७० अंकको जम्पपछि सेयर बजार स्थिर, लाभांश नदिने भएपछि प्रिमियरको सेयर सर्वाधिक झर्‍यो

बिजमाण्डू
२०७६ फागुन १२ गते १५:२१ | Feb 24, 2020
७० अंकको जम्पपछि सेयर बजार स्थिर, लाभांश नदिने भएपछि प्रिमियरको सेयर सर्वाधिक झर्‍यो


काठमाडौं। अघिल्लो दिन ६९.५६ अंकले बढेको सेयर बजारमा सोमबार ब्रेक लागेको छ। १५ सय अंकभन्दा तलसम्म आएपनि अन्ततः बजार १५०२ अंकमाथि नै बन्द भएको छ। सूचक २.९६ अंकले घटेको छ।

Tata
GBIME
Nepal Life

बजार घटेपनि कारोबार रकम उच्च छ। दिनभरीमा ३ अर्ब ४१ करोड रुपैयाँको सेयर किनबेच भएको छ। १७९ कम्पनीको सेयर कारोबार भएकोमा ११२ वटा कम्पनीको मूल्य घटेको छ । ३९ वटाको बढ्दा १० वटाको स्थिर छ।

बजार बढ्नलाई वाणिज्य बैंक र अन्य सूचकले भरथेग गरेपनि निर्जीवन, जीवन, विकास बैंक, फाइनान्स र लघुवित्तले सघाएन। अन्तत: सूचक घटेको हो।

राजनीतिसँग जोडिएको हल्लाले सेयर बजारमा 'हर्ड इफेक्ट' देखिँदा आइतबार ७५ अंकसम्म सूचक उक्लिएको थियो। सोमबार लगानीकर्ताको मुड मिश्रित देखिएको थियो। एकथरी लगानीकर्ता 'नाफा बुक' तिर लागे भने अर्काथरीले लगानी बढाएका थिए। जसले सूचक स्थिर जस्तो देखिएको हो।

'यही घम्साघम्सीमा कारोबार उल्लेख्य भएको छ,' एक ब्रोकरले भने, 'सूचक थोरै तलमाथि भएपनि कारोबार रकम उच्च रहेको हुँदा आगामी दिनमा बजार सकारात्मक बन्ने नै देखिन्छ। यसले लगानीकर्ताको मनोविज्ञान बलियो रहेको पनि पुष्टि गर्छ।' यसअघि एकैदिन ठूलो अंकले सूचक बढ्दा अर्को दिन त्यसैगरी पछाडि फर्किने गरेको उदाहरण दिँदै ती ब्रोकरले भने- कारोबार रकमले बजार नघट्ने देखाउँछ।

सोमबार सात कम्पनीको १० करोडमाथि किनबेच भएको छ। एनएमबि बैंकको मात्र २० करोड ४३ लाख रुपैयाँको कारोबार भएको छ, त्यो पनि मुल्य बढेर। यसपछि शिवम् सिमेन्टको १३ करोड, शिखर इन्स्योरेन्सको १२ करोड २४ लाख, प्रिमियर इन्स्योरेन्सको ११ करोड ८६ लाख, नेपाल लाइफको १० करोड ६४ लाख, एनआइसी एसिया बैंक १० करोड ४४ लाख र हिमालयन डिस्टिलरीको १० करोड २२ लाखको सेयर किनबेच भएको छ।

प्रिमियर इन्स्योरेन्सको केही दिनदेखि मूल्य बढिरहेको थियो, आइतबार साँझ लाभांश दिन नसकिने सूचना सार्वजनिक भएपछि ७ प्रतिशतले मूल्य झरेर ७०१ रुपैयाँमा आएको छ। हिजो कम्पनीको मूल्य ५५ रुपैयाँले बढेर ७५५ रुपैयाँ पुगेको थियो।

कालिका माइक्रो क्रेडिटको मूल्य १० प्रतिशतले बढेको छ। मञ्जुश्री फाइनान्स र युनियन हाइड्रोपावरको सेयर ९ प्रतिशतमाथिले बढेको छ। सर्वाधिक घट्नेमा प्रिमियर इन्स्योरेन्सँगै गुहेश्वरी मर्चेन्ट र प्रेडेन्सियल इन्स्योरेन्स कम्पनी छन्।