क्रेटा एसयुभीको नयाँ संस्करण आउँदै भारतमा मार्चमा सार्वजनिक हुने, गाडीमा यस्तो हुनेछ विशेषता

बिजमाण्डू
२०७६ फागुन १९ गते १९:५७ | Mar 2, 2020

Tata
GBIME
Nepal Life

काठमाडौं। आउँदो मार्च १७ तारिखमा भारतीय बजारमा हुण्डाई मोटर्स कम्पनीले क्रेटा एसयुभीको नयाँ संस्करण सार्वजनिक गर्ने भएको छ। क्रेटाको नयाँ संस्करण पुरानोका तुलनामा भिन्न र नौलो रहने कम्पनीले जनाएको छ। 

नयाँ क्रेटामा फिचर लिस्ट नै पूरा रूपमा अपडेट रहेको जनाएको कम्पनीका अनुसार यो मोडलमा बीएस-६ अन्तर्गतको इन्जिन जडान गरिएको छ। नयाँ संस्करण ल्याउने भएपछि कम्पनीले पुरानो संस्करणमा सवा लाख भारु छुट दिने निर्णय गरेको छ।

कम्पनीले बीएस-४ इन्जिनयुक्त क्रेटाको पुरानो संस्करणमा उक्त छुट दिने घोषणा गरेको हो। किया सेल्टोसको १.४ लिटरको टर्बो पेट्रोल इन्जिन समावेश गरिएको क्रेटाको नयाँ संस्करणको मूल्य साढे १७ लाख भारु रहने प्रक्षेपण गरिएको छ। नयाँ क्रेटामा समावेश गर्न लागिएको १.५ लिटरको बीएस-६ पेट्रोल र डिजेल इन्जिन पुरानो संस्करणको तुलनामा कम शक्तिशाली रहने कम्पनीले जनाएको छ।

पाँच वर्षभन्दा लामो अवधि एउटै गाडी चलाइरहने र लामो दुरी यात्रा गरिरहनेहरूका लागि भने तुलनात्मकरूपमा क्रेटाको पुरानो मोडल नै उचित रहने कम्पनीले जनाएको अटोमोबाइलसम्बन्धि सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

क्रेटाको पुरानो संस्करणमा एलइडी डीआरएल (डे टाइम रनिङ लाइट), सन-रुफ, अटो क्लाइमेट कन्ट्रोल, क्रुज कन्ट्रोल, ६ तरिकाको पावर एडजस्टयुक्त चालक सिट, रेयर एसी, एप्पल कारप्ले, एण्ड्रोइड अटो कनेक्टिभीटी सहितको सात इन्चको टचस्क्रीन इन्फोटेनमेन्ट सिस्टम, ६ वटा एयरब्याग र हिलस्टार्ट असिस्ट लगायतको फिचर छन्।

नयाँ मोडलमा ती सुविधालाई थप परिमार्जन गरिएको छ। स्पिल्ट हेडल्याम्प समावेश गरिएको छ। पुरानो संस्करणको तुलनामा नयाँ क्रेटाको क्याविन तुलनात्मक रुपमा प्रिमीयम रहने कम्पनीले जनाएको छ। यो गाडीमा नयाँ स्टेरिङ व्हिल, बडी सनरुफ, १०.२५ इन्चको टचस्क्रिन, एडभान्स इन्स्ट्रुमेन्ट क्लस्टर, ब्लु लिंक कनेक्टेड कार टेक्नोलोजी र इ-पार्किङ ब्रेक लगायत थप नयाँ फिचर समावेश हुनेछन्।

कियाको सेल्टोसमा रहेको १.५ लिटरको बीए-६ पेट्रोल इन्जिनयुक्त गाडीमा ग्राहकले सेल्टोसमै रहेको १.४ लिटर टर्बो पेट्रोल इन्जिन भेरिन्ट पनि पाउनसक्ने कम्पनीले जनाएको छ। नयाँ संस्करणको मूल्य पुरानै मोडलसँग मिल्दोजुल्दो रहने अनुमान गरिएको छ। कम्पनीका अनुसार हाल भारतमा बिक्री भइरहेको सन् २०१५ बाट बजारमा ल्याइएको क्रेटाको मूल्य १० लाखदेखि अधिकतम पौने १६ लाख भारुसम्म छ।

तमिलनाडुमा आफ्नै प्लान्ट स्थापना गरेर सन् १९९६ देखि भारतमा आएको कोरियन कम्पनी हुण्डाइ मोटर्सका १२ मोडलहरू बजारमा छन् भने बिभिन्न समय बजारमा उतारेका पाँचवटा मोडलको उत्पादन भने बन्द गरेको छ।