हुलाकले बेच्यो २१ करोड ७६ लाखका टिकट, काठमाडौंमा मात्रै ६ करोडको बिक्री, राजाका टिकट थन्किए

बिजमाण्डू
२०७६ फागुन १२ गते ११:१७ | Feb 24, 2020
हुलाकले बेच्यो २१ करोड ७६ लाखका टिकट, काठमाडौंमा मात्रै ६ करोडको बिक्री, राजाका टिकट थन्किए


 

Tata
GBIME
Nepal Life

काठमाडौं। चिठीपत्र व्यवहारबाट हरायो, अब टिकटको कामै पर्दैन भन्नेहरूका लागि हुलाक सेवा विभागको तथ्यांकले टिकटको बिक्री नघटेको देखाएको छ। एक वर्षमा हुलाकले २१ करोड ७६ लाख रूपैयाँभन्दा बढीका टिकट बिक्री गरेको छ।

फिलाटेलिक तथा हुलाक टिकट व्यवस्थापन कार्यालयका अनुसार आर्थिक वर्ष २०७५/७६ मा काठमाडौं उपत्यकामा मात्रै ६ करोडका टिकट बिक्री भएको छ। केन्द्रसहित देशभरका कार्यालयमार्फत उक्त वर्ष २ करोड १५ लाख ५३ हजार ८ सय ६० थान टिकट बिक्री गरेको छ। यसबाट हुलाकले २१ करोड ७६ लाख ९६ हजार ६ सय रूपैयाँ राजस्व टिकटबाट मात्रै संकलन गरेको छ। 

'चिठ्ठीपत्रको आदानप्रदान घटेको भएपनि टिकटको प्रयोग सरकारी कामकाजमा जरूरी भएकाले बिक्री घटेको छैन,' फिलाटेलिक तथा हुलाक टिकट व्यवस्थापन कार्यलयकी प्रबन्धक मुनका न्यौपाने भन्छिन्, 'वर्सेनि मागको अनुपात हिसाब गरेर हुलाकले टिकट छाप्दै-बेच्दै आएको छ।' हुलाकले एक रूपैयाँदेखि पाँच सय रूपैयाँ मूल्य सम्मका टिकट बिक्री गर्दै आएको उनले बताइन।

 
टिकट बिक्रीको तथ्यांकबाट कर्मचारी उत्साहित देखिएपनि हुलाकमा हाल १ अर्ब ६० करोड ४ लाख १९ हजार ३ सय ६६ रूपैयाँ बराबरका ८ करोड १ लाख ७३ हजार थान टिकट स्टक छन्। राजा महाराजाका तस्बिर अंकित टिकट नबिकेर थन्क्याउनु परेको छ। फिलाटेलिक तथा हुलाक टिकट व्यवस्थापन कार्यालयले विभिन्न अवसर पारेर छपाएका करिब ६ करोड रूपैयाँ बराबरका त्यस्ता टिकट प्रयोगविहीन अवस्थामा छ। छपाइमा खर्च भएपनि  राजनीतिक परिवर्तनपछि राजा र राजसंस्था झल्काउने टिकट हुलाकले थन्क्याउनु परेको हो।

 
राजाहरू त्रिभुवन, महेन्द्र, वीरेन्द्र शाह, दीपेन्द्र शाह र ज्ञानेन्द्र शाह लगायतका तस्बिर अंकित टिकट कार्यालयको गोदाममा थन्किएका हुन्। हुलाक कार्यालय डिल्लीबजारका नासु शालिकराम नेपाल भन्छन् 'देश गणतन्त्रात्मक व्यवस्थामा गएपछि ती पुराना व्यवस्था झल्काउने टिकट प्रयोगविहीन भए।' सरदर ८० देखि ८६ पैसा प्रति टिकट छपाइमा खर्च गर्ने गरेको हुलाकले छपाइका लागि टेण्डर गर्ने गरेको छ। पछिल्ला केही वर्षयता नेपालका हुलाक टिकट इण्डोनेशियाबाट भइरहेको छ। जीटुजीमार्फत सरकारले सन् २०१९/२० का लागि इण्डोनेशियाको पेरुङपेरुरी कम्पनीलाई ६ करोड थान छपाइको ठेक्का गरेको थियो । त्यसमा एक करोड थान आइसकेको छ। 

 
काठमाडौं जिल्लामा मात्रै ६ करोडको बिक्री
हुलाक टिकट व्यबस्थापन कार्यालयले वर्षभरिमा साढे २१ करोड ७७ लाख बराबरका टिकट बिक्री गर्दा गोश्वारा हुलाक कार्यालय काठमाडौंले एक्लै ६ करोड ५२ लाख ४९ हजार ४ सय २५ रूपैयाँ राजस्व उठाएको छ।

उक्त कार्यालयले सबैभन्दा बढी १० रूपैयाँ मूल्यका २७ लाख ७० हजारवटा टिकट बेचेको छ। यसबाट मात्रै २ करोड ७७ लाख रुपैयाँ संकलन गरेको छ। २० रुपैयाँ मूल्यका टिकटबाट ७ लाख ४७ हजारको बेचेको छ। हाल काठमाडौं उपत्यका भित्रका जिल्लासहित पोखरा र बिराटनगरमा टिकट बढी बिक्री हुने गरेको छ।