ययन गरिरहेका छन्। उनीहरुको प्रारम्भिक अध्ययनमा कोरोनाको कहर लम्बिँदै गएमा कतिपय उद्योग ब्यवसायलाई 'बेलआउट' गर्नुपर्ने देखिएको छ। उस्तै परे अति आवश्यकीय वस्तु तथा सेवा बाहेक विकास निर्माणका सामानसमेतको आयात कटौती वा प्रतिबन्ध लगाउनुपर्ने अवस्था आउन सक्छ।

अहिले पर्यटन क्षेत्र (होटल तथा रेष्टुरेन्ट) मा वित्तीय क्षेत्रको एक खर्ब ३४ अर्ब रुपैयाँ ऋण लगानी छ। होटल नचलेर पर्यटन आय घटेपनि यी प्रतिष्ठानहरुले ऋण तिर्न सक्दैनन्। ऋण तिर्न नसकेपछि खराब ऋण बढ्ने चिन्ता राष्ट्र बैंकको छ।

होटल तथा रेष्टुरेन्टबाहेक एयरलाइन्स, अन्य पर्यटकीय पूर्वाधारमा पनि बैंकको लगानी ठूलो छ। सञ्चालनमा रहेकामध्ये ५० प्रतिशत हेलिकोप्टर ग्राउन्डेड भइसकेका छन्। आन्तरिक उडान गरिरहेका हवाइ सेवा प्रदायक कम्पनीहरुले पनि नियमित उडान कटौती गर्न थालिसकेका छन्। 

एयरलाइन्स अपरेटर एशोसिएसनले गठन गरेको कोरोना एयरलाइन्स क्राइसिस म्यानेजमेन्ट समितिका अध्यक्ष सुमन पाण्डेले कोरोनाका कारण यात्रु नै नभएपछि सबै व्यवसायीको सहमतिमा हेलिकोप्टर ग्राउन्डेडको निर्णय गरिएको बताए। हवाइजहाजको नियमित उडानतर्फ ६० प्रतिशत यात्रु घटिसकेका छन्। 

एयरलाइन्स अपरेटर एशोसिएसनका प्रवक्ता योगराज कँडेल शर्माले पर्यटकीय सिजन सुरु भइसक्दा पनि कोरोनाको प्रभावका कारण पर्यटक आवागमन न्यून भएपछि हवाई सेवा व्यवसाय नै धरासायी हुने अवस्थामा पुगेको बताए।

पर्यटन ब्यवसायीजस्तै यतिबेला राष्ट्र बैंकका अधिकारीहरु पनि आत्तिएका छन्। गभर्नर डा. चिरञ्जीवी नेपालले कोरोनाले वित्तीय स्थायित्व कायम गर्नै गाह्रो पर्ने अवस्था रहेको बताए।

अहिले आन्तरिक उडान त घटेकै छ बाहिरको 'फ्लाइट' पनि आधा घटिसकेको छ। नेपालमा हुने भनिएको सभा, सेमिनार सबै स्थगित गरिएका छन्। यसबाट पर्यटन आय घट्ने छ। 

गत वर्ष देशलाई पर्यटनमार्फत ७५ अर्ब ८१ करोड आय भएको थियो। यसपालीको पुससम्म ४२ अर्ब ७४ करोड भएको छ। 

'कोरोनाका कारण पुसपछि आय झन् घटेको छ,' राष्ट्र बैंकका प्रवक्तासमेत रहेका भट्टले भने, 'पोहोरभन्दा केही आय बढ्ने भन्ने हाम्रो अनुमान थियो। त्यो नहुने देखियो। साथै पर्यटन क्षेत्रसँग सम्बन्धि उद्योग समस्यामा पर्दा त्यस क्षेत्रमा गएको ऋणमा पनि तलमाथि हुने चिन्ता थपियो।'

रेमिटेन्स आय बर्बाद
स्वभाविक अवस्थामा समेत विदेशमा काम गर्ने नेपालीले पठाउने रेमिटेन्स आयमा कमी आउन थालेको थियो। डलरको भाउ बढ्न थालेकाले रेमिटेन्स आयमा केही सुधार हुने अपेक्षा राष्ट्र बैंकले गरेको थियो।

तर, कोरोनाका कारण रेमिटेन्स निकै नै प्रभावित हुने देखिएको छ। रेमिटेन्स भित्र्याउने कम्पनीहरु पनि अप्ठेरो अवस्था आएको बताउँछन्।

'आजको मितिसम्म ठ्याक्कै फरक परेको छैन। तर अब महिना सकिएर तलव खाने दिन नजिकिँदै गएको छ,' आइएमइका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले भने, 'त्यसबेला भुक्तानीमा समस्या देखिने निश्चित छ।'

