वामदेवलाई राष्ट्रियसभामा लग्न नेकपाले बनायो संविधान संशोधन कार्यदल, माधव नेपाल संयोजक

बिजमाण्डू
२०७६ फागुन ११ गते १७:५९ | Feb 23, 2020

Tata
GBIME
Nepal Life

काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संविधान संशोधनको गृहकार्य थालेको छ। जसका लागि शनिवार बसेको सचिवालय बैठकले सचिवालय सदस्य तथा वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा सुवास नेम्वाङ र खिमलाल देवकोटा सदस्य रहेको कार्यदल बनाएको छ।

नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने उद्देश्य सहित संविधान संशोधन कार्यदल गठन गरिएको हो।

नेकपा नेतृत्वले राष्ट्रियसभा निर्वाचन पूर्व नै उपाध्यक्ष गौतमलाई निर्वाचन प्रक्रियामा सहभागि हुन आग्रह गरेको थियो। तर,गौतमले भने प्रधानमन्त्री बन्न पाउने भए मात्रै राष्ट्रिय सभामा जाने भन्दै निर्वाचनमा भाग नलिने घोषणा गरेका थिए। संविधान अनुसार राष्ट्रिय सभा सदस्य प्रधानमन्त्री बन्न पाउँदैनन्।

त्यसैले नेकपा भित्र संविधान संशोधन गरेर वामदेवलाई राष्ट्रियसभा लानुपर्ने बहस सुरु भएको थियो। त्यसैका लागि कार्यदलले संविधान संशोधनबारे अध्ययन गर्नेछ।

सचिवालय बैठकपछि शनिवार नै प्रधानमन्त्री केपी शर्मा ओली र पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट्न शितल निवास पुगेका थिए। भेटकाक्रममा संविधान संशोधनका बारेमा कुराकानी भएको बताइएको छ।  

फागुन २० गतेबाट अर्थमन्त्री युवराज खतिवडा सहित १९ जनाको दुई वर्षे कार्यकाल सकिँदैछ। राष्ट्रपतिबाट मनोनित भएका खतिवडाको ठाउँमा गौतमलाई मनोनित गर्न लागिएको बुझिएको छ। अन्य रिक्त स्थानको भने माघ ९ गते नै निर्वाचन भइसकेको छ।