प्याजको मूल्यमा गिरावट, झन्डै तीन गुनाले घट्दा उपभोक्तालाई राहत, सबै तरकारी सस्तिँदै

सरला सुवेदी/बिजमाण्डू
२०७६ फागुन ९ गते ०५:५० | Feb 21, 2020

Tata
GBIME
Nepal Life

काठमाडौं। प्याज उत्पादनमा वृद्धि भइ भारतमा मूल्य घट्दा नेपाली बजारमा पनि भाउ सस्तिन थालेको छ। आयातमा सहज हुँदै आएपछि प्याजको भाउ ओरालो लागिरहेको छ।

गत महिनाको तुलनामा प्याजको मूल्य झन्डै तीन गुणाले घटेको व्यवसायीले बताएका छन्। तीन महिनायता प्रतिकिलो दुई सय ५० रुपैयाँभन्दा उकालो लागेको भाउ सस्तिएर सय रूपैयाँभन्दा तल झरेको छ। प्याज एक सातादेखि  बजारमा थोकमा प्रतिकिलो ७२ र खुद्रामा ८५ रुपैयाँमा बिक्री भइरहेको छ ।

आर्थिक वर्ष २०७५/७६ मा दैनिक ८० देखि ९० टन प्याज आयात हुँदै आएको थियो। हाल दैनिक ६० देखि ६५ टन प्याज आयात भइरहेको कालिमाटी फलफूल तथा तरकारी विकास समितिका सूचना अधिकृत विनय श्रेष्ठले बताए। 'इण्डियाले निर्यात खुला गरेको सुनिएको छैन तर, बजारमा प्याज आउन थाल्यो,' उनले भने।

पछिल्लो समय  मुख्य नाका सुनौलीबाट प्याज आउन भित्रिन छाडेपछि वैकल्पिक मार्ग लहान, सर्लाही र काकडभिट्टा हुँदै आइरहेको उनले बताए।करिब ६ महिनादेखि प्याजको आयात नहुँदा मूल्य बढेर उपभोक्तालाई मर्का परेको थियो। व्यापार सन्तुलनमा समस्या भएपनि आयात बढिरहँदा सहज बन्दै गएको व्यवसायीहरु बताउँछन्।

चिसो कम र वर्षा सुरू हुन बाँकी रहेको यो सिजनमा तरकारी उत्पादन बढी हुने गर्दछ। जसमध्ये बजारमा सबैभन्दा महंगो रहेको प्याज पनि बजारमा आउन थालेपछि तरकारीको भाउ क्रमिक रूपमा घटेको छ।