उनका अनुसार, ६ वटा देशमा नयाँ कामदार जान सक्ने अवस्था छैन। मलेसिया पहिलेदेखि नै समस्यामा छ। युरोपतिर पनि समस्या छ। 

'त्यहाँ रोजगारीमा रहेका नेपालीहरुलाई 'फोर्स लिभ' मा राख्न थालिएको छ भने कतिपय अवस्थामा स्वदेश फर्काउन थालिएको छ,' पोखरेलले भने, 'कामदारले काम नगरी कोठाभित्र बिदा मनाएर बस्नु पर्दा पनि आम्दानी घट्छ। देशै पठाएपछि त आम्दानीको स्रोतै सुक्छ।'

पुससम्मको तथ्यांकअनुसार, विदेशमा रहेका नेपालीहरुले ६ महिनामा ४ खर्ब ४७ अर्ब २६ करोड रुपैयाँ पठाएका छन्। यो अघिल्लो वर्षको तुलनामा ०.९ प्रतिशतको मात्र वृद्धि हो।

'रेमिटेन्स आय गत वर्ष हाराहारी हुन्छ भन्ने थियो। त्यो नहुने भयो,' प्रवक्ता भट्टले भने, 'रेमिटेन्स आय कम हुनेवित्तिकै हाम्रो विदेशबाट सामान किन्ने क्षमता कम भएर जान्छ।' 

अर्थशास्त्री डा. पोषराज पाण्डेले कोरोनाको सामाजिक राजनीतिक प्रभाव हाल प्रष्ट नदेखिएको भएपनि यसले विस्तारै प्रभाव देखाउँदै लैजाने र यसको असर लामो समय रहने बताए। 

उनले भने, 'हाम्रो बजारको माग रेमिट्यान्सले नै बढाएको थियो। रेमिट्यान्स घटेपछि माग पनि स्वत: घट्छ, यसबाट आयात समेत घट्छ। सरकारको रेभेन्यू पनि घट्छ।' 

उनले भ्यालु चेन ब्रेक हुने र आयात गर्न नसक्ने अवस्था आउने खतरा औंल्याए। 

'नेपालको अर्थतन्त्रलाई धानेकै सर्भिस सेक्टर र टुरिजम सेक्टरले हो। कामदारहरुको अवस्था दयनीय छ। पर्यटन क्षेत्र धरासायी हुन्छ अनि यसले समग्र अर्थतन्त्रलाई त असर पार्ने नै भयो नि,' उनले कोरोना संक्रमणका कारण उत्पन्न समस्यालाई प्रभावकारी समाधान गर्न हाम्रो क्षमताले नै नभ्याउने तर्क समेत गरे।

उद्योग पनि प्रभावित
अहिले विश्वब्यापी रूपमै पहिलो चिन्ता आफ्नो स्वास्थ्य जोगाउने भन्ने छ। त्यसैले कामदारहरु पनि बिदामा पठाउन थालिएको छ। बाहिरबाट नेपालले मगाउने उत्पादनहरु आउन कम हुने अवस्था देखिन थालेको छ।

'यसको ब्याकवार्ड फर्वार्ड लिङ्केज हुन्छ। अनि हामीले कच्चा पदार्थ मगाएर उत्पादन गर्ने अवस्था पनि रहँदैन,' राष्ट्र बैंकका प्रवक्ता भट्टले भने, 'उत्पादनमूलक उद्योगहरु कम चल्न थालिसकेको रिपोर्टहरु आइरहेको छ। निर्माण क्षेत्र पनि प्रभावित भन्ने कुराहरु आइरहेको छ। त्यसैले अर्थतन्त्रलाई केही गहिरो असर गर्छ भन्ने हाम्रो बिश्लेषण छ।'

अहिले चिनियाँ परियोजनामा प्रयोग भएका श्रमिकहरु बिदामा छन्। विदेशी कामदारहरुले पनि काम छाड्न थालिसकेका छन्। उत्पादन घट्न थालिसकेको छ भने निर्माण पनि प्रभावित देखिएको छ।

'यसबाट रोजगारीमा असर पर्ने भयो। ब्यापारबाट मार्जिन 'क्रियट' हुन्थ्यो अब त्यो नहुने भयो। यसले समग्र आर्थिक वृद्धि नै प्रभावित पार्ने देखिएको छ,' भट्टले भने, 'रेमिटेन्स र पर्यटन आय घट्ने वित्तिकै बाह्य सन्तुलन कायम गर्न गाह्रो भएको छ।'

निर्यात ब्यापार चौपट
अहिले नेपाली रुपैयाँ कमजोर देखिएको छ। कमजोर हुँदा निर्यातको लाभ लिन सकिन्थ्यो। तर संसार भरिका अधिकांश देश नै कोरोनाको भयमा बसेका कारण नेपालबाट निर्यात हुने हस्तकला, पस्मिना, अलैचीलगायतको माग नै कम हुन्छ। 

पर्यटक पनि आउन छाडेकाले उनीहरुले साथै लैजाने सामान पनि नेपालमै थन्किन्छ। 

गत पुससम्म नेपालको निर्यात २६ प्रतिशतले बढेर ५७ अर्ब २८ करोड पुगेपनि अब त्यो घट्ने छ। 

राष्ट्र बैंकका अनुसार, निर्यातसँगै आयात ब्यापार पनि प्रभावित हुने छ। विलासिताका वस्तुबाहेक पनि नेपालमा अतिआवश्यकीय र विकास निर्माणमा सहयोग पुग्ने वस्तु तथा सेवा आयात हुन्थ्यो। अब त्यो प्रभावित हुनेछ।

'समग्र सप्लाइ चेन तलमाथि भएर विश्व अर्थतन्त्र प्रभावित हुँदा नेपाललाई नहुने भन्ने हुँदैन,' भट्टले भने, 'नकाबन्दी र भूकम्पभन्दा पनि असहज अवस्था अहिले देखिइरहेको छ।'

अल्पकालीन फाइदामा 'एफएमसीजी'
कोरोनाले सबै क्षेत्रलाई असर गरे पनि खाद्य तथा दैनिक उपभोग्य वस्तुको माग भने बढेर गएको छ। कोरोनाले युरोपियन देशहरु जस्तै कतै घरभित्रै बस्नुपर्ने अवस्था आउने हो या भारतको नाका ठप्प होला भन्ने पिरलोले सर्वसाधारणले 'स्टक' बढाउँदै लगेका छन्।

यसले गर्दा चामल, दाल, चिनी, नुन, गेडागुडी, ग्यासजस्ता अति आवश्यकीय वस्तुको माग बढेको छ। मासिक एक बोरा चामल लानेले अहिले ४/५ बोरानै उठाउन थालेका छन्। अधिकांश मार्ट तथा डिपार्टमेन्टल स्टोरमा तेल तथा अन्य खाद्यान्नको अभाव सुरु हुन थालिसकेको छ।

यसबाट अल्पकालीन रूपमा एफएमसीजी बजार गुल्जार देखिए पनि बजार सहज भएपछि ती वस्तुको माग केही महिनासम्मै नहुने अवस्था पनि छ। किनभने अहिले स्टक भएका सामाग्री उत्तिनै बेला खपत हुने होइन। कोरोना हटेपछि जीवन सामान्य बन्छ। त्यसबेला सर्वसाधारणले पहिले आफ्नो स्टक खपत गर्छ। 

के हुन्छ अर्थतन्त्र ?
नेपालको कुल अर्थतन्त्रमा सेवा क्षेत्र अर्थात थोक तथा खुद्रा ब्यापार, होटल तथा रेष्टुरेन्ट, यातायात तथा सञ्चार, वित्तीय मध्यस्थता लगायतको योजना ५८ प्रतिशत हाराहारी छ।

कोरोनाको प्रभावले पर्यटन क्षेत्रमा समस्या देखिइसकेको छ। ब्यापारदेखि बैंकिङ क्षेत्रसम्मलाई यसले समस्यामा पार्ने अनुमान राष्ट्र बैंकको छ। अर्थतन्त्रमा साढे पाँच प्रतिशत योगदान गर्ने उत्पादन क्षेत्र पनि प्रभावित छ। साढे सात प्रतिशत योगदान गर्ने निर्माण क्षेत्रको काम अवरुद्ध हुन थालिसकेको छ।

'सबै क्षेत्र प्रभावित भएपछि आर्थिक वृद्धि स्वभाविक रूपमा प्रभावित हुन्छ,' गभर्नर डा. नेपालले भने, 'केही जटिलता देखिएको छ। कोरोनाले वित्तीय क्षेत्रमा ठूलो समस्या नपारोस् भनेर राष्ट्र बैंकले केही राहत प्याकेज ल्याउने तयारी गरिरहेको छ। तर अवस्था चाँडै सामान्य बनेन भने अर्थतन्त्र समस्यामा पर्नेछ।'


Share this Story

   

भूकम्प र नाकाबन्दीभन्दा पनि अप्ठेरो अवस्थामा अर्थतन्त्र: कोरोनाले वाह्य क्षेत्र डामाडोल हुँदै को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.
Ncell